महिला स्वास्थ्यलाई ध्यान दिँदै रामेछाप नगरपालिकाको नि:शुल्क स्वास्थ्य शिविर

मेयर खबरदाता

रामेछाप नगरपालिकाले महिलाहरुलाई लक्षित गरेर ल्याएको निशुल्क स्वास्थ्य शिविर बुधबार वडा नम्बर १ गोठगाउँमा सम्पन्न भएको छ । निशुल्क स्वास्थ्य शिविरबाट ९७ जना महिलाले निशुल्क स्वास्थ्य सेवा लिएका छन् ।

शिविरमा ६५ जना महिलाहरुले पाठेघरको मुखको क्यान्सर जाँच गराएका थिए भने १० जना गर्भवती महिलाहरुले भिडियो एक्सरे गराएका थिए । दुर्गम भेगका महिलाहरुले आफ्ना रोग बारे खुलेर भन्न नसक्दा भविष्यमा पिडा भोक्दै गएको तथ्याङ्क नगरपालिकाको नजरमा परेपछि शिविरको आयोजना गरिएको नगरपालिकाकी उपप्रमुख सृजना खड्काले बताउनुभयो ।

शिविरमा २ जना महिलाको पाठेघरको अप्रेशन गर्नुपर्ने अवस्था देखिएकोमा उनीहरुलाई निशुल्क काठमाण्डौँ लगेर उपचार गर्ने व्यवस्था नगरपालिकाले गरेको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक रामशरण पौडेलले बताउनुभयो ।

रामेछाप नगरपालिका र बज्र समाज नेपाल रामेछाप नगरपालिका ६ को आयोजनामा जारी शिविर बिहिबार वडा नम्बर ३ साँघुटारमा सन्चाल हुँदैछ । ८ गते वडा नम्बर ३ साँघुटारका महिलालाई लक्षित गरी साँघुटार स्वास्थ्य चौकीमा राखिएको छ । त्यसैगरी ९ गते वडा नम्बर ४ का महिलालाई लक्षित गरी धारापानी स्वास्थ्य क्लिनिकमा राखिएको छ । १० गते वडा नं २ देउरालीका महिलाहरुका लागि देउराली स्वास्थ्य चौकीमा शिविर राखिएको छ ।

शिविरमा पाठेघरको मुखको क्यान्सर जाँच, पाठेघर झरेका महिलाहरुको स्क्रिनिङ तथा उपचार, तल्लो पेट दुख्ने तथा सेतो पानी बग्ने, पिसाव पोल्ने तथा महिनावारी गडबडी हुने, स्तनमा गाँठागुठी देखिने, गर्भवती महिलाहरुको भिडियो एक्सरे लगायतका सेवा उपलब्ध छ ।

नगरपालिकाले गत वर्ष देखि नै यस्ता शिविरहरु निशुल्क रुपमा सञ्चालन गर्दै आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *