एउटा गज्जबको योजना– ‘गरे के हुँदैन’

शिव अधिकारी
‘असम्भव छ र ?’ बागमती नगरपालिकाका मेयर भरत थापाले करिब १ बर्ष अगाडि भन्नुभएको थियो ।

‘एकातिर यति धेरै लागत अनि अर्काेतिर पार्क चल्ने सुनिश्चितता । यि दुवै विषयलाई हेर्ने हो भने अलि महत्वकांक्षी भएन र मेयर सा’ब ?’ सोधिहालें ।

बागमती नगरवासीको मात्र होइन, प्रदेश नं. २ मै राम्रा प्रयत्न थालेर चर्चा कमाएका खरो स्वभावका मेयर भरत थापाले भन्नुभएको थियो, ‘सपना देखेर बिर्सिने बानी छैन ।’

‘गफै गर्न त के भो र’ भन्ने मनमनै सोचेर राजधानी फर्किएको करिब १ बर्षपछि एउटा ईमेल आयो । ईमेलमा लेखिएको थियो, ‘नगर विकास कोष र बागमती नगरपालिकाबीच २४ करोडको लागतमा पार्क निर्माणका लागि आज सम्झौता भएको छ । कोषको १२ करोड ऋण र नगरपालिकाको १२ करोड लगानीमा पार्क निर्माण हुनेछ ।’ ईमेलमा मेयर र कोषका प्रतिनिधिले हात मिलाएको फोटो पनि आएको थियो ।

मेयर भरत थापालाई फोन गरें ।
‘मेयरज्यू पार्क निर्माणका लागि सम्झौता भएछ नि’
‘एक बर्षभित्र बन्छ’ मेयर थापाले ढुक्क साथ भन्नुभयो ।
‘प्रक्रिया जटिल छ नि, सम्भव छ र मेयर सा’ब ।’
एक बर्ष अगाडि भनेको त्यहि वाक्य दोहोरियो, ‘असम्भव छ र ?’
‘एक महिनामा आईईई, डेढ महिनामा टेण्डर र सम्झौता अनि एक बर्षभित्र सम्पन्न ।’
फेरि सोधें, ‘सकिन्छ र ?’
थापाले भन्नुभयो, ‘सकिन्छ हैन, सक्नैपर्छ ।’

पार्क निर्माणका लागि नगर सभाले यसअघि नै १४ करोड रकम छुट्याईसकेको छ । कोषसँगको सम्झौतासँगै ‘फाईभ स्टार’ सेवा सहितको ३८ वटा कोठा भएको होटलसँगै स्वीमिङ पुल, चिल्ड्रेन पार्क, बोटिङ लगायतका सेवासहितको बृहत पार्क बन्ने सुनिश्चित भएको छ । पार्कमा स्थानीय कला संस्कृति झल्कने विविध संरचनाहरु समेत बन्ने भएका छन् ।

पार्कमा ठूला, साना कार्यक्रम, विवाह, ब्रतवन्ध, भोज आयोजना गर्न सक्ने पार्टी प्यालेस मात्र नभई विविधता सहितको बजार निर्माणका लागि सटरहरु समेत व्यवस्था गरिने छ । मेयर थापाले भन्नुभयो, ‘पार्कबाट नगरपालिकाले बार्षिक कम्तिमा ४ करोडको आम्दानी गर्नेछ ।’

पार्क बनिसकेपछि धार्मिक दृष्टिले विशेष मानिएको बागमतीको महत्व बढ्ने मात्र नभई प्रदेश नं. २ कै महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्ने बागमति नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेलको अपेक्षा छ ।

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसअघि नै पार्कको शिलान्यास गरिसक्नुभएको छ ।
बागमति नदिमा स्वीमिङ गर्दा बर्षेनी स्थानीयको मृत्यु हुने गरेका कारणको अन्त्य समेत यहि पार्कले गर्ने मेयर थापाको दावी छ । उहाँले भन्नुभयो, ‘पार्कले एक सयभन्दा बढीलाई रोजागरी समेत दिनेछ ।’

‘पार्क नजिकै बन्न लागेको माछापोखरीबाट जल पर्यटनलाई पनि आकर्षित गर्ने नगरको योजना रहेको छ’ बागमती नगरकी उपमेयर लीला कुमारी मोक्तानले भन्नुभयो, ‘पहिचान, पर्यटन, रोजगारी मात्र होइन प्रदेश २ कै नमूना आयोजना बन्ने निश्चित छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *