चरम गरिबी झेल्दै एसईई टपर बनिन् अञ्जली

जाेसेफ शाही

काठमाडौं । गरीबीले  क्षमताको प्रस्फुटनमा पूर्ण विराम लगाउने तागत राख्दो होत आज दुनियाँका सफल व्यक्तित्वको सूचिमा धनाढ्यको नाम मात्रै भेटिन्थ्यो होला । संघर्षलाई आत्मसाथ गर्दै परिश्रमलाई निरन्तरता दिन सकेको खण्डमा गरीबीले सफलताको मार्गमा लम्किएका पाइलालाई अवरोध खडा गर्न सक्दैन भन्ने विचारलाई प्रमाणित गरिदिएकी छन्, अञ्जली परियारले ।

गोरखाको पालुङटार नगरपालिका–५ डुमे्रचौरकी विपन्न दलित परिवारकी बालिका अञ्जलिले चरम गरिवीका बावजुत पनि एसईई परिक्षामा नगरपालिकामै उत्कृष्ट नतिजा हाँसिल गरेकी छन् । तमाम अभावका विच सरकारी विद्यालायमा अध्ययन गरेकी अञ्जलीले निजी विद्यालायमा अध्ययन गर्ने बालबालिकालाई समेत पछि पार्दै आफुलाई अव्वल सावित गरिदिएकी छन् ।

आईसीआईडी मिडियाको उत्पादनमा न्यूज २४ टेलिभिजनमा प्रशारण हुने ‘उपमेयरसँग आज’ कार्यक्रममा अञ्जलीले आफ्नो सफलता र गरिबीले उच्च शिक्षा हाँसीलमा निम्त्याउन सक्ने सम्भावित जोखिम बारे जिज्ञासा राख्दै भनिन्, ‘मेरो बुवा हुनुहुन्न, हाम्रो घर जग्गा केही छैन, आमाले आजसम्म ज्याला मजदुरी गरेर जसोतसो पढाउनुभयो । अव म इन्जिनियर बनेर देशको सेवा गर्न चाहान्छु, नगरपालिकाले मैले चाहेको विषय पढ्न कस्तो सहयोग गर्न सक्छ ? जवाफमा पालुङटार नगरपालिकाकी उपमेयर पम्फा बसेलले भन्नुभयो, ‘तपाईँको इन्जिनियरिङ पढ्ने चाहाना पुरा गर्न नगरपालिकाकै सहजिकरणमा आर्थिक संकलन कार्य शुरु भइसकेको छ, नगरपालिकाले पनि आवश्यक सहयोग गर्छ ।’ बालिकालाई थप विश्वस्त तुल्याउन प्रस्तोता शिव अधिकारीले थप्नुभयो, ‘उहाँले इन्जिनियरिङ पढ्न पाउनुहुन्छ त ?’ निर्धक्क ईन्जिनियरिङ पढ्न पाउनुहुन्छ भन्ने उपमेयरको जवाफले बालिका प्रफुल्लित भईन् ।

अञ्जली परियार, उपमेयरसँग आज कार्यक्रममा, तस्बिर: हर्कराज घलान

अभिभावकत्व ग्रहण गर्ने बुवा गुमाएकी अञ्जली, छाक टार्न ज्याला मजदुरीमा व्यस्त रहने आमाको कमजोर निगरानीमा हुर्किएकी छोरी अञ्जली, बस्ने घर र खेल्ने आगन नभएकी अञ्जलिले आँखिर त्यत्रो दुर्लभ सफलता कसरी हात पारिन ? यसको सही उत्तर हो, ‘हातको मैला सुनको थैला, के गर्नु धनले…साग र सिस्नु खाएको बेस आनन्दी मनले ।’ बाल्यकालदेखि नै चरम गरिवीले थिचिएकी अञ्जलीलाई सरकारी हैन, बोर्डिङ स्कुल पढ्छु भन्ने रहरले जितेको भए, मिठो मसिनो खान पाईन, राम्रो लुगा लगाउन पाईन, कापि कलम किन्न पनि धौ धौ छ, भो अव पढ्दीन भन्ने बालसुलभ बुझाईले जितेको भए उनि आजको सफलताको हकदार हुने नै थिइनन् । न त उनमा नगरको उपमेयर समक्ष मलाई आर्थिक सहायता चाहियो भन्ने साहस नै बाँकी रहन्थ्यो । आमाले आफ्नालागि गर्नुभएको दुःख बुझ्दै आफ्नो पढाईमा निरन्तर युद्ध मैदानको सिपाहीझै खटिएकी अञ्जली आम बालबालिकाका लागि प्रेरणाको स्रोत बन्न सक्छिन् । अञ्जली सफल ईन्जिनियर बन्न सकुन्, आमालाई खुशीपार्न सकुन् । मेयर खवरको शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *