सबैको विश्वास जितेका प्रमुख प्रशासकीय अधिकृत लाम्गादे भन्नुहुन्छ, ‘कानूनभन्दा माथी नबोल्ने र नगर्ने भएकैले टिकेको हुँ’ (भिडियो सहित)

प्रदेश नं. २ का अधिकांश स्थानीय तह अधिकृतले चलाईरहेका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव रहने भएपनि तराईमा उनीहरुको आकर्षण नै छ्रैन । यदि उपसचिव गईहाले पनि ६ महिना पनि टिक्दैनन् । यस्तो अवस्थामा महोत्तरीको भंगाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लाम्गादे भने डेढ बर्ष निरन्तर काम मात्र गरिरहेका छ्रैनन्, जनता र जनप्रतिनिधिको पनि मन जित्न सफल भएका छन् । उनै लाम्गादेसँग शिव अधिकारीले गर्नुभएको कुराकानीको सम्पादित अंश प्रस्तुत गरिएको छ ।

प्रदेश २ को भंगाहा नगरको प्रमुख प्रशासकीय अधिकृतका रुपमा विगत डेढ वर्षदेखि निरन्तर काम गरिरहनुभएको छ । तर, हत्तपत्त प्रशासकीय प्रमुखहरु यता आउन मान्नुहुन्न । तपाइ भने कसरी टिक्नुभयो ?

स्थानीय तह अझ तराईमा जनप्रतिनिधिसँग काम गर्नु निकै चुनौतीपूर्ण छ । टिक्नुको २ वटा कारण छन्, एउटा कर्मचारीको मनोवृत्ति कार्यशैली बुझ्न सकें र अर्काे जनप्रतिनिधिसँको सम्बन्ध बुझ्न सकें । स्थानीयतहमा करिब एक दशकदेखि कार्यरत रहेकाले मसँग स्थानीय तहको लामो अनुभव छ । त्यसैले मलाई विकाससँग सम्बन्धतीत अड्डाहरुको कामको अनुभव छ । यो अनुभवले पनि मलाई धेरै सहजता दिलायो । यस नगरपालिकामा मेयर साहबको पार्टीको स्पष्ट बहुमत छ । उहाँ एकदम अग्रसर भएर कार्य गर्नुहुन्छ । उहाँमा युवा जोश र जाँगर छ । त्यसैले आँटेको काम गर्न सहज छ । यदि तपाईंले यहाँको सर्वेक्षण नै गर्नुभयो भने पनि जनताको अभिमत राम्रै पाउनुहुनेछ । कर्मचारीको अभाव भएपनि त्यो अभाव जनतालाई महसुस हुन दिएका छैनौं ।

तराईमा फर्जि काम धेरै हुन्छ भनेर आरोप आउने गरेको छ । यस्तो अवस्था झेल्नुभएको छ ? यसले त्रास फैलिएको छ नि प्रशासकमा । भंगाहाको हकमा चाहिं कस्तो छ ?

म आएको डेढ वर्ष भयो । कामै नगरी काम भयो भनेर आउने त्यो हिम्मत चाँही यहाँ देखेको छैन । म आफै पनि भ्याएसम्म योजनाहरु हेर्न जान्छु । वडास्तरिय अनुगमन समिति छ । अनुगमन समितिको सिफारिसमा मात्र हामी भुक्तानी गर्छौँ । नगरपालिकास्तरमा अर्को अनुगमन समिति छ । त्यो भन्दा माथि नगरप्रमुखको पनि योजनामा भूमिका अल्ली बलियो होस् भनेर आयोजना अनुसार फरक –फरक समिति बनाइन्छ । त्यसो हुँदा हामीकहाँ काम नहुने र गुणस्तरहीन हुने सम्भावना एकदम न्यून हुन्छ । विकासे संस्थामा समय बसेका २ जना प्राविधिकहरु हुनुहुन्छ । त्यसो हुँदा अन्यत्र भएजस्तो घटना भंगाहामा गर्ने हिम्म्मत कसैमा हुँदैन ।

योजनाप्रति स्थानीयको चासो र लागत सहभागिता कस्तो हुन्छ ? किनकी विकासे योजनामा उत्ति अपनत्व हुँदैन भन्ने सुनिन्छ नि ?

तराईमा यो समस्या छ । महोत्तरी भनेको धेरै दलितहरु रहेको जिल्ला पनि हो । त्यसले गर्दा हामीले ठोस प्रकृतिको काममा ५ प्रतिशत मात्रै लागत सहभागिता र अरु प्रकृत्तिको काममा जनतालाई श्रमदान मार्फत् जोड्ने गरेका छौं । त्यसमा १० प्रतिशत लागत सहभागिता गरेर हामीले काम गरिराखेका छौँ । हामी सफल पनि भइरहेका छौं । उहाँहरु आफै ढुंगा बोक्ने, गिट्टी बोक्ने, बालुवा बोक्ने ओसार्ने, ढुवानी गर्ने गर्नुहुन्छ ।

संघीय शिक्षा मन्त्री र अन्य केन्द्रिय नेताको क्षेत्र पनि भएकाले कत्तिको प्रेसर आउँछ ?

तुलनात्मक रुपमा त्यस्तो ठूलो दबाब आएको मलाई महसुस छैन । एक–दुईवटा मुद्धामा आयो । हिजो जनप्रतिनिधि नहुँदा हामीले निर्णय गर्नुपर्ने हुन्थ्यो । अहिले जनप्रतिनिधि आए, जनप्रतिनिधिको भूमिका हुन्छ । जनप्रतिनिधिहरुलाई भन्नुस कुनै मुद्धा आयो भने मेयर साहबलाई भन्नुस् हजुर मेयर साहबको निर्देशना पालना गर्ने मेरो कर्तव्य हो भन्छु । उहाँहरुको निर्देशन भन्दा बाहिर गएर काम गर्न हामी सक्दैनौँ । त्यो हुँदा मलाई चाँही त्यस्तो दबाब छैन । मेयरज्यको एकदम सकारात्मक सहयोग छ ।

तराईमा टिक्न प्रमुख प्रशासकीयले मुड कस्तो लिएर आउनुपर्छ ?

पहिलो त म अल्ली पढेको, जानेको भन्ने घमण्ड काठमाडौंमै छोडेर आउनुपर्छ । हिजोको कर्मचारीतन्त्रको सोचले हुँदैन । हामीले जनप्रतिनिधिको दायित्व, अधिकार, जिम्मेवारीलाई हेरेर उहाँहरुको निर्देशनलाई स्वीकार्नुपर्छ । समय अनुसार हामी पनि परिवर्तन हुनुपर्छ । अहिले प्रत्येक जनताले आफ्नो अधिकार खोज्छन् । सचेत छन्, नागरिक । हामीले सेवाभाव राख्ने हो । असल नियतले काम गरिन्छ भने तराई मात्र हैन जहाँ गएर पनि काम गर्न सकिन्छ । प्रकृया के हो ? जनतालाई बुझाइदिनु पर्यो । कार्यशैली र कार्यअनुभव भएर मात्रै हुँदैन, जनप्रतिनिधिसँग समन्वयात्मक क्षमता हुनुपर्छ । जतिबेला म भंगाहा नगरपालिका आएँ, म आउँदा समस्यै समस्याले जेलिएको थियो । नगरसभा अपुरो थियो । लेखाअधिकृत हिँडेको अवस्था थियो । अघिल्लो वर्षको भुक्तानी बाँकी थियो । कर्मचारी कोही थिएन । यहाँ ताला लगाउने स्थिति सृजना भईसकेको थियो । ति सबै कुराहरुलाई मैले चिर्दै लगेर नगरसभाको काम टुङ्ग्याएँ । त्यसपछि भुक्तानीको प्रकृया टुङ्ग्याएँ । कर्मचारी व्यवस्थापन गर्दै लगेँ । क्रमश गर्दै गएपछि समस्याले निकास पनि पायो र अहिले हामी डेढ वर्ष एकदम राम्रोसँग चलीरहेका छौँ । हामी अघिल्लो वर्षको विकास योजनामा महोत्तरीमै प्रथम भयौं । नगरसभामा पनि अरुभन्दा अगाडि छौं ।

प्रमुख प्रशासकीयज्यू, तपाईले गरेका ३ वटा प्रयत्न के रहे ? भन्दिनुस् न ।

मुख्यत म आएपछि मैले बजेटसभा र नगरसभाको अपुरो कामलाई पूर्णता दिएर नियमसंगत ढंगबाट त्यसलाई विधिमा ल्याउने काम गरेँ । त्यसपछि यहाँका अस्तव्यस्त वडा कार्यालयहरु व्यवस्थित बनाएँ । त्यसपछि जनतामा नियमसंगत काम तुरुन्तै सम्पन्न हुन्छ भन्ने विश्वास दिलाएँ । र अर्काे मुख्य कुरा बजेट फ्रिज हुन दिइनँ ।

जनताको आकांक्षा ठूलो छ । जनप्रतिनिधिहरु पनि कतिपय कामलाई गरिहालौं भन्ने चाहनुहुन्छ । स्थानीय तहका कर्मचारी पनि हुनुहुन्छ । यो अवस्थामा जनता, जनप्रतिनिधि र कर्मचारी गरी तीन तिरको चेपुवामा कहिलेकाँहि पर्ने अवस्था बन्छ कि बन्दैन ?

तराईका धेरै ठाउँमा कर्मचारी नटिक्नुको कारण पनि यही हो । एकातिर मेयर, जनप्रतिनिधिहरुले जनतालाई आश्वासन दिइरहेका हुन्छन् । त्यो पुरा गर्नुपर्ने हुन्छ । अर्को नीयम कानुनले मिल्दैन । त्यो बीचमा चाँही अलिकती थोरै अप्ठ्यारो स्थिति आउँछ । तर यदी मिल्दै नमिल्ने हो भने मिल्दैन भनेर कानुनी प्रकृया बुझाउन सक्नुपर्यो । मिल्छ भने नियम प्रकृया मिलाएर गर्दिनुपर्यो । यदि आफूले चातूर्यतापूर्वक रणनीति अनुसार काम गर्न सकिएन भने चेपुवामा त परिन्छ नै । भंगाहा नगरपालिकामा मैले बोलेपछि कुन दफामा के छ भनेर कसैले सोध्नुहुन्न । मैले त्यो विश्वास आर्जन गरेको छु । हाम्रो कार्यपालिकाको १९ जनामध्ये मैले भनेपछि कुन दफामा छ हाकीम साहब देखाउनु भनेर कसैले भन्दैन । त्यो भनेको म प्रतिको विश्वास हो ।

भिडियो हेर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *