प्रधानमन्त्रीले दिने भनेको पुरस्कारको प्रतिक्षामा पाख्रिबास, मेयर भन्नुहुन्छ, ‘मेरो दोहोर्याएर भन्ने बानी छैन’ (भिडियो सहित)

‘मेरो दोहोर्याएर भन्ने बानी छैन । बिर्सिनु त नपर्ने हो, प्रधानमन्त्रीज्यूले । खै दिनुहोला नि पुरस्कार ।’

बृष बहादुर राई, मेयर, पार्खिबास नगरपालिका, धनकुटा

शिव अधिकारी /भिडियो : प्रसन्न ढुंगाना

प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको तत्कालिन नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा ५२ वटै सिट जितेर ‘ऐतिहासिक रेकर्ड’ बनाएको धनकुटाको पाख्रिबास नगरपालिकालाई पुरस्कृत नगरेकोप्रति नगरवासी गुनासो गर्छन् ।
‘एउटै पार्टीले सबै सिट जित्ने नेपालकै एक मात्र नगरपालिका पार्खिबास भएपनि एमालेकै मुख्यमन्त्री र प्रधानमन्त्री हुँदा पनि केहि हुन सकेन’ स्थानीयले दुखेसो पोखे ।

निर्वाचित भए लगत्तै काठमाडौं गएर प्रधानमन्त्रीलाई भेटेका पार्खिबास नगरपालिकाका मेयर वृष बहादुर राईले त्यतिबेला आफुहरुले जित हासिल गरेको खबर सुनाउँदा प्रधानमन्त्रीले पुरस्कार दिने वचन दिनुभएको थियो ।

मेयर राई भन्नुहुन्छ, ‘मेरो दोहोर्याएर भन्ने बानी छैन । बिर्सिनु त नपर्ने हो, प्रधानमन्त्रीज्यूले । खै दिनुहोला नि पुरस्कार ।’
नगरवासी र मेयरले अपेक्षा गरेको पुरस्कार नगद वा जिन्सि होइन । पुरस्कारस्वरुप एउटा ठूलो योजना संघीय सरकारले देओस् भन्ने अपेक्षा छ, पाख्रिबासको ।

मुख्यमन्त्रीले पनि एउटा बृहत् योजना पठाउने आश्वासन दिएको सम्झनुहुन्छ, मेयर राई । सँधै आशावादी हुनुपर्ने भन्दै मेयर राई भन्नुहुन्छ, ‘मेयर कपको उद्घाटनमा आउँछु भनेर मुख्यमन्त्रीज्यूले भन्नुभएको छ । त्यतिबेला आउनुहोला । अनि एकपटक बरु सम्झाउँछु ।’

मेयर राईले निर्वाचनमा जाँदा आफुले जनतालाई धेरै सपना नबाँडेको बताउनुहुन्छ । उहाँले जम्मा तीन वटा मात्रै प्रतिबद्धता गर्नुभएको थियो । पहिलो सडक, त्यो पनि पिच नभई बाह्रै महिना गाडि चल्ने खालको, खानेपानीका काकाकुल बनेका जनतालाई पानी खुवाउने, दोश्रोमा शैक्षिक गुणस्तर वृद्धि गर्ने र तेस्रोमा अस्थायी वा काठको बिजुली पोल हटाएर स्थायी पोल गाड्ने बाहेक अरु सपना थिएनन् । यि तिनवटै प्रतिबद्धता गएको आधा समयमा करिब करिब सम्पन्न हुनलागेको मेयर राई बताउनुहुन्छ ।

निर्वाचित जनप्रतिनिधिसँग जनताको अपेक्षा धेरै छ । अझ राजनीतिक रुपले हेर्ने हो भने, पाख्रिबास नगरपालिकाले प्रदेश र केन्द्र सरकारसँग अपेक्षा गर्ने ठाउँ पनि छ । मेयर राई भन्नुहुन्छ, ‘प्रधानमन्त्रीज्यूको पुरस्कार आयो है भनेर यो कार्यकालमा भन्न सकेनौं भने जनताले हामीलाई के भन्लान् खै ? तिन तहकै सरकार यहि पार्टीको भएका बेलामा खै के भयो त ? भनेर प्रश्न गरे भने अर्काे चुनावमा हामी जनतालाई के भन्ने ? यो विषय सोचेर कहिले काँही गम्भिर पनि हुन्छु ।’
प्रधानमन्त्रीज्यूलाई फेरि सम्झाउनुस् न त भनेर जनता र जनप्रतिनिधिले भने पनि मेयर राईको पुरानै जवाफ आउँदोरहेछ, ‘दोहोर्याएर भन्ने बानी छैन ।’

भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *