म ७६ हजार नगरवासीको अभिभावक हुँ, दलीय स्वार्थ छैनः मेयर अधिकारी (भिडियोसहित)

कपिलवस्तुको शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीसँग मध्यावधि समिक्षा र समग्र नगरको विकासका सवालमा सहकर्मी जोसेफ शाहीले गर्नुभएको कुराकानीको सम्पादित अंश ।

तपाईँको कार्यकालको आधा अवधि सकिसक्यो भन्दा फरक नपर्ला । यो आधा कार्यकाल बितीसक्दा नगरको समग्रतामा कार्य प्रगतिको अवस्था कस्तोे छ ?

लगभग आधा समय सकियो यथार्थ हो । अब कार्य सम्पन्नताको हिसाबले सानातीना योजनाहरु सम्पन्न भइसकेका छन् । ठुला भौतिक संरचनाहरुलाई निर्माण गर्न केहि समय लाग्छ । सुरुवात भइसकेका कामहरु सम्पन्न हुनका लागि केहि समय पर्खिनु पर्ने हुन्छ । मलाई लाग्छ हामीले जती बाचा गरेका थियौं हाम्रो कार्यकालमा हामीले तीं पुरा गर्छौँ ।

भनेपछि चुनावी एजेन्डालाई नै टेकेर कार्यहरु नगरपालिकाले अगाडि बढाइरहेको छ ?

लगभग लगभग हाम्रो त्यही नै छ । त्यसमा केही थप नी हुनसक्छन् । चुनावी एजेन्डा थिए नी हाम्रा तीं एजेन्डा हाम्रा यथावत रहन्छन् तीं हामीले पुरा गर्नैपर्छ । त्यसबाहेक पनि जनताका थप मागहरु आउँछन् तिनलाई पनि हामीले सम्बोधन गर्नुपर्छ । तीं पनि सम्बोधन गर्दै अघि बढिरहेको अवस्था हो ।

स्थानीय सरकार आईसकेपछि सिंहदरबार घर घरमा पुग्यो भन्ने आभास जनताले गरे की गरेनन् भन्ने पनि मूल्याङ्कनको विषय छ यतिखेर । त्यसमा पनि जनताको आधारभूत आवश्यकता पुरा गर्न स्थानीय सरकारको हैसियतले के–कस्ता पहल गर्नुभएको छ ? विशेषगरि शिक्षाको क्षेत्रबाट सुरु गरौँ जस्तो लाग्यो । सावर्जनिक शिक्षा सुधारका लागि तपाईँ मेयर भएर आएपछि स्थानिय सरकारबाट के–कस्तो पहल भएको छ ?

शिक्षामा एकदमै जटिलता छ । तपाईँले प्रश्न चाँही एकदम सहि ठाउँमा उठाउनुभयो । मैले यो कार्यक्रममार्फत आम नागरिक र मेरै मतदातालाई पनि बताउने अवसर प्राप्त गरेँ । किन भन्नुहुन्छ भने दरबन्दी केन्द्रीय सरकारको हुन्छ । त्यसलाई नीयमन गर्ने दायित्व नगरपालिकाको हुन्छ । समस्या कहाँनीर छ भन्दाखेरि तराईमा बसोबास बढेर गयो । पहाडबाट बसाइँ सरेर मान्छे तराईमा आफ्नो बालबच्चा लिएर जान्छ । केन्द्रीय सरकारले शिक्षाको दरबन्दी कायम नगरेको, शिक्षक आयोग नखोलेको, शिक्षक नथपेको लामो समय भइसक्यो । शिक्षालाई अघि बढाउने भन्ने राज्यको निती छ । विद्यार्थिको चाप बढि छ भने शिक्षकको कमी छ । त्यसले गर्दाखेरि जटिलता छ । जस्तै मेरै पालिकाको कुरा गर्नुपर्दा एक शिक्षक बराबर १७५ विद्यार्थी छ । जब की राज्यको नीति अनुसार १ शिक्षक बराबरर ५० जना विद्यार्थिको अनुपात ठिक हो भन्छ । अनी मात्र शिक्षकले पढाउन बुझाउन सक्ने भन्ने छ । तर हामीमा शिक्षकको कमीले गर्दा कुनै ५ कक्षा सम्मको स्वीकृति भएका स्कुलमा शिक्षक २ वटा मात्रै छ । २ वटा शिक्षकले ५ वटा कक्षा कसरी संचालन गर्ने ? यस्तो समस्या देखिएपछि मैले नगरसभामा आन्तरिक बजेटबाट शिक्षक थपौँ भन्ने प्रस्ताव राखे । बालबच्चा हाम्रो हो विद्यालय हाम्रो हो । राज्यले दिन सकिरहेको अवस्था छैन, हामीले भनेर पनि कुरो खाइरहेको अवस्था छैन, राज्यतर्फ फर्केर हेरिरहँदा खेरि हाम्रो बच्चाबच्ची भविष्य ओझेलमा पर्छ । तसर्थ, हामीले जसरीे भौतिक पूर्वाधार र अन्य विकासहरु गरिरहेका छौँ त्यस्तै शिक्षामा पनि लगानि थप्नुपर्यो भनेर २ करोड रुपैयाँ नगर सभाबाट स्वीकृत गराएँ । अहिले करिब करिब ४७–४८ शिक्षकहरु नगरपालिकाको तर्फबाट भर्ना गरेका छौँ र यसले केहि हदसम्म हामीलाई राहत दिएको छ ।

शिक्षा सँगसँगै तपाइहरुले एकदम रोचक साक्षरता अभियान चलाउनुभएको रहेछ । यो साक्षरता अभियान कसरी सञ्चालन भइरहेको छ । यसबारे जानकारी दिनुन मेयर साहब ?

हामीकहाँ करिब ६,७२७ जना निरक्षर रहेछन् । हाम्रो करिब ७६,००० जना नागरिक छन् त्यतीमध्येका निरक्षरलाई साक्षर गराउने अभियानलाई २ महिना भित्र सक्नुपर्यो, यसको उपाय सोच्नुपर्यो भनेर साथीहरुलाई जानकारी गराएँ । मैले आफैँ के प्रस्ताव ल्याएँ भने कोही नियूक्ति दिएर, भर्ना गरेर, कर्मचारी बनाएर गर्ने हो भने खासै प्रभावकारी हुन सक्दैन, उसलाई रुची रहँदैन । तसर्थ यसो गरौँ भनेर मैले प्रस्ताव लगेँ । ९ कक्षा देखि १२ कक्षासम्म पढेको या फाल्तु भएको जो आफू साक्षर छ, जसले पढाउन सक्छ, जसले इच्छा जाहेर गर्छ त्यस्ता मान्छे खोजौँ । ती भर्सक विद्यार्थी भए रामो हुन्छ । किनभने बुढाखाडालाई लगाए उनीहरुले ध्यान दिँदैनन् । त्यसमध्ये पनि महिला हुन्, किशोरी हुन् । तिनीहरुमा उत्साह इच्छा हुन्छ भनेर मैले प्रस्ताव ल्याएँ । त्यस बापत तिनीहरुलाई चाहिने किताब कापीलगायतका सामाग्री हामीले बिकास गरेको साक्षरता अभियान कोषबाट उपलब्ध गरायौं । उनीहरुलाई एक जना महिला वा एक जना पुरुषलाई साक्षर गराए बापत १५० रुपैँया दिने निर्णय गर्यौं । चाहे उसले एक दिनमा या १५ दिनमा साक्षर गराओस् । यसरी हामीले ३०१ वटा समूह बनाएर उनीहरुलाई तालिम र केहि सामाग्री दिएर पठायौं । उनीहरुलाई एक जनाले २० जना भन्दा बढी पढाउन पाउनुहुन्न भन्यौं । बिच–बिचमा हामीले र बाहिरका मान्छेले पनि अनुगमन गरे । वास्तवमा एक महिना भित्र सबै मान्छे साक्षर भएको प्रमाणित गर्न हामी सफल भयौं ।

यो कुरा त भयो । यो भन्दा बाहेक जस्तो स्थानिय जनताको जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने त्यहाँको भौतिक पूर्वाधारको अवस्थाले पनि हो । भौतिक पूर्वाधार विकासमा चाँही तपाइको ध्यान कतिको गयो यो बीचमा ? के–के पूर्वाधार सम्पन्न भए के –के निर्माणाधीन छन् ?

हाम्रो त झन् तराई हेर्नुस् भौतिक पूर्वाधार भएन भने अरुलाई विकास नै भन्दैनन् । शिक्षामा, स्वास्थ्यमा गरिएको लगानी भन्दा बाटाघाटो निर्माण गरेकोलाई विकास मान्छ हाम्रो मधेशको साथीहरुले । मैले त्यो कुरा बुझेकै हो । हामीकहाँ भौतिक पूर्वाधार धेरै बनेको छ । मलाई लाग्छ यो दुई अढाई वर्षको समयमा शिवराज नगरपालिकामा २ वटा बजेट सञ्चालन गर्दाखेरि ४५ किलोमिटर बाटो कालोपत्रे भयो । त्यसपछि करिब १२ किलोमीटर बाटो हाम्रो आर.सि.सि भयो । अरु करिब सय किलोमिटर भन्दा बाटो हाम्रो ग्राबेल भएका छन् । शिवराज नगरपालिकामा हामी आउँदा जहाँ धुलो उड्थ्यो, हिलो थियो त्यहाँ अहिले धुलो उड्दैन र बाँकी ग्राबेल भएका छन् । अनी जहाँ कलबोर्ड थिएनन् त्यहाँ कलबोर्ड भएका छन् । जहाँ पुल थिएनन् त्यहाँ २ वटा पुर निर्माण सम्पन्न भइसक्यो, ५ वटा झलुङ्गे पुल बन्दैछन्, अरु ३ वटा पुलहरु बनीरहेका छन् । मान्छे खोला वारपार गर्ने अवस्था बनिसकेको छ । अहिले भर्खर २ महिना भयो डेढ डेढ करोडका २ वटा ठुला पुलहरु पनि निर्माण भइरहेका छन् । त्यस्तै अर्को १५ –१६ करोडको पुलको पनि टेन्डर भएको छ । यस्तै कोही काम भए, कोही काम बाँकी छन् । यो निर्माणका काम कहिल्यै सकिँदैन हेर्नुस् एकातीर बनायो अर्कोतर्फ बिग्रन थाल्छ ।

तपाईँको कार्यकाल सकिए पछिसम्म पनि तपाईलाई सम्झन लायक एउटा निकै महत्वकाँक्षी योजना बनाउनु भएको रहेछ । रिङरोड निर्माण कपिलबस्तु नगरपालिकामा । यो रिङरोड निर्माणको प्रकृया के छ मेयर साहब ? महत्वकांक्षी योजना बजेट पनि धेरै नै खर्च हुने होला ।

मैले शिवराज नगरपालिकाको केन्द्रबिन्दुमा आउनका लागि चारैतीरबाट मानिसलाई सहज होस् र एक गाउँबाट अर्को गाउँमा जान पनि मानिसलाई सरल होस् भनेर एउटा चक्रपथ जुन काठमाडौंको वरिपरि छ । त्यस्तै हाम्रो पनि पायक पर्ने खालको अवधारणा निर्माण गरेर त्यसको नापी सर्वेक्षण गरियो । त्यसलाई डि.पि.आर बनाएर काम गर्ने क्रममा चाँही छौँ । त्यसमध्येमा केहि नगरपालिकाले आफ्नो बजेट हालेर बनाइरहेको छ । बाँकीलाइ चाँही शहरी विकास मन्त्रालय अन्तर्गत नेपाल सरकारले चिन सरकारसँग सम्झौता गरेर हामीलाई रकम उपलब्ध गराउने पनि कुरा चलीरहेको छ । त्यो जहाँसम्म लाग्छ हुन्छ । ४७ किलोमिटरको चक्रपथ महत्वकाँक्षी मात्रै नभएर अत्यन्तै ठूलो बजेट २–४ अरबको योजना हो । यो पूरा भयो भने यहाँका हरेक कुना कन्दराका नागरिकहरु सेवा सुविधाबाट बञ्चित हुनुपर्दैन । त्यो आशाले पनि हामीले यो काम आँटेका छौं ।

विशेषगरि गरिबीको रेखामुनि रहेका जनतालाई गरिबी उन्मुलनको लागि पनि तपाईँहरुले कार्यक्रम अगाडि बढाइरहनुभएको रहेछ । “खरको छाना मुक्त अभियान” यसको प्रगति विवरण के छ ?

यस्तो छ । हाम्रो तराइतीर के छ भन्नुहुन्छ भनेनी धेरैजसो कमजोर आयस्रोत भएका मानिसका घरका छाना खरका छन् । खरको छाना हुँदाखेरि गर्मिमा आँधीबेरी आउने बतास आउने अनी धेरै नोक्सान हुने, त्यहाँ रहेका चौपाया र मानवको पनि क्षती हुने । त्यो अवस्था देखेर गत सालनै हामीले करिब ५०–६० लाख खरका छाना मुक्त गर्नका लागि खर्च गर्यौं । अहिले हामीले १ करोड बाइस लाख रकम नगर र प्रदेश सरकारबाट ६८ लाख गरी जम्मा १ करोड नब्बे लाख बिनियोजन गरेका छौं । जुन रकमबाट टीन किनेर जनताको घर खरको छानो मुक्त गराउनमा प्रयोग गर्ने भनेर निर्णय गरेका छौं । अब केही समय पछि हामीले कार्यबिधी बनाएर यसलाई बाढ्छौँ ।

आधारभूत आवश्यकतामा गास, बास र कपास भनिन्छ । बासको लागि तपाइले एउटा प्रयत्न गर्नुभएको छ । गाँसको लागि उहाँहरु स्वरोजगार हुनुभयो भने सहजै गाासको जोहो गर्नसक्नुहुन्छ होला । त्यहीभएर नगरका जनतालाई स्वरोजगार बनाउन तपाइ मेयर भएको हैसियतले केहि कार्यक्रम ल्याउनु भएको छ ?

स्वरोजगारका लागि अब कम्पनि बनाएर मानिसलाई रोजगारी दिन त सक्दैनौँ । तर पनि हामीले नगरपालिकाको तर्फबाट केही पर्यत्नहरु गरका छौं । हाम्रो नगरपालिकामा जती पनि उद्योग धन्दा छन् । तिं उद्योगहरुलाई हामीले के निर्देशन जारी गरेका छौं भने तपाईँ कहाँ के कती श्रमीक लाग्छन् ? तिं श्रमीक कहाँका हुन ? नेपाली या भारतीय हुन् ? त्यसको तथ्याङ्क हामीलाइ दिनुस् । हाम्रो नगरपालिकामा हामीलाई धुलो, धुँवा खुवाउने अनी मान्छे चाँही अन्तबाट ल्याउनु हुन्छ भने हामीले त्यसलाई रोकछेक गर्छौँ । भन्ने खालका कुराहरु हामीले राखेका छौँ र त्यसलाई कडाइका साथ हामीले कार्यान्वयन गर्छौँ । हामीसँग श्रम शक्ति हुँदाहुँदै तपाईँले बाहिरबाट नल्याउनुहोस् भनेर हामीले उद्योगपतिलाई भनेका छौँ । दोस्रो कुरो चाँही तिं नागरिकहरु जो रोजगार गर्न चाहन्छन् तर सीप छैन । त्यस्ता अदक्ष व्यक्तिलाई हामीले तालिम दिन खोजीरहेका छौँ । कोही मोटरसाइकल बनाउने, सीलाईबुनाई, बुट्टा बनाउने, कोही घर बनाउने, काठका काम गर्न चाहानेलाई सिप सिकाइदिन्छौँ । तीमीले सिप सिक त्यसपछि तिमीले दुनिँयामा जहाँपनि रोजगार पाउन सक्छौ । आयस्रोत बढेपछि उनिहरुले जहान परिवारलाई राम्रोसँग पाल्न सक्छन् र सहज ढंगले जिवनयापन गर्न सक्छन् भनेर यस्ता खालका तालिमका लागि हामीले रकम छुट्याएका छौं । त्यो रकमबाट हामी उसलाई दक्ष बनाइदिन्छौं । दक्ष भइसकेपछि नेपालमा मात्र हैन जहाँ गएर पनि कमाउन सक्छन् । त्यो भयो भने हाम्रो एउटा लक्ष्य प्राप्त होला की भन्ने आशा हामीले गरेका छौं ।

भिडियो हेर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *