आठविसकोट नगरपालिका मदिरामुक्त नगर घोषणा

मेयर खबरदाता, रुकुम (पश्चिम)

आठविसकोट नगरपालिकालाई मदिरामुक्त नगर घोषणा गरिएको छ । सोमबार एक कार्यक्रम गरी कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आठविसकोटलाई मदिरामुक्त नगर घोषणा गर्नुभएको हो ।

मदिरा मुक्त नगर घोषणा गर्नकालागि नगरपालिकाले अभियान नै चलाएको थियो । मदिरा उत्पादन र विक्रीवितरणमा रोक लगाइएपछि नगरपालिकाले मदिरामुक्त क्षेत्र घोषणा गरेको उप–मेयर गीता नेपालीले बताउनुभयो । उहाँका अनुसार नगरपालिका भित्र उत्पादन, विक्री वितरण तथा ओसारपसार लगायतका कुनैपनि गतिविधिमा रोक लगाइएको छ ।

यसअघि लाइसेन्स लिएर विक्री वितरण गर्दै आएका व्यवसायीहरुको इजाजत पनि खारेज गरिएको उप–मेयर नेपालीले बताउनुभयो । उहाँले अब कसैले उत्पादन, विक्रीवितरण, तथा ओसारपसार गरेको पाइएमा स्थानीय कानून बमोजिम कारबाही गरिने समेत जानकारी दिनुभयो ।

यो सँगै कर्णलीका २ नगरपालिका मदिरामुक्त घोषणा भएका छन् । यसअघि मुगुको छायाँनाथरारा नगरपालिकालाई मदिरामुक्त नगर घोषणा गरिएको थियो ।

मदिरामुक्त नगर घोषणा गरिएपछि आठविसकोट नगरपालिकाले ४ बुँदे घोषणापत्र पनि जारी गरेको उप–मेयर नेपालीले जानकारी दिनुभयो । नगरपालिका भित्र कुनैपनि किसिमका मदिराजन्य पदार्थ आयात, विक्री वितरण र सेवन पूर्ण रुपमा निषेध गरी मदिरामुक्त नगरपालिका घोषणा पूर्णरुपमा कार्यान्वयन गरिने, सामाजिक विकृति, विसंगतीको उन्मुलन, सबै किसिमका हिंसा न्यूनिकरण गर्ने लगायतका प्रतिवद्धत्ता घोषणापत्रमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *