श्यामस्वेत अनुहारमा रंग भर्दै रंगेलीका मेयर अग्रवाल (भिडियो सहित)

शिव अधिकारी

शनिवारको दिन थियो । प्रदेश नं. १ को मोरङ जिल्लाको रंगेली नगरपालिकाका मेयर दिलिप कुमार अग्रवालसँग भेट्नका लागि समय माग्यौं । उनले १ बजेको समय दिएका थिए । बाटोमा मेयरका स्वकीय सचिव करण ठाकुर हामीलाई कुरेर बसेका रहेछन् । हामी पुग्ने बित्तिकै उनले एउटा शहकारीको बार्षिकोत्सव कार्यक्रम भइरहेको स्थलमा लिएर गए ।

हामी पुग्दा मेयर भाषण गर्दै थिए, ‘तपाईं आयोजक समयको ख्याल राख्नुस्, १० बजे भनेर १२ बजे कार्यक्रम सुरु गर्ने संस्कारबाट मुक्त हुनुस् ।’ समयको महत्व राम्रैसंग बुझेका रहेछन् मेयरले भन्ने ठान्यौं ।

शहकारीको सक्रियताले नगरभित्रका गरिबहरुले साहु महाजनसँग हात थाप्नुपर्ने अवस्थालाई न्यूनिकरण गरेको प्रती लक्षित गर्दै मेयर अग्रवालले भन्दै थिए, ‘म नगरभरीका सबै सहकारीको बैठक राख्छु, तपाईंहरुले प्रतिबद्धता गर्नुपर्छ कि साहु महाजनको ढोकामा गरिब जनताले हात थाप्ने दिनको अन्त्य गर्छु भनेर । नगरपालिका पनि तपाईंहरुलाई यो कार्यमा सहयोग गर्न तयार छ ।’

मेयर आफ्नो भाषण सकेर तुरुन्तै हामीलाई भेट्न आइहाले । झुस्स सेतो दारी, निधारमा रातो लाम्चो टिका लगाएका बेफुर्सदी जस्ता देखिने मेयर अग्रवाल हाम्रो अगाडि ठ्याक्कै १ बजे उभिएका थिए । भाषण र व्यवहारमा फरक पाएनौं ।

मेयरसँगको एकैछिनको भेटपछि हामी मेयरसँग त विदा भयौं । तर, रंगेलीबाट बिदा हुन मन लागेन । नगरवासीसँग भेट्ने र केही गाउँ डुल्ने निधो गर्यौं । सायद हतार थियो होला, मेयर पनि अन्यत्रै लागिहाले ।

रंगेली नगरको मुख्य बजार तहसनहस थियो । बर्षाैंदेखि हुलाकी मार्ग रंगेली बजार पस्न पाएको रहेनछ । मेयर अग्रवालकै सक्रियतामा सडक मापदण्ड विपरीत परेका घरहरु भर्खरै भत्काईसकिएको रहेछ । सडक छेउछाउका घर सडकमै लडिरहेका थिए । लडेको आफ्नो घर अगाडि भेटिएका जगन्नाथ प्रसाद शाह विरक्तिएका होलान् भनेर प्रश्न गरें, तर उनी निकै खुशीसाथ भन्दै थिए, ‘बजारमा अब मेरो केही बाँकी रहेन, सर्बस्व गुम्यो ।’ सबै गुमेर पनि खुशी किन भएका होलान् भन्ने आश्चर्यबोध भइरहेका बेला फेरि शाहले थपे, ‘अब रंगेली विकास हुने भो । राजमार्ग बन्ने भो ।’

मेयरको अभियानमा आफ्नो सर्वस्व गुमाएर पनि जगन्नाथ प्रसाद शाहले साथ दिनुको पछाडिका कारण अनुत्तरित नै थिए । अर्का स्थानीय विश्वेश्वरप्रसाद मण्डल भेटिए ।

मण्डलले आफ्नो घरमा भएको टर्च लाईट ६ महिना अघि नै फ्याकिदिएछन् । मेयरले सडक, चोक र गल्लि गल्लिमा सडक बत्तिको व्यवस्था गरिदिएपछि मण्डलले टर्चलाईट फ्याकेका हुन् । उनी भन्छन्, ‘सब चकाचक छ, सडक बत्तिले सजिलो मात्र छैन, सुरक्षित भएको महसुस पनि हुन्छ ।’

एकदिन मेयरले वडा कार्यालयबाहिर साँझपख थुपै मानिस हातमा मोबाईल लिएर उभिरहेको देखे । वडा कार्यालयको ‘फ्रि वाईफाई’ को माध्यमबाट विदेशमा रहेका श्रीमान्सँग भिडियो च्याट गरिरहेका थिए, स्थानीय महिलाहरु । यति मात्र होइन, एकदिन त वाईफाई नचल्दा ४ नंं वडा कार्यालयको झ्याल नै फुटाएर स्थानीयले वाईफाई चलाएको घट्ना पनि रहेछ । यस्तो अवस्था महसुस गरेका मेयर अग्रवालले तत्कालै नगरलाई ‘वाईफाई फ्रि जोन’ बनाउने निधो गरे । नगरमा यसका लागि बजेट नभए पनि उनले आफुले खाईपाईआएको मासिक भत्ता विगत २ बर्षदेखि बैंकमा जम्मा गरेका रहेछन् । लागत स्टिमेट गर्दा सो रकमले जडान खर्च पुग्ने देखिएपछि मेयरले काम सुरु गरिसकेका रहेछन् । उसो भए मासिक शुल्क कसरी तिर्ने त ? भन्ने प्रश्नमा मेयर अग्रवाल भन्दै थिए, ‘मासिक शुल्क तिर्ने कुनै चिन्ता छैन, मैले पाउने भत्ता जति हुन्छ त्यति नै दिने गरी १० बर्षका लागि इन्टरनेट प्रदायक संस्थासँग सम्झौता गरिसकेको छु ।’

रंगेली बजार क्षेत्रबाट थोरै पर पुगेपछि एकजना बृद्धा भेटिईन् । निधारमा नेपाली कांग्रेसको चुनाव चिन्ह अंकित टिका लगाएकी बृद्धा मेयरलाई बाटोमै भेटेर सुझाव दिंदै रहिछिन् । तत्कालिन माओवादीबाट चुनाव लडेका मेयर अग्रवालको बारेमा सोध्दा उनको जवाफ थियो, ‘मेयर देउता हुन् । मेरा र हामी सबैका देउता हुन् । मेयरले धेरै काम गरेका छन् । त्यसैले मनपर्छ मेयर ।’

त्यसै मेयर अग्रवाल नगरवासीको मन, मुटुमा बसेका छैनन्, उनी बाटोमै भक्का खाईदिन्छन् । जनताको करबाट आएको बजेटको उच्चतम सदुपयोग गर्न सिपालु मेयर मितव्यी पनि छन् । उनी सँधै आफ्नै घरबाट ल्याएको खाना खान्छन् । उनी भन्छन्, ‘नगरपालिकामै खाना खायो भने मसँगै थुप्रै हुन्छन् खाना खाने । नगरको धेरै खर्च किन गराउने । बरु, आफ्नै घरबाट मगाएर खान्छु ।’

मेयर अग्रवालको काम गर्ने कुनै निश्चित समय छैन । कहिले विहान ६ बजे नै इन्जिनियरलाई बोलाएर फिल्ड पुग्छन् । आफैं फित्ता समेत बोकेर जान्छन् । कहिले राती १० बजेसम्म कार्यालयकै काममा हुन्छन् । मेयरका स्वकीय सचिव करण ठाकुर भन्छन्, ‘मेयरज्यू, हामी युवा भन्दा बढि उर्जावान् हुनुहुन्छ, उहाँको स्पिडमा हामी हिंड्न सक्दैनौं, तर प्रयास गर्दैछौं ।’

मेयर अग्रवाललाई यस्तो उर्जा कहाँबाट आउँदोरहेछ खै । उनी भन्दै थिए, ‘उर्जा जन्मैदेखि आउँछ । सकरात्क सोचले उर्जा ल्याउँछ । मैले गर्नैपर्छ भनेर गरिने अठोटले नै उर्जा जन्माउँछ ।’

मेयर अग्रवाललाई नगरवासीले देउता मान्छन् । तर, उनी देउता होइनन् । उनले जे गरे, त्यो एउटा मेयरले गर्ने काम मात्र गरेका हुन् । यस्तै मेयरको खोजी मेयर खबरले गरिरहनेछ ।

भिडियो हेर्नुस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *