‘संघ र प्रदेश सुस्ताएको छ, हामीलाई स्वास फेर्ने फुर्सद छैन’: मेयर घर्ती

हिजो राज्यको पहुँचबाट विमुख कर्णाली प्रदेश अन्तर्गत जाजरकोटको भेरी नगरपालिकामा अवसर र चुनौती लामबद्ध छन् । १३ वडाहरु मिलेर बनेको भेरी नगरपालिकाले स्थानीय निर्वाचन पश्चात जोश, जागर र आत्मविश्वासले भरिएको एक यूवालाई मेयरको रुपमा पायो ।

अरुको टिका टिप्पणी गरेर अमुल्य समयलाई बर्वाद गर्नुभन्दा आफुले काम गरेर दखाउनुपर्छ भन्ने सोचमा विश्वास गर्ने भेरी नगरपालिकाका मेयर सि.पी घर्तीले कार्यकालका २ वर्ष बित्दा जनताका समस्या समाधान गर्ने सावालमा आफुलाई खरो रुपमा प्रस्तुत गर्नुभएको छ ।  उनै मेयर घर्तीसँग हामीले आजको दैनिकीबारे सोधेकाथियौं ।

भेरी नगरपालिकाका मेयर सि.पी घर्तीको आजको दैनिकी
आज ३ अषाढ २०७५

आफैमा कुशल खेलाडी मेयर सी.पी घर्ती सदाझैं आज पनि विहान ४ बजेर ३० मिनेटमा उठ्नुभयो । नित्यकर्म सकेर समान्य खाजा खाइसकेपछि ६ बजे उहाँ ब्याडमिन्टर कोर्टमा पुगिसक्नु भएको थियो । उहाँले भन्नुभयो, ‘जनताका समस्या समाधान गर्न विहान देखी बेलुकीसम्म खटिनुपर्ने अवस्था छ, जिउको स्फुर्ति नघटोस भनेर दैनिक १ घण्टा भन्दा बढी समय ब्याडमिन्टन खेल्ने गरेको छु ।’ कतिपय सर्वसाधारण आफ्ना समस्या बोकेर ब्याडमिन्टर कोर्टमै आउनुहुन्छ । मेयर घर्ती ब्याडमिन्टन खेल्दा खेल्दै टक्क रोकिएर जनताका समस्या र गुनासाहरु सुनेर समाधानको बिकल्प दिएर पठाउनुहुन्छ । उहाँले भन्नुभयो, ‘समस्याको प्रकृति हेरेर तुरुन्तै अल्पकालिन र दिर्घकालिन समाधानकालागि वचनबद्धता दिएर पठाउने गरेको छु ।’

हिजो कर्मचारी तन्त्रमा जनताले भोग्नु परेको सास्ती कम्तीमा जनप्रतीनिधी आउदा अनुभुत गर्न नपरोस भन्ने सोचले जनताका अप्ठ्याराहरु फुकाउन तत्काल पहल गर्ने गरेको मेयर घर्तीले बताउनुभयो ।

९ बजे खाना खाइसकेपछि मेयर घर्ती प्रमुख अतिथिको रुपमा एल. आर.एम.आई.एस सम्बन्धि कार्यक्रममा सहभागीहुनुभयो । मालपोेतकोे कार्य सम्पादन चुस्त दुरुस्त पार्नकालागि अनलाइन सिस्टम संचालन गर्न कार्यक्रम आयोजन गरिएको थियो ।

यस पछि मेयर घर्ती वडा नम्बर ४ मा योजना तर्जुमा बैठकमा सहभागीहुँदै हुनुहुन्छ । सबै वडाका योजना योजनातर्जुमा बैठकमा सहभागि हुनुहुन्छ ? भन्ने हाम्रो जिज्ञसामा मेयर घर्तिले भन्नुभयो, ‘कार्य व्यस्तताले सदरमुकाम भन्दा टाढाका सबै वडामा सहभागी हुन सकिरहेको छैन, तर प्रत्येक वडाका अध्यक्षलाई कुनैपनि राजनीतिक पार्टीको गन्ध नआउने गरी बस्ती स्तरबाट योजना तर्जुमा गर्न निर्देशनदिएको छु ।’

योजना तर्जुमा बैठक सकिएपछि मेयर घर्ती १ बजे स्रोत अनुमान तथा बजेट निर्धारण समितीको बैठकमा सहभागी हुने कार्यक्रम तय भएको छ । त्यस पश्चात मेयर घर्तीले ३ बजे प्रमुख प्रशासकीय अधिकृत लगायत सबै शाखाका प्रमुखसँग नियमित छलफलको लागि बैठक बोलाउनुभएको छ । उहाँले भन्नुभयो, ‘प्रत्येक शाखाका प्रमुखसँग कार्य सम्पादनको अवस्था र भावी योजनाको छलफलका लागि दिनदिनै बैठक बस्ने गरेको छु ।’

संघ र प्रदेश सरकारका जनप्रतिनिधी र कर्मचारीको सुस्त कार्यशैलीप्रति असन्तुष्टी व्यक्तगर्दै मेयर घर्तीले संघियता स्थानीय तहकै कारण सफल हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘संघ र प्रदेशका कर्मचारी घाम तापेर बसेका छन्, हामीलाई स्वास फेर्न फुर्सद छैन ।’

मेयर आफ्नो कार्य कक्षामा पुग्दा सधैंजसो ४०–५० जनाको घुईँचो लागेको हुन्छ । अन्य बैठक र कार्यक्रम नहुँदा बेलुकी ६ बजेसम्म जनताका समस्या सुन्ने र समाधानका उपायहरु अपनाउने गरेको मेयर घर्तीले जनाकारी दिनुभयो ।
बेलुकी ८ः३० देखी ढिलोमा ९ बजेसम्म घरमा पुग्ने गरेको बताउदै मेयर घर्तीले भन्नुभयो, ‘नगरपालिकाबाट घरमा पुग्दा पनि सर्वसाधरण विभिन्न प्रकृतिका समस्या बोकेर मलाई पर्खिरहनुभएको हुन्छ, व्यक्तिगत जिवनको लागि समय निकाल्न निकै कठिन छ ।’

कार्यकालका २ वर्ष वितिसक्दा जनताले अनुभुत गर्ने खालका के कामहरु भएका छन् ? भन्ने हाम्रो जिज्ञासामा मयेर घर्तीले भएका र योजनामा परेका केही महत्वपूर्ण कार्यहरुको बेलिविस्तार सुनाउनुभयो ।

एकिकृत सम्पति कर र व्यवसायिक कर लागु भएको छ । योजना सफल बनाउने मूख्य जिम्मेवारी उपभोक्ता समितीको हुने भएकाले भेरी नगरपालिकाले उपभोक्ता समितीलाई हदैसम्म पारदर्शी र जिम्मेवार बनाउनका लागि प्रत्यक्ष निगरानीमा राख्ने रणनीती अपनाएको छ । कृषकहरुलाई मौरी पालन, च्याउ खेती, तरकारी खेती, पशुपालन लयायतका क्षेत्रमा ५० देखी १०० प्रतिशत सम्म अनुदान प्रदान गरिएको छ । अहिले भेरी नगरपालिका जैविक तरकारी उत्पादनमा आत्मनिर्भर भइसकेको छ ।

पर्यटकीय गन्तव्यको विकास गर्न योजनाबद्धरुपमा कार्यहरु भइरहेका छन् । १ सय वटा राष्ट्रिय पर्यटकीय गन्तव्यमा परेको जाजरकोट दरवारको लागि छुट्याइएको २५ लाखमा जिर्णोद्दार कार्य भइरहको छ । अपुग बजेटको व्यवस्थापनको लागी प्रदेश सरकारलाई योजना पेश गरिएको छ ।

वडिमालिका शक्तिपिठको स्तरोन्नतीको लागि निरिक्षण गरी योजना निर्माण कार्य अघि बढिसकेको छ । जाजरकोटी राजा जगति सेन महाराजको वासस्थान रहेको क्षेत्रको जिर्णोदारको कार्य पनि अगाडी बढ्दैछ ।

राष्ट्रपति रनिङ सिल्ड सफलता पूर्वक सम्पन्न भएको छ । राष्ट्रियस्तरको रंगशाला निर्माणकाे डि.पि.आर तयार भइसकेको छ । बजेट व्यवस्थापनको लागि संघ र प्रदेश सरकारलाई लिखित योजना पेश गरिएको छ । सिटिइभिटीको सम्बन्धनमा वडा नम्बर ५ काफल चौरमा प्राविधिक शिक्षालय निर्माण हुँदैछ ।

५ वडामा व्यवस्थित स्वास्थ्यचौकीको पुहँच पर्याइएको छ । बाँकी ७ वडामा जतिसक्दो छिटो स्वास्थ्यचौकी निर्माण गर्न लागी पहल भइरहेको छ । भेरी नगरपालिकाले प्रत्येक वर्ष निशुल्क मेयर घुम्ती स्वास्थ्य सिविर संचालन गर्दै आएको छ ।

अन्तमा मेयर घर्तीले भन्नुभयो, ‘राम्रो सोच र व्यवहारमा एकरुपता आयो भने मात्रै सफल भइन्छ, म त्यही गरिरहेको छु ।’

(मेयरको आजको दिनले भोलीको नगरको भविष्य निर्धारण गर्छ, त्यसैले मेयरको सक्रियताको मापन गर्ने उद्देश्यले यो स्तम्भ सुरु गरिएको हो ।–सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *