टिभीमा हेर्ने संघीय सरकार, जनतासँग स्थानीय सरकार (भिडियो सहित)

प्रसन्न ढुंगाना/मेयर खबरदाता, विराटनगर

एक नम्बर प्रदेशका स्थानीय सरकार प्रमुखहरुको भेलामा आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीले जनताको सरकार भनेको स्थानीय सरकार नै भएको बताउनुभएको छ ।

नेपाल नगरपालिका संघले आयोजना गरेको अन्तर सरकार संवाद कार्यक्रममा बोल्दै मन्त्री कार्कीले भन्नुभयो, ‘संघीय सरकारलाई जनताले टिमी हेर्नेहुन्, प्रदेश सरकार अलि टाढै छ, धाउनैपर्छ तर, स्थानीय सरकारले जस पाउने काम गरे बोक्छन्, अपजसिलो काम गरे जनताले ठोक्छन् ।’

उहाँले प्रदेश सरकार किन चाहियो ? भनेर चिया पसलमा गफ गर्ने अनि बजेट माग्न प्रदेश धाउने मेयरहरुलाई साना तिना योजनाका लागि प्रदेश नआउन अनुरोध गर्नुभयो । मन्त्री कार्कीले भन्नुभयो, ‘बर्षको एउटा ठूलो योजना लिएर आउनुस्, हामी एउटा नगरपालिकालाई एउटा ठूलो योजनामा ८० प्रतिशत सम्म लगानी गर्न तयार छौं ।’

कार्यक्रममा बोल्दै मन्त्री कार्कीले स्थानीय तहमा रहेको जनशक्ति व्यवस्थापनका लागि प्रदेश सकारले यहि पुस महिनाभित्रै लोकसेवा आयोग गठन गर्ने र आगामी ६ महिनाभित्र जनशक्तिको समस्या हल गर्ने बताउनुभयो ।
नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका मेयर अशोक व्यन्जुले तीन तहको सरकार तिनतिर फर्किन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मुलुक संघीयतामा गए पनि मानसिकता संघीयतामा नगएकाले स्थानीय सरकारले समस्या झेल्नुपरेको हो ।’

स्थानीय र प्रदेश सरकारबीच समन्वय र सहकार्य थप दरिलो बनाउन संवाद कार्यक्रम आयोजना गरिएको नगरपालिका संघ प्रदेश एकका संयोजक एवं ईलाम नगरपालिकाका मेयर महेश बस्नेतले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेश एकका स्थानीय तहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

भिडियो हेर्न तलको लिंकलाई क्लिक गर्नुहोला :

Leave a Reply

Your email address will not be published. Required fields are marked *