कामको सवालमा आफ्नै बुवासँग पनि सम्झौता गर्दिन: मेयर शाह (भिडियोसहित)

महोत्तरीको भंगाहा नगरपालिकाका मेयर सञ्जिव साह कडा स्वभावका कारण दबंग मेयरको रुपमा परिचित हुनुहुन्छ । मेयर शाह व्यक्तिगत रुपमा भन्दा पनि नगर विकास र नगरबासीको साझा हितका सवालमा कसैसंग पनि सम्झौता गर्न तयार हुनुहुन्न । आफ्नो बुझाई, सोचाई, भनाई र गराईमा स्पष्ट मेयर साहसँग आधा कार्यकाल सकिंदा नगरपालिकामा समग्रतामा देखिएका परिवर्तनका सवालमा सहकर्मी जोसेफ शाहीले गर्नुभएको कुराकानीको सम्पादित अंश सम्पादक

मेयर ज्यू, तपाईँको कार्यकालको अवधी झन्डै २ वर्ष बितीसक्यो, मेयर हुनुभन्दा अगाडि र मेयर भइसके पछि यो बीचको समयमा नगरपालिकामा तपाईँको तर्फबाट के कस्ता परिवर्तनहरु भए ?

स्वभाविक रुपमा मेयर हुनुभन्दा अगाडि र अहिले धेरै परिवर्तन भएको छन् । बाटोघाटो देखि स्वास्थ्यको सन्दर्भमा अस्पतालमा डाक्टरहरु नभइदिने अवस्था, भएको डाक्टर पनि अस्पताल नपुगिदिने अवस्था, एक त शिक्षक अपुग भएको अवस्था त्यसमा पनि भएको शिक्षकले पनि नपढाइदिने अवस्था, अनि स्कुलहरु बन्द गरेर जन्ती राख्ने प्रवृतीका अन्त्य हुनुका साथै क्षेत्रमा कृषिको क्षेत्रमा पनि तुलनात्मक रुपमा धेरै परिवर्तन भएको छ ।

यो समग्रतामा तपाईँले भन्नुभयो हैन । बेग्ला बेग्लै शिर्षकमा जाँदाखेरि तपाईँ आइसकेपछि विशेष गरि सार्वजनीक शिक्षाको क्षेत्रमा के–कस्ता बस्तुगत प्रयत्नहरु भए ? बताइदिनुसन ।

अब नगरपालिकाले गर्नुपर्ने काममा पछाडि पर्नु परेको अवस्था छैन । हाम्रो भंगाह नगरपालिकामा ३० वटा सामुदायीक विद्यालय छन् । ३० वटा सामुदायीक विद्यालय मध्ये विद्यार्थी संख्या धेरै छ । गरिब, दलितहरुको बच्चा छन् । तर शिक्षकको संख्या अती नै न्यून छ । एउटा शिक्षकको भरमा विद्यालय नै थेग्नुपर्ने अवस्था पनि छ । जहाँ निम्न माध्यमिक विद्यालय छ, त्यहाँ प्राथमिक विद्यालयका ५–६ शिक्षकको भरमा विद्यालय चलाउनुपर्ने अवस्था छ । माध्यमिक विद्यालयमा पनि निम्न माध्यमिक विद्यालयका शिक्षकहरुले पढाउनुपर्ने अवस्था छ । दरबन्दी पनि हामीले सृजना गर्न नसकिने मन्त्रालय, विभाग र मन्त्रीले पनि दरबन्दी नथपिदिने । हामी एकदम दोधारे अवस्थामा छौँ ।

अनौपचारीक कुरा हुँदा स्वास्थ्यको क्षेत्रमा अस्पताल निर्माण र सेवा प्रवाहका कुराहरु चुस्त दुरुस्त पार्ने कार्य भएको छ भन्नुभयो । यो बीचमा तपाईँको तर्फबाट स्वास्थ्यमा भएको पहलले जनतामा के कस्तो प्रभाव परेको छ ?

हेर्नुस्, सबैभन्दा पहिले त कुनैपनि जनप्रतिनिधि मेयर या सांसदलाई बोलाएर सोध्नुभयो भने कसले आफूलाई नराम्रो भन्छ ? सबले आफ्नै पक्षमा व्याख्या गर्छन् । तर यथार्थ विश्लेषण भनेको त्यहाँको समुदाय त्यहाँको जनताले गर्ने हो । मेरो विचारमा यस्ता कुरा जनतासँग बुझ्दा राम्रो हुन्छ । म त आफ्नो हिसाबमा भन्छु राम्रो गरिरहेको छु । तर जबसम्म मेरा कामहरुसँग जनता सन्तुष्ट हुने अबस्था बन्दैन तबसम्म मैले केहि गरेको छैन भन्ने लाग्छ । यो कुरा म आग्रह गर्छु, कमसेकम हाम्रो क्षेत्र हाम्रो नगरपालिकामा आएर त्यहाँको जनतासँग बुझ्नुहोस् । तपाईँको मेयरले पहिला भन्दा अहिले कस्तो काम गरेको छ ? त्यसमा फरक छ कि छैन ? जनतालाई सोध्नुस् । त्यो मुल्याङ्कन जनताले गर्ने हो । मैले समग्रमा भन्नुपर्दा म आफ्नो कामबाट सन्तुष्ट छु । तर पूर्ण सन्तुष्ट म आफै पनि छैन । त्यसमा धेरै प्राविधिक कारण पनि छ । कर्मचारीको दरबन्दी नहुनु लगायतका यावत् समस्याहरुका कारणले ।

त्यहाँका स्थानियसँग सोध्ने एउटा फरक पाटो भयो । त्यहाँ गएर सोध्न पनि सक्छौँ हामी । तर ठ्याक्कै स्वास्थ्यको क्षेत्रमा तपाईँ आफ्नो तर्फबाट सन्तुष्ट हुनुहुन्छ भन्नुको मतलब नै तपाईले मैले स्वास्थ्यको क्षेत्रमा यो यो गरेको छु भन्नु हो । के–के गर्नुभएको छ भन्दीनुहोस न ?

स्वास्थ्यको क्षेत्रमा भन्दा समायोजन भएर कर्मचारीहरु पनि आइसक्नुभएको अवस्था छ । अनी सरकारले दिएको औषधीहरुले त्यहाँ पुग्ने अवस्था छैन । जनसंख्या धेरै छ । त्यसकारण हामीले नगरपालिकाबाटै बजेट छुट्याएर औषधीको कमी नहोस् भनेर अस्पतालमा औषधी किनेर दिएका छौँ । समयमा कर्मचारी, डाक्टर आउन् भनेर छड्के अनुगमन गर्ने गरेका छौँ, प्रत्येक स्वास्थ्य संस्थामा ई–हाजरी मेसिन लगाएका छौँ । उहाँहरुले अफिस आएपछि ३ पटक हाजीर गर्नुपर्ने हुन्छ । आएपछि १० बजेको समयमा, दिउँसो १ बजे र जाने बेलामा । कर्मचारीको समयमै उपस्थिती, ई–हाजीरी यो पनि त एउटा परिवर्तन हो नी । कर्मचारी दश–दश दिन नआइदिने एकैपटक आएर हाजीर गर्ने कमसेकम यो प्रथा अन्त्य गर्न हामी सफल भएका छौँ । छड्के हान्दा खेरि डाक्टर साहबहरु नभएको अवस्थामा स्पष्टिकरण सोध्ने गरेका छौँ । त्यो कारणले गर्दा समयमै आएर सेवा प्रवाह गरिराख्नु भएको छ ।

स्वास्थ्य क्षेत्रको कुरा भयो । तपाइको जिल्ला महोत्तरी कृषि उब्जनीको हिसाबले एकदमै राम्रो भूमी हो । त्यसमा पनि तपाईँको नगरपालिकामा कृषकको लागि उहाँहरुले अनुभूत गर्ने गरि नगरपालिकाले गरेको पहल के छ ?

तराईमा खास गरेर कृषिमा आश्रित मान्छेहरु छन् । हामीले कृषि सिँचाईको ४२ वटा इनारहरु बनाइसकेको अवस्था छ । यसपालि पनि करिब अढाई करोड जति कृषि विद्युतिकरणका लागि हामीले बजेट छुट्याएर काम पनि शुरुवात हुने चरणमा छ । यो भन्दा पहिला पनि ९० लाखको कृषि विद्युतिकरण सम्पन्न गरिसकेको अवस्था छ । औषधी छर्ने ट्याङ्की र बोटबिरुवाहरु नगरपालिकाले सित्तैमा वितरण गरेको अवस्था छ ।

धेरै जसो क्षेत्रमा कृषकले बिभिन्न खालको रसायनिक औषधी छर्नाले अर्गानीक कृषि उत्पादन भइरहेको छैन । तपाईँहरुको तर्फबाट यहाँको क्षेत्रका लागी केहि पहल भएको छ ?

सबैभन्दा पहिले तपाईँले के बुझिदिनुपर्छ भने म कुनै प्राविधिक व्यक्ति परिन र म कृषि विज्ञ पनि हैन । मैले शुरुमै भने यो सबै समस्या कर्मचारीको कारणले हो । अहिलेसम्म पनि हाम्रो नगरपालिकामा कृषि सम्बन्धी हेर्ने एउटा पनि स्थायी कर्मचारी छैन । हेर्नुस् हामीसँग कस्तो विडम्बना ! एउटा करारको कर्मचारीको भरमा कृषि क्षेत्र हेर्नुपर्ने अवस्था छ । यो सब कर्मचारीको अभाव भंगाहामा मात्र नभएर सबैतीर नै होला । शिक्षामा पनि हेर्नुहोस न, न आर.पी छ न त विद्यालय निरिक्षक ।

हामी पुरा गर्वले भन्छौँ कि महोत्तरीको शिक्षा मन्त्री तर हामीले अहिलेसम्म आर.पी र विद्यालय निरिक्षक समेत पाउन नसकेको अवस्था छ । त्यही ठाउँको बर्दिबास नगरपालिकामा उपसचिव शिक्षा हेर्ने पठाइयो । गौशालामा, रामगोपालपुरमा शिक्षा हेर्न उपसचिव पठाउनुहुन्छ । जलेश्वरमा स्वभाविक रुपमा उपसचिव पठाउनुहुन्छ । तर शिक्षा मन्त्रीको गृह क्षेत्र भएर पनि केहि पठाउनुहुन्न । मलाई लाग्छ म विपरित पार्टिको भएको कारणले यो विभेद त हैन नी ? हामी गर्वले भन्छौँ हाम्रो क्षेत्रको मन्त्रीज्यू हुनुहुन्छ शिक्षा मन्त्री । हामी उहाँलाई एकदम सम्मान गर्छौँ । तर हामीसँग यो व्यवहारले कतै न कतै म पनि अति दु:खी छु । मुखले भनेर मात्र हुदैन गरेर पनि देखाउनुपर्यो नि । हामी त्यो देशको नागरिक हो जहाँ मुखले नानाथरि भनिन्छ तर व्यवहारमा लागू हुँदैन ।

मध्यावधि समिक्षा भएको हुनाले फेरी विषयमै प्रवेश गरेँ मेयरज्यू, बेरोजगारीको समस्या त देशभरि नै छ । अब स्थानिय सरकार आइसकेपछि विशेषगरि मेयर साहबहरु आइसकेपछि स्वरोजगारका कार्यक्रमहरु सबैले ल्याउनुभएको छ । तपाईँको तर्फबाट त्यहाँको जनतालाई स्थानिय स्तरमै रोजगार बनाउन के पहल भएको छ ?

महिलाहरुलाई सिलाई कटाईको तालीम गराइसकेको अवस्था छ । कम्प्यूटर, व्यूटिसियन, कृषि सम्बन्धी तालिम दिइसकेको अवस्था छ । स्वआर्जनको लागि समूह बनाएर बाख्रा वितरण पनि गरिसकेका छौँ । यसपाली पनि हामीले यस किसिमको कार्यक्रम राखेका छौँ ।

दाईजो प्रथा तराइको ठूलो समस्या यो सामाजिक एउटा रोग नै भनौँ । तपाईँ ढुक्कसँग भन्न सक्नहुन्छ दाइजो प्रथा रोकियो तपाइको नगरपालिकामा ?

हैन, छैन छैन । पहिला भन्दा न्यूनिकरण त भएको छ । तर देखिने गरी गर्दैन गोप्य रुपमा आर्थिक लेनदेन गर्छ अहिले पनि । यो कुरा एकदम धुर्वसत्य हो ।

अब झन्डै आधा समय बाँकी छ । तपाईँ त एउटा निश्चित समयका लागी जनताबाट विश्वास जितेर मेयर, जनप्रतिनिधि भएको मान्छे त्यो हिसाबले अबको बाँकी समयलाइ उपलब्धीमूलक बनाउनुपर्छ भनेर तपाईँ योजनाबद्धरुपमा काम गरिराख्नु भएको छ होला । अबको बाँकी समयमा यो–यो काम गर्छु भनेर ठोस योजना बनाउनुभएको छ ?

सबैभन्दा पहिले त म हाम्रो कृषिमा आधारित क्षेत्र भएको कारणले खेत–खेतमा सिचाँई सुविधा होस्, कृषि विद्युतिकरण, ईनार होस भन्ने योजना हो । वातावरण सफा राख्नको लागि हामी बोटबिरुवा बाँड्ने काम पनि गरिरहेका छौँ । अर्को शिक्षा क्षेत्रमा शौचालय लगायतका भौतिक संरचनाहरु पूर्णरुपमा निर्माण होस् । बाटोघाटोको सन्दर्भमा मूल बाटो छोडेर हाम्रो नगरपालिकाको गल्लिहरु आर.सी.सी ढलान भइसकेको अवस्था छ । यो नै हो ।

तपाईँलाइ एउटा दबंग मेयरको उपमा पनि दिइएको छ । मेयर साहब अली कडा हुनुहुन्छ भन्ने पनि सुनिन्छ । तपाईँ कस्तो अवस्थामा कडा हुनुहुन्छ ?

स्वभाविक रुपमा कामका सन्दर्भमा म कसैसँग सम्झौता गर्दिन । चाहे त्यो ठाउँमा मेरो बुबा नै किन नहोस् त्यो मेरो स्वभाव हो । सही कुराको लागि म हठी कस्छु नै । त्यसको लागि जे सुकै गर्न परोस् । यथार्थ कुराबाट कहिल्यै पछि हट्दैन ।

भिडियो हेर्नुहोस्ः

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *