बागमतीका मेयरको प्रतिज्ञा, ‘काठमाडौं र जनकपुरले नहेरे पनि बागमतीका जनता भोकै मर्दैनन्, हामी बचाउँछौं’

प्रसन्न ढुंगाना, सर्लाही

बागमती नगरपालिकाले गरेका राम्रा प्रयत्नबारे केही न केही नसुन्नेहरु सायदै होलान् । एकताका सरकारले दिएको गाडी सुविधा नलिएर उल्टै पानी ट्याङ्कर किनिदिएर चुरेवासीको आत चिस्याउने काम गरेका मेयर भरत थापाले एक बर्षमै ५० किलोमिटर सडक कालोपत्रे गरेको चर्चा निकै चलेको थियो ।

फेरि बागमती नगरभित्रका सरकारी सेवा सुविधा लिने जनप्रतिनिधि, शिक्षक, कर्मचारीहरुले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमै पढाउने कसम खाए । यसको चर्चा पनि मुलुकभर चुलिएको थियो ।

यस्तै अनेक नमूना कामका अगुवा बनेका मेयर भरत थापा कोरोनाको प्रभावले अपेक्षित विकासमा बाधा पुर्याउला भन्नेमा एक रति पनि विश्वास गर्दैनन् । मेयर थापा भन्छन्, ‘जनताको अपेक्षा र हाम्रो सपना हाम्रै समयमा पुरा हुन्छ, कुनै महामारी वा प्रलयले हामीलाई रोक्दैन, बरु सहज अवस्था आएपछि हाम्रो क्षमता दोब्बर गर्छाैं ।’

‘चेन अफ कमाण्ड’

भोलीको त्यो चिन्ता भन्दा पनि यतिबेला संसारभर फैलिएको कोरोना संक्रमणको महामारीबाट जनतालाई कसरी सुरक्षित राख्न सकिन्छ भनेर सोचिरहन्छन्, मेयर थापा । बागमती नगरपालिकाका १२ वटा वडा अध्यक्ष, सदस्यहरु, उपमेयरसँगै आफ्नै जिम्मेवारी पनि तोकेका छन् । संघीय सरकारले घोषणा गर्नुभन्दा २ दिन अगाडिदेखि नै लकडाउनको अभ्यास गरिसकेका थिए, मेयर थापाले ।

प्रत्येक वडामा रहेका ५ जना जनप्रतिनिधिलाई वडाभित्रका छुट्टा छुट्टै गाउँ जिम्मा दिएका छन् । ति गाउँमा जे परेपनि ति वडा सदस्यहरु नै जिम्मेवार हुन्छन् । कसैको घरमा विदेशबाट आएको मानिस छ वा ज्वरो आएको मानिस छ भने वडा सदस्यले तत्काल वडा अध्यक्षलाई र वडा अध्यक्षले मेयरलाई जानकारी गराएपछि नगरको स्वास्थ्य टोली सोही स्थानमा तत्काल पुगेर उपचार गर्ने व्यवस्था मिलाउँदैछ । मेयर थापाका अनुसार स्वास्थ्यकर्मीका लागि आवश्यक मास्क, गाउन, क्यापसँगै अन्य सुरक्षाका सामाग्रीहरु उपलब्ध हुने बित्तिकै यो सेवा सुरु हुनेछ । मेयर थापा भन्छन्, ‘पहिले हाम्रै स्वास्थयकर्मीले हेर्नुहुन्छ, त्यसपछि स्वाभिमान अस्पताल पठाउँछौं र ज्वरो घटेन भने नगरकै एम्बुलेन्सबाट काठमाडौंको टेकु पठाउँछौं ।’

पहिचान भएका विरामीमध्ये कतार र भारतबाट आएका ३ जनालाई नगरले काठमाडौंको टेकु पठाएको थियो । टेकुले तिनैजना विरामीमा कोरोना संक्रमण नदेखिएको पुष्टि गरिसकेको छ । मेयर थापा भन्छन्, ‘कोरोना परिक्षणका लागि धरान र हेटौंडामा व्यवस्थापन गर्ने भनिएको छ, त्यसपछि त सहज होला ।’

खाने भन्दा पनि बाँच्ने चिन्ता

बागमती त्यस्तो नगरपालिका हो, जहाँ २० हजार भन्दा बढी सुकुम्बासी छन् । लकडाउन लम्बिँदा दैनिक मजदुरी गरेको ज्यालाले छाक टार्ने सुकुम्बासीहरु भोकै हुने सम्भावना प्रवल छ । नगरपालिका भित्रका करिब ५ हजार सुकुम्बासी घर परिवारको नगरले वर्गीकरण गरिरहेको छ । मेयर थापा भन्छन्, ‘सुकुम्बासीभित्र पनि उच्च, मध्यम र निम्न गरी तीन तहको वर्गिकरण गरिरहेका छौं, निम्न वर्गका लागि तत्काल केही गर्नुपर्ने अवस्था छ ।’

यदि एक महिनाका लागि सुकुम्बासीलाई सामान्य खाने व्यवस्थापन गर्ने हो भने करिब १० करोड खर्च लाग्छ । यो ठूलो रकम नगर आफैंले ब्यहोर्न नसक्ने भएकाले संघ र प्रदेश सरकारलाई आग्रह गरिएको मेयर थापाले बताए ।

तर, कसैको सहयोग नभए पनि बागमतीका जनता भोकै नमर्ने बताउँछन्, मेयर थापा । उनी भन्छन्, ‘माथिल्ला सरकारको अपेक्षा गर्नु हाम्रो बाध्यता हो, तर कसैले सहयोग नगरे पनि मेरा जनता भोकै मर्दैनन्, म बचाउँछु ।’

मेयर त यसो भन्छन् नि भनेर बागमती वडा नं. १२ का लाल बहादुर विश्वकर्मालाई सोधिएको प्रश्नको जवाफमा विश्वकर्मा भन्छन्, ‘अहिले चाहिंदैन हजुर, हामीसँगै करिब साँढे दुई महिनासम्मका लागि पुग्ने खाद्यान्न छ, बरु हामीलाई सुरक्षित बनाईदिए पुग्छ ।’

उनीजस्तै अन्य स्थानीयको पनि तत्कालै राहत प्याकेजको आवश्यकता बोध नभएको बुझाई छ । यतिबेला बाली पाक्न लागेको र गाउँमा दुधका लागि गाईभैंसी, मासुका लागि खसी कुखुरा भएकाले खासै ठूलो समस्या नआउने स्थानीय बताउँछन् । विशेषगरी ग्रामिण क्षेत्र बढी रहेको बागमती नगरपालिकाको मुल चुनौति नै सुकुम्बासी हुन् ।

सक्रिय जनप्रतिनिधि

बागमती नगरपालिकाका मेयरदेखि वडासदस्य सम्मका जनप्रतिनिधिहरु सबै सक्रिय भएर लागेका छन् । मेयरले प्रत्येक दिन फरक फरक जनप्रतिनिधिसँग ‘वान टु वान’ मिटिङ गर्छन् । आज मात्रै मेयर, उपमेयर र सबै वडाका जनप्रतिनिधिहरुको सहभागितामा बैठक बस्यो । बैठकले यसबीचका समस्या, समाधानका लागि गरिएका प्रयत्न र आगामी कार्यदिशा तय गरेको छ । समिक्षात्मक छलफलले जनताका आवश्यकता र सुरक्षालाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सजिलो हुने उपमेयर लीलाकुमारी मोक्तान बताउँछिन् ।

पछिल्लो समय कतिपय स्थानीय सरकारले काम भन्दा पनि बढी चर्चा गर्ने गरेको गुनासो आइरहेका बेला बागमती नगरकी उपमेयर मोक्तान भने आफुहरुले चर्चाका लागि काम नगरेको र नचाहेको बताउँछिन् । उपमेयर मोक्तानले भनिन्, ‘अरुले के गरे भन्ने होइन, यस्तो असहज अवस्थामा जनतालाई सुरक्षित र दैनिकी सहज बनाउन लागिरहेका छौं, यतिबेला जे गर्नुपर्छ त्यो हामीले गरिरहेका छौं, यदि मनैदेखि काम गर्ने हो भने परिणाम राम्रै आउँछ ।’

बागमतीका जनताले लकडाउनको पूर्ण पालना गरेको मेयर भरत थापा बताउँछन् । उनी भन्छन्, ‘मेरा जनता अनुशासित छन् ।’ नगरपालिकाले खाद्यान्न ढुवानी सहजताका लागि पास बनाइदिएको छ । सामाजिक दुरी कायम गर्नुपर्छ भन्दै एकै ठाउँमा झुरुप्प भएर किनमेल नगर्न समेत नगरले आग्रह गरिरहेको छ । दैनिक उपभोग्य वस्तुहरुको सहज आपुर्ति होस् भनेर विशेष चासो रहेको छ ।

लकडाउनले जनतामा कोरोनाप्रतिको सजगताबारे राम्रै बुझाएको अनुभव छ, मेयर भरत थापाको । हालको लकडाउनलाई बढाएर ३ हप्तासम्म थप्ने हो भने अहिले परिक्षणमा रहेका नमूनाको स्पष्ट परिणाम आइसक्ने उनको विचार छ ।

‘कोरोनाको असर देखाउँदिन’

बागमती नगरवासीको मात्र नभई समग्र प्रदेश नं. २ कै नमूना काम गरेर विश्वास आर्जन गरेको बागमती नगरपालिकालाई नेतृत्व गरेका मेयर भरत थापा आफ्नो नगरभित्रका जनता भोकै नहुने र उपचार पाउने दावी गर्छन् । उनी भन्छन्, ‘कोरोनाको असर नदेखिने गरी भोलि कसरी उठ्ने भन्ने विषयमा म गम्भिर भइरहेको छु, यसले विकासमा असर पार्दैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *