उपमेयरको एउटा कथा : आँशुले शक्ति दिन्छ

शिव अधिकारी

गहभरी आँशु छचल्किरहेको थियो । तर, झर्न सकेको थिएन । सायद त्यो कुर्सीको गरिमा राखिएको हुनसक्छ । तर, आँशुले कहाँ समय, लिंग र अवस्था हेर्दाेरहेछ र ? जो जतिबेला पनि हासिदिन सक्छ । तर, आँशु निस्कनका लागि भित्र, मुटुभित्र केहि बिझ्नैपर्छ । आखिर त्यस्तो के बिझेछ, रामेछाप नगरपालिकाकी उपमेयर सिर्जना खड्कालाई ।

काठमाडौंमा भर्खरै चिसो भित्रिंदै थियो । तर, मध्य पहाडी जिल्ला रामेछापको पहिलेको सदरमुकाम रहेको रामेछापमा भने चिसो ह्वात्तै बढिसकेको रहेछ । १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको सरगर्मी भने बाँकी नै रहेछ । अभियानको अन्तिम दिन भएकाले उपमेयर सिर्जना खड्का भाषण गर्दै हुनुहुन्थ्यो, ‘अझै पनि महिला भएकैले हिंसा सहनुपरिरहेको छ । हिंसा सहन सक्ने मुटु बनाउने होइन, अब हिंसा अन्त्यका लागि मुख खोल्ने उर्जा दिनुपर्छ । त्यो उर्जा आर्थिक सशक्तिकरणले मात्रै प्राप्त हुन्छ । र त महिलालाई आत्मनिर्भर बनाउन हामीले व्यवसायिक शिप र तालिम दिइरहेका छौं । अब रामेछापले महिला हिंसाका होइन, उद्यमशिलताको समाचार देशभरी दिनुपर्छ ।’

संविधानले न्याय सम्पादनको समेत जिम्मा लगाएको उपमेयरको पदमा अधिकांश महिला जनप्रतिनिधि हुनुहुन्छ । संविधानले महिला र पुरुष बराबरी हुन् भन्ने भावका साथ अधिकार दिएपनि यसलाई समाजले स्वीकार्ने अवस्था नबनेको उपमेयर खड्काको अनुभव छ ।
उपमेयर खड्का भन्नुहुन्छ, ‘पहिलेको स्थानीय निकाय र अहिलेको तहमा उपमेयरको भूमिका नितान्त फरक छ, तर अझै स्वीकार्ने अवस्था नबनेकोमा दुःख लाग्छ ।’

नगरपालिकाका मेयर र उपमेयरबीचको विवाद अदालतसम्मै पुगेका थुप्रै दृष्टान्त छन् । कतै तपाईको पनि मेयरज्यूप्रति त गुनासो छैन भन्ने प्रश्नमा उपमेयर खड्का भन्नुहुन्छ, ‘पाँच बर्षका लागि हामी दुवै जना एउटै डुं्ङ्गामा छौं । अगुल्टो नठोसी आगो बल्दैन । छलफल हुन्छ । वैचारिक परामर्श हुन्छ । तर, यसलाई सकारात्मक रुपमा लिनुपर्छ । यसबाट अगाडि बढ्न प्रेरणा मिल्छ । तर अन्य पालिकाजस्तो हाम्रोमा विवाद छैन ।’

मेयर र उपमेयर फरक पार्टीबाट प्रतिनिधित्व गरेका नगरपालिकामा पनि विवाद छ । एउटै पार्टीभित्रकाबीच पनि विवाद छ र पुरुष पुरुष भएका नगरपालिकामा पनि उत्तिकै विवाद छ । रामेछापमा विवाद नभएको कारणबारे उपमेयर खड्काले भन्नुभयो, ‘हामी दुवै जना आर्थिक रुपमा कुनै स्वार्थ राख्दैनौं । विवाद जन्मिनुको प्रमुख कारण पनि यहि हो । र, मेयरज्यू असाध्यै संवेदनशिल हुनुहुन्छ । प्रत्येक विषयमा हामी छलफल गर्छाैं । विकासका आवश्यकता कहाँ र कति भन्ने विषयमा हाम्रा मत नमिल्दा एकले अर्काेलाई बुझाउने प्रयास गर्छाैं । आजसम्म विवाद भएको त्यस्तो कुनै दिन नै छैन । हामी मात्र होइन, वडालाई पनि पारदर्शी बनाउन प्रयत्न गरिरहन्छौं । विकास भनेको जनताले अपनत्व गर्न सक्नुपर्छ । बनाउने नगरले हो, तर त्यसको संरक्षण र उपयोग गर्ने नगरवासीले त हो नि ।’

आफ्नो कार्यकाल आधा सकिंदै गर्दा अत्यास लागेको त छैन ? भन्ने प्रश्नको जवाफ दिनु अघि लामो श्वास तान्दै उपमेयर खड्का भन्नुहुन्छ, ‘सबैले चुनौति भन्लान् तर मेरा लागि अवसर हो । एक महिनाभित्रै सवै वडा कार्यालयलाई व्यवस्थित गर्दै जनताले अपेक्षा गरेको सेवा वडाबाटै सम्पादन हुनसक्ने अवस्था निर्माण गर्यौं । यसपछि नगरको ५ बर्षे रणनीतिक योजना तयार गरी यसैका आधारमा योजना र कार्यक्रम तय गर्यौं ।’

निर्वाचन लगत्तै नगरपालिकाले जनता मात्र होइन, जनप्रतिनिधि आफैं विभिन्न कानूनी प्रावधानबारे अनभिज्ञ रहेको निष्कर्ष निकाल्दै कार्यसम्पादनलाई व्यवस्थित गर्न प्रक्रियागत प्रावधान र कानूनी सचेतनाका लागि अभिमुखिकरण कार्यक्रम गर्यो ।

जनप्रतिनिधिको ध्यान देखिने विकासमा गइरहेको अवस्थामा रामेछापकी उपमेयर खड्काको अनुभव भने बेग्लै छ । विगतमा महिला, बालबालिका तथा लक्षित वर्गका बजेट पनि भौतिक पूर्वाधारमै खर्च गरिंदा जनताको चेतनास्तर बढ्न नसकेको बुझाई छ, उमेयर खड्काको । त्यसैले पनि अहिलेको लक्षित वर्गको बजेट उनीहरुले नै प्रत्यक्ष फाईदा पुग्ने खालको योजनामा खर्च होस् भन्ने हेतुले वडा तहमै वजेट पठाइएको छ । तर, त्यसप्रति वडा जनप्रतिनिधिको संवेदनशिलता कमी भएको हो की भन्ने उपमेयर खड्काको बुझाई छ । उहाँ भन्नुहुन्छ, ‘बजेटवाईज अनुगमनलाई तिव्रता दिएको छु ।’
….
उपमेयर खड्कालाई सुरुमै महिलाको प्रजनन् स्वास्थ्यबारे चिन्ता लाग्यो । त्यसैले उहाँले घरेलु प्याड बनाउने तालिमको व्यवस्था गर्नुभयो । योसँगै महिलालाई आत्मनिर्भर बनाउने बाटोको खोजी गर्दै सिलाई कटाई, व्यूटी पार्लर, कम्प्युटर, ढाका बुनाई लगायतका तालिम प्रदान गर्नुभयो । त्यसैगरी कृषिमा आश्रित महिलाहरुका लागि बेमौशमी तरकारी खेति, अदुवा, लसुन, बेसार जस्ता उत्पादनमा प्रेरित गर्नुभयो । गेडागुडी र जुनारको पकेट क्षेत्र समेत मानिएको रामेछापमा महिला अग्रसरता विना यो सम्भव नहुने भन्दै महिलालाई पुँजी, शिप, तालिम लगायतका व्यवस्थापन गर्न उपमेयर खड्का निरन्तर लागिरहनुभएको छ ।

हरेक पुरुषको सफलताको पछाडि एउटी नारीको ठूलो योगदान रहेको हुन्छ भनेर पढ्दै आएकाहरुलाई उपमेयर खड्काको जिवनले नयाँ सन्देश दिएको छ । यदि असल पुरुषको सहयोग रहने हो भने एउटी महिला पनि निडरताका साथ काम गर्न र महत्वपूर्ण सफलता हात पार्न सक्छिन् ।
उपमेयर खड्का स्थानीय चुनाव लड्ने मुडमा थिईनन् । यदि श्रीमान्ले हौसला नदिएको भए आज एउटा सन्तानको आमाको मात्रै परिचय हुन्थ्यो । यसलाई स्वीकार्दै उपमेयर खड्का भन्नुहुन्छ, ‘म गर्भवती थिएँ, मैले चुनावमा जानका लागि टिकट लिन्न भनें तर श्रीमानले प्रेसर गर्नुभयो, दुई जिउ भएर के हुन्छ, सक्नुहुन्छ भनेर हौसला प्रदान गर्नुभयो । जितिसकेपछि विभिन्न कार्यक्रममा जान नसकिरहँदा पनि जानुपर्छ भनेर हौसला दिनुभयो । श्रीमान्ले आफ्ना सारा खुशी त्यागेर घरमा बच्चा हेरिदिएकै कारण म निस्फिक्री काम गर्न सकिरहेको छु ।’

उपमेयरको भूमिकामा कुनै कमि हुन नदिएकी उपमेयर खड्काले सुन्ने गरेको एउटा वाक्यले भने मुटुमै घोचिरहन्छ । उहाँ भन्नुहुन्छ, ‘कसैले उपमेयर जिताएको बच्चा जन्माउन हो र ? भन्ने सुन्दा दुःख लाग्छ । मैले मेरो भूमिकामा कमी हुन दिएकी छैन । जनताको विश्वास, श्रीमान् र मेयर साबको सहयोगले म झन् उत्साहित हुन्छु ।’

गहभरी आँशु पार्दै उपमेयर खड्काले भन्नुभयो, ‘पदमा रहेको अवस्थामा गर्भवती हुन पाईंदैन र ? बच्चा जन्माउन पाईंदैन र ? बच्चा जन्माउँदैमा भूमिका कमजोर हुन्छ र ?’ उपमेयरको यस्तो प्रश्न सुनिरहने म आफैं पुरुष भएकाले महिलामाथी यस्ता प्रश्न गर्न बाध्य बनाउने ति पुरुषहरुदेखि घुणा जागेर आयो ।

स्थानीय सरकार सञ्चालन ऐन अनुसार उपमेयर अनुगमन समितिको संयोजक रहने व्यवस्था छ । जतिबेला उपमेयर खड्का गर्भवती हुनुहुन्थ्यो, त्यतिबेला अनुगमनको चटारो पनि उत्तिकै थियो । गाडि थिएन । मोटरसाईकल लिएरै अनुगमनमा पुग्नुभयो । अनुगमनबाट फर्किने बित्तिकै अप्ठ्यारो महसुस भएर काठमाडौं पुग्नुभयो । अवस्था निकै नाजुक बनिसकेको रहेछ । निकै सकसकाबीच सन्तान जन्मियो । उपमेयर खड्का गुनासो गर्दै भन्नुहुन्छ, ‘थाहा नहुनेले त सोध्ने कुरा भएन । तर, यो असहज अवस्था बुझेका सहकर्मी जनप्रतिनिधिले १५ दिनसम्म अस्पताल बस्दा पनि कस्तो छ ? भनेर नसोध्दा निकै चित्त दुख्दोरहेछ ।’

गहभरी आँशु पारेर उपमेयर खड्काले भन्नुभयो, ‘मेयर साबले घ्यू पठाईदिनुभयो । तर, कस्तो छ भनेर सोधिदिएको भए मेरा लागि घ्यूले भन्दा पनि त्यो चासोले कयौं गुणा खुशी दिन्थ्यो ।’
उपमेयर खड्काको अर्काे विषयमा पनि चित्त दुखेको रहेछ । बझाङमा विवाह भए पनि उहाँले माईती रामेछापबाटै उम्मेदवारी दिनुभयो । तर, समाजले सहजै स्वीकार्न गाह्रो मान्यो । उपमेयर खड्काले उल्टै प्रश्न गर्नुभयो, ‘दुई दशक बढी विताएको माईती विवाह गर्ने वित्तिकै पराई हुन्छ र ? किन यस्तो हुन्छ सर ?’

महिला भएकैले आफुले भोगेका यि अनेक समस्या अब अन्य महिलाले भोग्नु नपर्ने अवस्था बनाउने प्रतिज्ञा छ, उपमेयर खड्काको ।

उहाँ भन्नुहुन्छ, ‘नागरिकले तिरेको करबाटै आएको बजेटलाई हामी आवश्यकता अनुसार सहि ठाउँमा मात्रै प्रयोग गर्छाैं । यसलाई नगरपालिकाको भन्दा पनि मेरै विकास हो भनेर समुदायले अपनत्व ग्रहण गर्नुपर्छ । हामीसँगै मिलेर विकास गर्ने हो । हामीप्रतिको गुनासो पनि खुलेर राखिदिनुपर्याे ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *