प्रधानमन्त्रीलाई आग्रह गर्दै गौरादहका मेयरले भने, ‘उहाँ आफैंले भोगेको नदी कटानको पीडा पक्कै सम्बोधन गर्नुहोला’ (भिडियो सहित)

मुलुकका प्रधानमन्त्रीको गृह जिल्ला भएकैले थुप्रै बजेट झापामै पुगेको छ भनेर सोच्नेहरुले गौरादहलाई हेर्दा हुन्छ । प्रधानमन्त्री के.पी.शर्मा ओलीको निर्वाचन क्षेत्रभित्र पर्ने गौरादह नगरपालिकाका जनताको घरआँगनमा पुग्दा मेयर आँखाभरी आँशु पार्दै फर्किन्छन् । नदी कटानको पीडा असह्य छ । नगरको बजेटले धान्न नसकिने योजना प्रधानमन्त्रीले सहयोग गरुन् भन्ने सोच राख्छ, गौरादहबासी । यि र यस्तै विषयमा केन्द्रित रहेर मेयर खबरका लागि मेयर रोहित कुमार शाहसँग शिव अधिकारीले गर्नुभएको कुराकानीको सम्पादित अंश :

मेयरज्यूको आधा कार्यकाल कस्तो रह्यो त ?

उपलब्धीमुलक भयो । हामीले जती सोचेका थियौँ त्यसको लगभग लगभग ४५ प्रतिशत जती उपलब्धी भएको छ ।

ति उपलब्धि चाहिं के के हुन्, मेयरज्यू ?

भौतिक पूर्वाधारमा निकै ठूलो प्रगति भएको छ । ग्रामिण इलाकामा बाटो पुगेको थिएन । हामीले बाटाहरु खन्ने काम मात्र गरेनौं, अहिले र पहिले बनेका बाटाहरुलाई ग्राभेल गर्यौं । कलभर्ट बनेका छन् । बिजुली पनि नपुगेका थुप्रै बस्तिहरु थिए । अहिले बिजुली पुगेको छ । पूर्वाधारमात्र होइन, हामीले शिक्षाक्षेत्रमा पनि महत्वका साथ काम गर्यौं । विद्यालय भवनसँगै खानेपानीको व्यवस्था भएको छ । पहिले नै खूुल्ला दिशा मुक्त क्षेत्र घोषणा भएपनि यत्रतत्र फोहोर देखिन्थ्यो । हामीले यसका लागि आधा करोड भन्दा बढी लगानी गरेर अहिले साँच्चै खुला दिशामुक्त क्षेत्र निर्माण गर्न सफल भएका छौं ।
जनताले देख्ने काम भएकाले पूर्वाधारमा बढी लगानी गर्ने अनि सामाजिक विकास प्राथमिकतामा पछाडि परेको हो ?
हामीले पूर्वाधार र सामाकाजिक विकासलाई सँगसँगै लिएर गएका छौं । हामीले शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन सबै क्षेत्रमै बजेट विनियोजन गरेका छौँ । अधिकांश जनता साईकल चढ्छन्, कमसेकम ति साईकल तार्ने ठाउँ त बनाउनुपर्यो । सामुदायिक भवनहरु बनाउनुपर्यो । तराईको बजार भनेकै हाट बजार हो, त्यसको व्यवस्थापन गर्नुपर्यो । हामी यस्ता संरचना निर्माणका विषयमा गम्भिरतापूर्वक सोचेर अगाडि बढ्यौं । किसानले धान घरसम्म पुर्याउन सक्ने बाटो त चाहियो नि । हो, त्यो बाटोमा लगानी गर्यौं । गाउँ गाउँमा टेम्पु, सिटी, सफारीहरु चल्छन् । त्यहाँसम्म सहजै पुग्ने वातावरण त बनाउनुपर्यो । हो, त्यसैले पहिलो चरणमा हामीले बाटो सुधार गर्ने काम गर्यौं । त्यसैले पूर्वाधारमा अलि धेरै काम देखिएको हो । यसो भन्दैमा हामिले सामाजिक विकासलाई बेवास्ता गरेको भन्न मिल्दैन ।

तपाईंहरुले यसरी गम्भिरतापूर्वक सोचेर अगाडि बढाएको योजनालाई जनताले चाहिं कसरी हेरिरहेका छन् त ?

हामी निर्वाचित भएर आएपछि जनतामा एउटा छुट्टै गर्वको महसुस भएको छ । यसो भन्दैमा गुनासो नै नभएको भन्ने होइन । हामीले गरेका योजनामा गुनासो आउलान् कि भनेर अनुगमनलाई चुस्त बनाएका छौं । जनताका चाहना, आवश्यकता बुझेर बजेट विनियोजना गरिरहेका छौं । महिला, बालबालिका लगायतका लक्षित वर्गका क्षेत्रमा धेरै कामहरु गरेका छौँ । गरिबको आवास निर्माण योजनामा लागेका छौं । यसपटक मात्र प्रत्येक वडामा ४–४ वटाको दरले ३२ वटा गरिव आवास योजना मार्फत् भवनहरु निर्माण गरिरहेका छौँ । बजार व्यवस्थापनका साथै ति बजारहरुमा सार्वजनिक शौचालयका साथै सबै विद्यालयमा शौचालय, खानेपानीको व्यवस्था गरेका छौं ।

त्यसो भए जनता सन्तुष्ट नै हुनुहुन्छ ?

सन्तुष्ट हुनुहुन्छ भन्ने ठानेका छौं । तर जनताको चाहना धेरै छन् । त्यसअनुसारको पर्याप्त बजेट छैन । अब जनगणना पनि हुन लागिरहेको छ । त्यसले एउटा तथ्यांक बाहिर ल्याउनेछ । त्यसपछि समस्या कहाँ छ भन्ने थाहा हुन्छ । हामीले कृषि उत्पादन बढाउँदै नदी कटानलाई नियन्त्रण गर्ने सोच बनाएका छौंं । रतुवा नदीले बर्षेनी हजारौं हेक्टर उर्वर भूमिलाई कटान गरिरहेको छ । यसको नियन्त्रण हाम्रो बजेटबाट सम्भव छैन, संघीय सरकारले सम्बोधन गर्नुपर्ने हुन्छ । दशबिघा जग्गा हुने मान्छे आज गरिबीको रेखामुनी गइरहेका छन् । त्यसकारणले सबभन्दा पहिलेचाँही नदी कटानलाई नियन्त्रण गर्न संघीय सरकारसँग पहल गर्नेछु ।

तपाईको प्रयास के भएको छ त ?

जनताको तटबन्धन कार्यक्रमसँग समन्वय गरिरहेका छौँ । उहाँहरुले बासबाट गरिएको रोकथाम बर्खासम्म काम लाग्छ । अनि फेरि बगाईदिन्छ । यसको दीगो समाधान गर्न संघीय सरकारले नै पहल गर्नुपर्ने हुन्छ । रतुवा, माई खोला लगायतका झापामा थुप्रै खोलाहरु छन्, यसप्रति संघीय सरकारको ध्यानाकर्षण गराइरहेको छु ।

बिघौँ बिघा जग्गा हुने किसानहरु रातारात गरिब हँुदैछन् हैन ?

नदी कटानले जनता झन् गरिबीको मारमा परेका छन् । औषधि उपचार, लालनपालन, शिक्षादिक्षामा समेत यसले प्रभाव पारेको छ । ति जनताको घरमा जाँदा आँखाबाट आँशु झर्छ । नगरस्तरबाट गर्न सकिंदैन । हेरेर रुनू बाहेक अरु के नै गर्न सकिन्छ र ? म गाउँमा जाँदा उहाँहरुले प्रमुख समस्या यहि नदी कटानको देखाउनुहुन्छ । मलाई पनि एकदमै पीडा बोध हुन्छ । वास्तवमा जनताको प्रतिनिधि भएको कारणले जनताले मसँग गुनासो गर्नु स्वभाविक हो ।

संघीय सरकारले के प्रतिक्रिया दिएको छ त ?

संघीय र प्रदेश सरकारका मन्त्रीहरु यहाँ आउनुभएको छ । पटक–पटक हेर्नुभएको छ । नदी कटान र यसको पीडा समेत देख्नुभएको छ । हेर्नुभएको छ जानुभएको छ । यो त स्वयं प्रधानमन्त्रीज्यूको जिल्ला हो । उहाँलाई यसबारेमा अवगत पनि छ । यो प्रधानमनत्रीकै निर्वाचन क्षेत्र पनि हो । प्रधानमन्त्रीको ध्यान जान्छ कि भन्ने आशा मेरो पनि छ ।

प्रधानमन्त्रीज्यूलाई के आग्रह गर्नुहुन्छ ?

मेरो त ठूलो आग्रह छ । सम्मानीत प्रधानमन्त्रीज्यू यही क्षेत्रको माननीय भएकाले नदी नियन्त्रणलाई प्राथमिकतामा राखेर बजेट विनीयोजन गरी तटबन्धन गर्दिने काम प्रधानमन्त्रीज्यूले गरिदिनुस् भनेर म मिडियाबाट पनि जानकारी गराउन चाहन्छु ।

आधा समय त गयो मेयरज्यूको तर अझै आधा समय बाँकी छ नि । जनताले आश गर्ने ठाउँ छ त ?

शिक्षाको सुधार हुन्छ भन्ने आशा गर्नुस् । विद्यालय नजाने र गए पनि नपढाउने शिक्षक, अस्पताल नजाने स्वास्थ्यकर्मी अहिले नियमित हाजिर हुन्छन् । जनताले वडाबाटै सेवा प्राप्त गर्नेछन् । वडा तहमै पशुपालन र कृषिका प्राविधिक राख्ने । ओभरसियर राख्ने, बसपार्कको लागि जग्गाहरु खोजेर प्रकृया अगाडि बढाउने, डम्पिङ साइडको व्यवस्था गर्ने, सबै वडामा पार्कहरुको व्यवस्थापन गर्ने, औषधी निशूल्क व्यवस्था गर्ने, सामूदायिक भवनहरु निर्माण गर्ने, सडक कालोपत्रे गर्ने लगायतका सोच बनाएको छु । यसलाई कार्यान्वयनमा ल्याउनेछु, बाँकी अवधिमा ।

आफनै निर्वाचन क्षेत्रका जनताको पीडा नबुझेकै हुन्, प्रधानमन्त्रीले ? हेर्नुस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *