२५ किलो मालाभित्रको कथा

स्थानीय विमलेश शाह भन्छन्, ‘पार्टीगत हेर्ने हो भने म कांग्रेसको कार्यकर्ता हुँ तर उहाँ (भरत थापा) कुनै पार्टी र कुनै नगरपालिकाको होइन, उहाँ सर्लाहीकै शान हो ।’

शिव अधिकारी/मेयर खबरदाता, सर्लाही

कुरा २०५० सालदेखिको रहेछ । त्यसताका तराईमा उर्लिएको बाढीले सर्लाहीको टाँडीटोललाई पनि छोडेन । खेतियोग्य जमिन सब–सबै बगायो । जसोतसो आफ्नो जग्गा पहिचान गर्दै किसानहरुले पुरपार गरेर खेती त गर्थे तर सोती खोलाले आफ्नो बाटो फेरेका कारण सिंचाई हुन छाड्यो ।

२०५० पछि धेरैपटक चुनाव भए । नेताहरु गाउँ आए । प्रतिबद्धता गरे । जिते । किसानको दुदर्शा उस्तै रह्यो ।

टाँडीटोलका किसानका लागि २०७० सालको निर्वाचन चिरस्मरणीय रह्यो ।

सर्लाहीको क्षेत्र नं. ३ बाट उठेका उम्मेदवार भरत थापा भोट माग्दै टाँडीटोल पुगे । गाउँ पस्ने बित्तिकै त्यहाँको दुर्दशा देखेका थापाले जनतामाझ टाँडीटोललाई हरियाली बनाउने प्रतिबद्धता गरे । तर, मेयर थापा पराजित भए ।

मेयर थापा पराजित भएपछि फेरि उहि नियति बेहोर्नुपर्ने होला भनेर निराश बनेर बसिरहेका जनतामाझ परिणाम आएको एक हप्ता पनि नबित्दै फेरि थापा त्यहि गाउँ पुगे, जहाँ उनले चुनाव अघि प्रतिबद्धता गरेका थिए ।

स्थानीय विमलेश शाह सम्झन्छन्, ‘हारेका नेता गाउँमा आउँदा हामीमा खासै उत्साह थिएन । तर, उहाँ (भरत थापा) भोट माग्न आउँदाकै जस्तो उत्साह बोकेर गाउँ पस्नुभएको थियो ।’ त्यतिबेला भरत थापाले बोलेको वाक्यांश सम्झँदै स्थानीय शाह भन्छन्, ‘भरत थापाले आफुले हारे पनि विकासले कहिल्यै नहार्ने बताउनुभएको थियो ।’

नभन्दै भरत थापा फेरि स्थानीय तहको निर्वाचनमा सर्लाहीको बागमति नगरपालिकाबाट मेयरमा उठे र जिते पनि । बागमतिको मेयर भएपनि थापाले बरहथवा नगरपालिकाको वडा नं. ८ मा पर्ने टाँडीटोलमा आफुले गरेको प्रतिबद्धता पुरा गर्न कुनै कसर बाँकी राखेनन् ।

सोही वडाका वडाअध्यक्ष भरत शाह भन्छन्, ‘सुरुमा आफ्नै स्काभेटर दिएर करिब १५ लाख बराबरको व्यक्तिगत लगानी नै गरेर काम सुरु गर्नुभयो । पछि सिंचाई विभागलाई आफैंले समन्वय गरेर ३ करोड ४५ लाख बराबरको योजना सम्पन्न गराइदिनुभयो ।’

‘बर्षाैंदेखिको किसानको पीडा समाधान गर्न सोती खोलामा व्यारेज निर्माण गरिदिएपछि अब ६ सय हेक्टर जमिन सिंचाई हुने भएको छ । तिनै सयौं किसानको खुशी उम्लिएको छ, यतिबेला । त्यहि खुशीको संकेत हो भरत थापालाई लगाईएको २५ किलोको माला ।’ वडा अध्यक्ष शाहले भन्नुभयो ।

शुक्रबार सोही सोती व्यारेजको उद्घाटन कार्यक्रममा भरत थापालाई किसानले २५ किलोको माला लगाएर सम्मान भाव देखाए । व्यारेज बन्दै गर्दा पटक पटक आफैले रेखदेख गर्न पुग्दा किसानहरु भरत थापालाई ‘माननीयज्यू’ भनेर सम्बोधन गर्ने गर्थे । स्थानीय विमलेश शाह भन्छन्, ‘पार्टीगत हेर्ने हो भने म कांग्रेसको कार्यकर्ता हुँ तर उहाँ (भरत थापा) कुनै पार्टी र कुनै नगरपालिकाको होइन, उहाँ सर्लाहीकै शान हो ।’

भरत थापा भने आफुले यस्तो सम्मानको अपेक्षा कहिल्यै नगरेको बताउछन् । उनी भन्छन्, ‘निस्वार्थ ढंगले काम गरेपछिको परिणाम हो भनेर स्वीकारेको छु । माला पहिर्याउँदै गर्दा टाँडीटोलका किसानहरुको अनुहारमा देखिएको खुशी नै मेरो सन्तुष्टि हो ।’

निर्वाचित जनप्रतिनिधिहरुबाट गरेका अपेक्षा पुरा नभएर निराश बनिरहेका जनताका लागि पराजित ‘माननीय’हरुले देखाएका यस्ता नमुना कार्यले नेता र नेतृत्वप्रतिको विश्वास जगाएको छ ।

माला पहिएको हेरिरहेका एक स्थानीय वृद्धले भने, ‘पार्टी भन्दामाथी उठेर काम गर्नेहरु मनमा बस्छन् ।’

One Reply to “२५ किलो मालाभित्रको कथा”

  1. स्थानीय तहमा यस्ता जनप्रतिनिधिको अति आवश्यक छ । प्रत्सहानको लागि धन्यवाद मेयर खबर…

Leave a Reply

Your email address will not be published. Required fields are marked *