अब सेवाग्राहीले हैन सेवाग्राहीलाई कर्मचारीले नमस्कार गर्नुपर्ने

ऋचा उप्रेती

नमस्कार कसैका लागि सम्मानको विषय हो भने कसैका लागि कुराकानी सुरु गर्ने सजिलो माध्यम । बिशेषगरि आमव्यक्ति भन्दा पनि संघसंस्थाहरुमा यसले महत्वपूर्ण स्थान राख्दै आएको छ ।

नमस्कार नगरे कै भरमा कर्मचारीलाई अपशब्द बोलेको कुटपिट गरेको खबर पनि हामीले फाट्टफुट्ट सुन्दै आएको कुरा हो । कार्यालयहरुमा व्यक्तिको उमेर हेरेर भन्दा पनि ओहदालाई नमस्कार गर्ने गरिन्छ । यहि सोचबाट शिक्षित भएकैले होला कार्यलयमा सेवा लिन जाँदा कर्मचारीले पहिले हात जोडेको अपवाद पनि हामीसँग छैन । कार्यालयकै कुरा गर्दा यो अभ्यासको ठिक विपरित भने गौरीगङ्गा नगरपालिकाले एक भिन्न नियम बनाएको छ ।

सेवासुबिधा लिन आउने व्यक्ति नै झुक्नुपर्ने हो भन्ने पुरातन मान्यतालाई चिर्दै नगरपालिकाले कर्मचारी र सेवाग्राहीबीचको सम्बन्ध राम्रो गराउन नमस्कार अनिवार्य गरेको छ । एफएमडिसी, विकास र परिवर्तनका लागि सञ्चारले आयोजना गरेको ‘मानव अधिकार संरक्षणका लागि नगरपालिकाको भूमिका जिम्मेवारी र मापदण्ड’ विषयक सचेतना कार्यक्रममा कर्मचारीले कार्यालयमा सेवाग्राही छिर्नासाथ उनीहरुलाई पहिला नमस्कार गर्ने र त्यसपछि सेवा दिने प्रतिबद्धता जनाएका छन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तराज जोशीले नमस्कार प्रवृतिले कर्मचारी र सेवाग्राहीबीच सुमधुर सम्बन्ध राख्न अब सेवाग्राहीले नमस्कार हैन सेवाग्राहीलाई कर्मचारीले नमस्कार गर्नुपर्ने व्यवस्था गरिएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *