महिला नेतृत्वमा प्रश्न कहिले सम्म ?

ऋचा उप्रेती
पितृसतात्मक सोचले जकडिएको हाम्रो जस्तो मुलुकमा महिलाहरु उच्च ओहोदामा पुग्नुमा संविधानले ठूलो भूमिका खेलेको छ । पदका हिसाबले महिलाहरु नेतृत्वतहमा पुगेपनि हाम्रो सामाजिक सोचले भने महिला नेतृत्व सहज स्वीकार गर्नसक्ने अवस्था अझै पनि बन्न सकेको छैन ।

महिला पाईलट, महिला ड्राइभर, महिला डाक्टर र महिला शिक्षककै विषयमा कुरा गर्नुपर्दा पनि एक पुरुषको कार्य क्षमतामा जती आम व्यक्तिले सहजै विश्वास गर्छन् त्यती महिलालाई विश्वास नगरेको प्रशस्तै उदाहरणहरु देख्न र सुन्न पाइन्छ । उनीहरुको कार्य सम्पादन हेरेर भन्दा पनि हतारमै सस्तो अड्कलबाजी गरेर उनिहरुको क्षमतामा प्रश्नचिन्ह उठाइरहने ठूलो जमात छ ।

पदको र कार्यक्षमताको उचीत मुल्याङ्कन पाइहालेको खण्डमा पनि महिलाहरु आफ्नै परिवारमा आफ्ना निम्ती भने आवाज उठाउन सकिरहेका छैनन् । सरकारी तवरबाटै छाउपडि गोठहरु भत्काउनका लागि यति धेरै पहल भइरहँदा छाउपडि विरुद्धको लडाइँमा जीत प्राप्त गर्न वडाध्यक्ष र उपमेयरले आफ्नै परिवारको साथ पाउन सकेनन् । यी बाहेक पनि थुप्रै जनप्रतिनिधी छन् जसलाई आफू महिला हुनुमा गुनासो नभएपनि महिला भएकै कारण अरु व्यक्तिले गर्ने फरक व्यवहारले भने अचम्मीत तुल्याउने गरेको छ ।

केहि समय अघि मेयर खबरसँगको संवादमा उपमेयर माया कार्कीले भन्नुभयो, ‘मन्थली नगरपालिकामा पनि महिलाको सुनुवाई हुँदैन भन्ने गुनासो नभएको हैन । निर्णय गर्ने सवालमा कुनै–कुनै वडाध्यक्षले त सोध्नुहुन्छ । कसैले आउनुहोस् सहि गर्दिनुस् भन्ने खालको व्यवहार पनि देखिएको छ । यो पुरुषप्रधान देशमा जतीसुकै हामीले गरेका छौँ, भएको छ भन्दापनि पुरातनवादी सोच र व्यवहार भोग्नु परिरहेकै छ । यदि यो संविधानले लिङ्गको आधारमा महिला प्रमुख भए पुरुष उपप्रमुख र पुरुष प्रमुख भए महिला उपप्रमुख र प्रत्येक वडामा २ जना महिलाहरु भनेर नल्याएको भए अहिले हाम्रा स्थानिय तहमा ४० प्रतिशत महिलाको प्रतिनिधित्व सम्भव नै थिएन ।’

उपमेयर कार्कीको गुनासो यतीमा मात्र सिमीत थिएन । नगरपालिकाभित्र मेयर र उपमेयरको सैवैधानिक जिम्मेवारी स्पष्ट हुँदाहुँदै पनि फरक व्यवहार हुने गरेकोप्रति असन्तुष्टी व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘मेयर साहब पछिको म र म पछिको प्रमुख प्रशासकिय अधिकृत हुँदा खेरि पनि महिलाहरु त्यती बुझ्दैनन्, जान्दैनन् भनेर प्रमुख प्रशासकिय अधिकृतहरुले उहाँ मेयर साहबसँग सोध्नुपर्छ भन्नुहुन्छ । तर केहि कुरा त म सँग बसेर सल्लाह गरेर पनि लिनुपर्ने हुन्छ नि । अहिले आएको निमित्त प्रमुख प्रशासकिय हुनुहुन्छ उहाँले त्यस्तो गर्नुभएको छैन । यहाँ भन्दा अघि आउने प्रमुख प्रशासकियले मेयरसँग ढोका थुनेर भित्र उहाँहरुको गोप्य गफ चलाएर बाहिर निस्कने मैले थाहा नपाउने पनि हुन्थ्यो ।’

यस्तै अर्को उदाहरणमा जिरी नगरपालिकाकी उपमेयर कृष्णमाया बुढाथोकी(खड्का) को गुनासो भने आफ्नो भन्दा पनि महिला सहाभागीताका सन्दर्भमा देखियो । नगरपालिकाले छुट्याएका कार्यक्रममा महिला सहभागिता नहुँदा भने उहाँको मन खिन्न भएको रहेछ । महिलाकै लागि भनेर बजेट विनियोजन हुँदापनि उहाँहरु आफ्नो हक र अधिकारका लागि कार्यक्रमको प्रस्ताव लिएर नगरपालिका आउन नसक्नुले महिलाहरुले सहभागीता जनाउन रुचि नदेखाएका हुन् या घरपरिवारबाटै बन्देज गरियो ? यो प्रश्नले उपमेयर बुढाथोकी(खड्का)लाई पिरोलीरहेको छ ।

डढेलधुराको अमरगढि नगरपालिकाकी उपमेयर संगीता भण्डारीको भोगाई पनि उस्तै छ । उहाँले भन्नुभयो, ‘महिला नेतृत्व सहजै स्वीकार्न सकेको अवस्था छैन । यसले गर्दा काम गर्न असहजता सँगै समाजबाट पनि त्यो किसिमको हौसला प्राप्त नहुँदा भने दुख लाग्ने रहेछ ।’

शिक्षा, क्षमता र पदिय पहुँचको अग्रपंक्तिमा गनीएका महिलाको स्थिति नै यस्तो छ भने आम सर्वसाधारण महिलाको अवस्था हामी सजिलै अनुमान गर्नसक्छौँ । फेरीपनि समाजलाई गलत के थियो र सहि के हो भन्ने यथार्थको अनुमती गराउने जिम्मेवारी उपमेयरकै हो । किनकी महिलाको आवाज संस्थागत गर्नकै लागी संविधानले महिला नेतृत्वमा पुग्ने सहज बाटोको व्यवस्था गरिदिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *