विधि र प्रक्रियामा चलेको प्रमुख प्रशासकीय स्थानीय हुनु र नहुनुले केहि महत्व राख्दैन : प्रमुख प्रशासकीय अधिकृत बुढाथोकी (भिडियो सहित)

नगरवासीको भावना, नवनिर्वाचित जनप्रतिनिधिको निर्देशन र विद्यमान कानूनको पालना गर्दै बर्षाैंदेखिको अधुरा सपना पुरा गर्न उत्ति सजिलो छैन । अझ त्यसमा पनि अन्य शाखाको नेतृत्व गर्दै प्रशासकीय जिम्मेवारी बहन गर्ने प्रमुख प्रशासकीय अधिकृतहरुलाई झनै कठिन छ । रामेछाप जिल्लाको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा विगत ६ महिनादेखि शिक्षा शाखासँगै प्रमुख प्रशासकीय अधिकृतको भूमिका निर्वाह गरिरहनुभएका हेमन्त बुढाथोकीसँग हाम्रा सहकर्मी शिव अधिकारीले प्रशासकीय जटिलता र विकासका मुद्दामा विशेष सम्वाद गर्नुभएको छ । सोही संवादको सम्पादित अंश प्रस्तुत गरिएको छ । –सम्पादक

विगत छ महिना देखि प्रमुख प्रशासकीयको जिम्मेवारी समाहल्दै आउनु भएको छ । एक त तपाईं शिक्षा शाखाको प्रमुख पनि हुनुहुन्छ । दुवै जिम्मेवारी समाहल्दा कत्तिको असहजता महसुस भएको छ ?

अप्ठ्यारो त अनुभुति नै छैन झन् म खुशी छु । समायोजन पश्चात बैशाखको १२ गते म मन्थली नगरपालिका प्रवेश गेको हुँ । २–३ महिना शिक्षाका कार्यक्रमहरु गरिरहँदा शिक्षा शाखाको भूमिका निकै बढाएको थिएँ । दुईमहिना पनि नबित्कै संघीय मामिला मन्त्रालयले मलाई असारको ११ गते प्रमुख प्रशासकीयको हैसियतले काम गर्ने गरि थप जिम्मेवारी दियो । असार जस्तो निकै व्यस्त हुने महिनामा आएको जिम्मेवारी सहज ढंगले स्वीकार गरें । तर, अघिल्लो वर्षको कार्यक्रमहरु समापन गर्नैपर्ने र नयाँ योजनाहरु बनाउँदै वार्षिक बजेट पनि ल्याउनुपर्ने यो जटिल परिस्थिती थियो । मैले जिम्मेवारी सम्हालेको ५ दिनमै अर्थात् असार १६ गते नगरसभा गर्न सफल भईयो । यसपछि कार्यपालिका बैठकबाट यो वर्ष सञ्चालन हुने विकास निर्माणका कामहरुको कार्यतालीका नै बनाएर अगाडि बढेका छौं । अहिले एउटा स्पीडमै छ । विकास निर्माणका योजनाहरु सम्झौता गरेर पुषको १५ देखि वडातहमा उपभोक्ता समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण गरिसक्ने तयारीमा छौं । त्यसपछी चैत्र मसान्तसम्म यो वर्षको विकास निर्माणका कामहरु सम्पन्न गरेर भुक्तानी दिइसक्ने एउटा योजना बनेको छ । अप्ठ्यारो भएपनि सजिलो गरी काम गरिरहेको छु ।

तपाईं स्थानीय पनि हुनुहुन्छ । स्थानीय नगरवासीले भाई, छोरो, काका, मामा, दाई आदि साईनो लगाएर आउँनुहुन्छ तर उहाँहरुको अपेक्षा पुरा गर्न कतिपय निती, नियम, विधि, प्रक्रियाले सकिँदैन नी, त्यो अवस्थामा कस्तो लाग्छ, प्रमुख प्रशासकीयज्यू ?

हो, म यहाँको स्थानीय भएकोले उहाँहरुको अपेक्षा एकदमै ठूलो भएको पाएको छु । तथापी म समक्ष आइपुग्दा सकिने, मिल्ने काम कुनै नातै नपरे पनि भईहाल्छ । जुन विधि र प्रक्रियाले मिल्दैन नि हो त्यस्ता कुरा चाहिं यो यो कारणले हुँदैन भनेर बुझाएर पठाउने गरेकाले खासै असहज भएको छैन अहिलेसम्म । पहिले नबुझे पनि पछि बुझ्नुहुन्छ । त्यो हिसाबले उहाँहरु खुशि नै हुनुहुन्छ ।

मेयर, उपमेयर पनि स्थानीय अनि प्रमुख प्रशासकीय पनि स्थानीय नै हुँदा त्यसले पार्ने राम्रा भन्दा नराम्रा असरहरु धेरै हुन्छन् भन्छन् नि ? तपाईंलाई चाहिं के लाग्छ ?

विशेषगरि मैले आफ्नो बुझाई र मैले गरेको अनुभव हेर्दा, राम्रो पक्षहरु बढि देखेको छु । किनभने कुन ठाउँको, कुन बस्तिको, अवस्था के छ सबै कुराको जानकारी नीति बनाउने मेयर उपमेयर र कार्यान्वयन गर्ने प्रमुख प्रशासकीय समेत हुने हुँदा काम गर्न सहज हुँदोरहेछ । विधि, प्रक्रिया भन्दा बाहिरका अपेक्षाहरु पूरा नहुँदा आउने नकारात्मक टिकाटिप्पणीलाई आधार मानेर यसबारे नकारात्मक बहस गर्नु नपर्ला कि जस्तो लाग्छ । तर, खास विषय चाहिं के हो

भने विधि र प्रक्रियामा चलेको प्रमुख प्रशासकीय अधिकृत यहिंको होस् या बाहिरको, त्यसले केहि अर्थ राख्दैन ।
तपाईं त निमित्त हो नि, अरु कर्मचारीहरुको सहयोग चाँही कत्तिको छ ?

यो नगरपालिकाभित्र रहेका सबै शाखा उपशाखाका साथिहरुले पूर्ण साथ र सहयोग गर्नुभएको छ । यहाँ हामी अधिकांश स्थानीय साथीहरु नै छौँ । उहाँहरुसँग लामो समय स्थानीय तहमै काम गरिरहेको अनुभव भएकोले त्यो अनुभवलाई समेत हामीले गाँसेर अगाडि लाने गरी अगाडि बढेका छौँ । सबैको सहयोग राम्रो छ ।

मेयरसँग मात्रै छलफल गर्ने, निर्णय गर्ने गरेकाले कतिपय प्रमुख प्रशासकीय अधिकृत विवादमा पनि तानिनुभएको छ । तर, तपाईंले हरेक विषयमा उपमेयर र अन्य जनप्रतिनिधिसँग पनि परामर्श गर्नुहुन्छ रे हो ?

हो, यो सहि हो । सबैको अपनत्व भयो भने आफूलाई पनि खुशी लाग्दोरहेछ । र अर्को एउटा पाटो चाँही के हुँदो रहेछ भने स्थानिय भएको नाताले यहाँका स्थानीय जनप्रतिनिधिज्यूहरु, कर्मचारीहरु र आमनागरिकहरुलाई कुरा गर्न सहज पनि हुँदोरहेछ । त्यस्ता विषयलाई कुन तहबाट टुङ्याउदा सहज हुन्छ भन्ने हिसाबले मैले सबै साथीहरुलाई समुहमै राखेर छलफल गरेर ल यो विधिबाट जाऊँ भनेर निष्कर्ष निकाल्ने र समाहल्ने गरेको छु । त्यो हिसाबले उहाँहरुले सहज मानेको हुनसक्छ ।

मेयर, उपमेयरज्यूहरुको प्रेसर अलि धेरै हुँदैन ? किनभने तपाईं पनि स्थानीय भएको हुनाले उहाँलाई प्रेसर गर्न पनि सहज हुन्छ होला नि ?

मन्थली नगरपालिकामा त्यो छैन । प्रेसर होइन, काम गर्ने खुला वातावरण छ । हामीले एकदमै गौरब मान्नुपर्छ, यो कुरामा । विशेष गरेर नगरप्रमुखज्यू लामोसमय जिल्ला विकास समितिको उपसभापति, जिल्ला सभापति पनि हुनुभयो । उहाँको त्यो अनुभव र कार्यशैली जुन छ त्यो अत्यन्त उदाहरणीय छ । हामीले आएका मुद्धामा उहाँसँग बसेर विस्तृत छलफल गरिसकेपछि विधि र प्रकृयालाई अवलम्बन गर्दै जानुपर्छ भन्ने उहाँको मानसिकता छ । त्यो भएको हुनाले पनि हामीलाइ काम गर्न सजिलो छ ।

तपाइहरुले स्थानिय तहको पाठ्यक्रम पनि विकास गर्दै हुनुहुन्छ । कस्तो खालको हुन्छ यो ? त्यो पाठ्यक्रममा के–के हुन्छ ? विद्यार्थीहरुले के बुझ्छन्, त्यो पाठ्यक्रमबाट ?

विशेष गरेर स्थानीय पाठ्यक्रम चाँही विद्यालय पाठ्यक्रम भित्रै रहेको विषयवस्तु हो । २०६१ सालमा नयाँ पाठ्यक्रम आइसकेपछि विशेषगरी १ देखि ५ कक्षाको सामाजिक विषयमा ८० प्रतिशत केन्द्रिय पाठ्यक्रमले तय गरेको कुराहरुबाट सिकाउने र २० प्रतिशत चाँही स्थानीय तहका विषयबस्तुको पठनपाठन गर्नुपर्ने प्रावधान छ । त्यसको अलवा १०० पूर्णाङ्कको स्थानीय विषयवस्तुलाई नै जोड दिने गरी मातृभाषमा वा राष्ट्रिय भाषामा तयार गर्ने प्रावधान अनुरुपको पाठ्यक्रम विकास गर्न लागिएको हो । यो नगरपालिका भित्र भएका रहेका पर्यटकीय, ऐतिहासिक, धार्मिक, साँस्कृतिक विषय मात्र होइन यहाँको रहनसहन, मान्यता, जातजाति, भाषाधर्म सबै विषयलाई पाठ्यक्रमले समेट्नेछ । र, त्यो पाठ्यक्रम पढेर विद्यार्थीले आफू र आफ्नो नगरलाई सजिलै चिन्न सक्नेछन् भन्ने लक्ष्य हो ।

कहिलेदेखि कार्यान्वयन हुन्छ ?

आउँदो शैक्षिक शत्रबाट पूर्ण रुपमा हामी त्यसलाई कार्यान्वयनमा लैजान्छौँ ।

तपाइले विगत ६ महिनादेखि नेतृत्व सम्हालिरहँदा प्रशासनिक सुधार चाँही के–के भए त ?

प्रशासनिक हिसाबले हामीले यहाँबाट प्रवाह हुने सेवालाई सरल, सहज र चुस्त बनाउँदै लगेका छौं । हामीले सूचनाहरु जनतासम्म पुर्याउन मोबाइल एप्सदेखि लिएर सुचनापाटीसम्म व्यवस्था गरेका छौं । नगरपालिकाबाट सार्वजनिक सुनुवाईका कार्यक्रम पनि गरेका छौँ । त्यसका अलवा आमनागरिकले उठाएका कुरालाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने हिसाबले पनि हामी अगाडि बढेका छौँ । हामीले भर्खरै स्वास्थ्य सेवाबाट समायोजन भएर आएका साथीहरुलाई सहज रुपमा पदस्थापन गर्र्यौँ । विशेषगरी मन्थली नगरपालिकाले स्वास्थ्य र शिक्षालाई नै बढि महत्व दिएको छ । शिक्षामा सुधार गर्ने क्रममा विद्यालय दरबन्दी मिलानका कामहरु हामीले एक चरण सकेका छौँ । अहिले केन्द्रिय तहमा पनि दरबन्दी मिलानका कुराहरु आइरहेको छ । दरबन्दी मिलानको एउटा तथ्याङ्क तोकिदिने, शिक्षकको पदस्थापना नगरपालिकाले गर्ने जुन कुरा आएको छ, त्यो काम सरल रुपमा टुङ्ग्याई सकेका छौँ । जनताको तहबाट हेर्ने हो भने विगतमा भोगेका सेवा प्राप्तिका समस्या आज छैन । जनतामा समस्या नहोस् भनेर नै हामीले दिनरात काम गरेका छौं । हाम्रो उद्देश्य नै जनताको खुशी र सन्तुष्टि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *