आजको कथा

शिव अधिकारी ।

मुस्कुराउँदै ढोकाबाट पसेकि एउटी महिला सरासर उपमेयरको नेमप्लेट राखिएको टेबुल अगाडिको घुम्ने कुर्सीमा बसिसकेपछि पो बल्ल चिनेँ, उनी त सुर्याेदय नगरपालिकाकी उपमेयर दुर्गादेवी भट्टराई रहिछिन् ।

‘मैले त चिनिनँ नि’ सोफामा बसिरहेका हामीतिर हेरेर मुस्कुराउँदै जिज्ञासा राखिन् ।

‘हामीले पनि चिनेका थिएनौं, तर अब चिन्यौं’ मैले पनि मुस्कुराउँदै भनें ।

हाम्रो कुराकानी यही संवादबाट सुरु भएको थियो ।

अत्यन्तै सुन्दर, पहाडकी रानी इलाम र मेहनती इलामेलीको चर्चा मुलुकभर छ । एकपटक पुग्ने अभिलाषा सबैको हुन्छ । इलामको शान चियाबारी नै हो । फिक्कल, कन्याम लगायतका चियाबारीले सबैको मन लोभ्याउँछ । सब भुलाईदिन्छ र हेरिरहुँ बनाउँछ ।

२ बर्ष अगाडिसम्म यस्ता पर्यटकीय स्थलका फोहोर व्यवस्थापन हुननसक्दा सञ्चारमाध्यममा गतिलै ठाउँ पाएका थिए । फोहोरको डंगुरलाई पत्रिकाले फोटोमार्फत् र टेलिभिजनले भिडियोमार्फत् देखाए । पत्रकारका लागि ‘ब्याड न्यूज इज गुड न्यूज’ हो । त्यसैले सुन्दर चियाबारीको भन्दा बढि प्रचार फोहोरको भयो ।

‘तपाईंहरुले हेर्नुभयो चियाबारी ? अहिले पनि त्यस्तै छ र ?’ उपमेयरको पहिलो चासो त्यहि थियो । हामीले धन्यवाद दियौं । अहिले फोहोर देख्न पाईंदैन बरु बाटो पनि चौडा गर्दैगरेको देख्न सकिन्छ । फोहोर व्यवस्थापनका लागि नगरपालिकामा निर्वाचित हुनेबित्तिकै जनप्रतिनिधिले गरेको प्रयत्न प्रष्टै देखियो ।

हँसिली, फुर्तिली उपमेयर भट्टराई भन्दै थिईन्, ‘फोहोर थियो, हामी निर्वाचित हुनेवित्तिकै प्रयत्न गर्यौं । तर, त्यतिबेला फहोर लेख्ने र देखाउनेले व्यवस्थित भएपछि सुधार भयो भनेर भनिदिए के जान्थ्यो ।’

….

उतिबेला एस्एल्सी वा १२ कक्षा पास हुने बित्तिकै छोरीको बिहे गरिदिनुपर्छ भन्ने मान्यता थियो । क्याम्पस पढ्न शहरतिर पठाउँदा छोरी बिग्रन्छन् भन्ने रुढ बुझाईले पढ्न नपाई छोरीहरु बुहारीमा रुपान्तरण भइसक्थे । यहि सोचको सिकार भएकी दुर्गादेवी भट्टराई उपमेयरमा निर्वाचित हुने बित्तिकै एउटा गतिलो योजना लिएर आईन्– बुहारी शिक्षा अभियान ।

उपमेयर भट्टराईले सुरु गरेको यो अभियान अन्तर्गत गतबर्ष भर्ना भएका ४० जना बुहारीहरु डिप्लोमा पढ्दै छन् भने यसबर्ष पनि ४० सै जना भर्ना हुँदैछन् । उनीहरुको सबै फि नगरपालिकाले तिरिदिन्छ । उपमेयर भट्टराई भन्छिन्, ‘परिणाम कस्तो आउँछ थाहा छैन । तर, जेण्डर ब्यालेन्सको नारा लगाएर मात्रै हुँदैन, उनीहरुलाई सक्षम बनाउनुपर्छ ।’

र्याली, सभा, सम्मेलनमा नारा लगाएर नारी दिवस त सबैले मनाउँछन् । तर, सुर्याेदय नगरपालिकाकी उपमेयर भट्टराईले गतबर्ष नारि दिवसकै दिन ‘सूर्याेदय आमा’ घोषणा गरिन् । १०५ बर्षे बिष्णुमाया अधिकारीलाई सम्मान गरेर गतवर्षको नारी दिवस मनाएकी भट्टराईले यसबर्ष पनि १०२ बर्षे आमालाई सम्मान गर्ने योजना बनाएकी थिईन । तर, कोरोना भाईरसको सङ्क्रमण हुनसक्ने भन्दै देशभर सभासम्मेलन स्थगित गर्ने नीतिकै कारण यस बर्षको नारी दिवसको कार्यक्रम स्थगित भएसङै उनको योजना पनि तत्कालका लागि रोकियो । सुर्योदय आमाको सम्मान मात्र होइन, प्रत्येक आमा खुवाउने औंसीको दिन उपमेयर भट्टराई तिनै आमाको मुख हेर्न जान्छिन्, त्यो पनि डाक्टर लिएर ।

उपमेयर भट्टराईले राम्रोसँग बुझेकि छिन् कि पितृसत्तात्मक समाजमा विधुवा एकल महिलालाई टिक्न साह्रै गाह्रो छ । पुरुषको सहयोग विना व्यवहार चलाउन मुश्किल भएपछि उनीहरु सहारा खोज्ने र त्यसपछि बालबालिकाको बिचल्लि हुने गरेको स्पष्ट देखेकी उपमेयर भट्टराईले केही गर्ने अठोट लिईन । त्यसैले त यस बर्षदेखि ५० बर्ष मुनिका एकल महिला परिवारलाई स्वास्थ्य विमाको कार्यक्रम ल्याएकि छिन् । विमापछि ति महिला र उनको परिवारले बार्षिक ३ लाख बराबरको औषधोपचार निःशुल्क पाउनेछन् । उपमेयर भट्टराई भन्छिन्, ‘यसले मेरो पनि निगरानी र चासो लिने कोही छ नि भन्ने सोच विकास हुने र आफु एक्लो छैन है भन्ने अनुभुति भएपछि उनीहरु निराशाबाट माथी उठ्नेछन् ।’

सूर्याेदय नगरपालिकाले पूर्ण अपांगता भएको परिवारलाई रेखदेख गर्ने परिवार, एकल महिला, विदेश गएर फर्किएका युवा सबैलाई अर्काे गतिलो योजना लिएर आएको छ । यस्ता नगरवासीले गाई पाल्न चाहे नगरपालिकाले प्रति गाईं ८० हजारसम्म अनुदान दिने व्यवस्था गरेको छ । उपमेयर भट्टराई भन्छिन्, ‘किसान आफैंले गाई चुन्छन् । प्राविधिकले गाई हेरेपछि हामी किनिदिन्छौं ।’

हुनत नगरपालिकाले ‘एक घर एक उन्नत गाई’को नीति नै अघि सारेको छ । तर, उपमेयर भट्टराई भन्छिन्, ‘नीति हुँदैमा गाईपालन त हुँदैन नि, गरिबले कसरी किन्ने ? त्यसलै यस बर्षदेखि सुरु गरिएको यो योजनाअन्तर्गत हालसम्म ७२ वटा गाई किनिसकिएको छ ।’

उपमेयर भट्टराई कुनै पनि दिवस मनाएर मात्र नहुने बताउँछिन् । जसका लागि मनाईएको दिवस हो, त्यहि समुहले केही राहतको महसुस गर्नुपर्छ । त्यसैले ज्येष्ठ नागरिक दिवस मनाएसँगै उनीहरुलाई छलफल, मनोरञ्जन गर्न सहज हुने गरी ज्येष्ठ नागरिक मिलन केन्द्रको स्थापना गरिसकेको छ, सूर्याेदय नगरपालिकाले । अझ बेलाबेलामा ज्येष्ठ नागरिकहरुलाई नगरपालिकाले विभिन्न ठाउँका तिर्थ भ्रमण गराउने गरेको छ । उपमेयर भट्टराई भन्छिन्, ‘हामीले अहिलेसम्म ईलामभन्दा बाहिर नगएका ज्येष्ठ नागरिकहरुलाई देश र यहाँका तिर्थस्थल देखाउने प्रयत्न गरिरहेका छौं ।’

गतवर्ष ज्येष्ठ नागरिकले पोखरा, लुम्बिनी, काठमाडौं लगायतका ठाउँको भ्रमण गरेका थिए । उनीहरु फर्किएपछि नगरपालिकाले अनुभव साटासाट गर्ने अवसर पनि दिएको थियो । त्यतिबेला ज्येष्ठ नागरिकको अनुहारमा देखिएको खुशीपछि यो कार्यक्रमलाई नगरपालिकाले निरन्तरता दिने निर्णय समेत गरेको छ ।

जीवनकालभरी योगदान गर्ने ज्येष्ठ नागरिकलाई सम्मान र माया दुवै गर्नुपर्ने भन्दै उपमेयर भट्टराईले भनिन्, ‘यसपटक पनि हामी पठाउँछौं, तपाईंहरुले पनि काठमाडौंमा भेट्नुहोला नि कत्ति खुशी हुनुहुन्छ उहाँहरु ।’

आफ्नै घरमा पनि ८२ बर्षे सुसुरालाई स्याहार गर्छिन्, उपमेयर भट्टराई । ज्येष्ठ नागरिकका कुरा सुनिएमात्र पनि धेरै खुशी हुने भट्टराईको अनुभव छ । तर, पर्याप्त समय दिन नसकिएकोमा भने उपमेयर भट्टराईलाई ज्यादै दुःख लागेको छ ।

यत्तिकैमा उपमेयर भट्टराईको कोठामा एकजना अर्धबैंशे महिला पसिन् । उनले किस्तिमा ल्याएका गिलासहरु टेबुलमा राख्दै गईन् । मेरो भागमा बियर खाने गिलास परेको थियो । तर झोल फलफुलको थिएन, ईलामको चियाको थियो । स्वाद मानि मानि ईलामे चिया खाँदै थिए । उता हर्कजी उपमेयरको फोटो खिच्न तम्सिए । तश्विरका लागि पोज मिलाउँदै थिए, हर्कजी । फोटोमा यत्ति राम्री देखिएकी उमेयर भट्टराई भन्दैथिईन्, ‘मेरो फोटो कहिल्यै राम्रो आउँदैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *