विकाशोन्मुख नगर, कोरोना र आशा

घरकी श्रीमतीको हिजोको कचकच श्रीमानलाई आज प्यारो लागिरहेको छ । घरमै श्रीमतीका साथ यति लामो समय बिताएको सायद पहिलोपटक नै होला । यो आम श्रीमान्, श्रीमतीसँगको विषय मात्र होइन, परिवारका सबै सदस्यसँगको सम्बन्ध यहि र यस्तै छ । बुढा भइसकेका हजुरबुुबा–हजुरआमा, काका–काकी दाजु–भाई, दिदी–बहिनी, छोरा–छोरी सबैमा लागू हुन्छ ।

भारतको उत्तर प्रदेशका लखनऊ, गोरखपुर, कानपुर, फैजावाद जस्ता ठूला शहरहरुमा बाध्यतावस अवसरको खोजीमा पसेका सरोज भण्डारी जस्ता हजारौंले आज धेरै पछि नेपाल सम्झिएका छन् । अनी उजाड लाग्ने भीमदत्त, रामग्राम, चन्दननाथ, बडीमालिका नगरभित्रै तिनले आज जीवन देखिरहेका छन् ।

पाँचवर्ष पहिले बैतडीको पाटन नगरपालिकाका दशरथ चन्द कुनै भविष्य नदेखेरै उत्तराखण्डको अल्मोरामा विलाएका हुन् । तर, उनी उतै जन्मिएको ३ बर्षे नयाँ पुस्तालाई काखी च्यापेर फेरि पाटन नगरपालिका फर्कीएका छन् ।

मोरङको उर्लाबारी वडा नं. ७ मा रहेको १६ कठ्ठा ४ धुर जमीन बाँझै राखेर बिहारको पटना गएका सन्तोष शिवाकोटी सिमेन्टको घोलमा पानी हाल्दा हाल्दै हातको साबेल छोडेर फर्किएका छन् । उनी अहिले त्यही बाँझो जमीन सुम्सुम्याउन आइपुुगेका छन् ।

यी त केही उदाहरणीय पात्र हुन् । यस्ता लाखौं नेपाली छन्, जसले नेपालमा केही हुँदैन, केहि छैन भन्दै बाहिर गएका वा जान ठिक्क परेकाहरु नेपाल फर्किएका छन् । आफ्नै गाउँ फर्किएका छन् ।

भविष्य खोज्न हिंडेकाहरुलाई वर्तमानले पुनः नेपाल ल्याईदिएको छ । हो, कोरोनाले फेरि एक ढिक्का बनाइदिएको छ । हुनत यो समय अहिले विश्व समुदायका लागि संकटको घडि हुनसक्छ । तर हामीले यसलाई संकटकै रुपमा मात्र हेर्ने हो भने यो झन् जटिल बन्नसक्छ, यदी यसलाई हामीले अवसरको रुपमा लिने हो र यसबाट थोरै भएपनि पाठ सिक्ने हो भने जबर्जस्त नगर घोषणा गरिएका गाउँहरु साँच्चिकै नगर बन्नेछन् ।

स्थानीय सरकारको नेतृत्व गरेकाहले साँढे २ बर्ष बिताईसक्दा आफ्ना कमजोरी र जिम्मेवारी पहिचान गरिसकेका छन् । स्थानीय उत्पादन र त्यसको औद्योगिकीकरणमा ध्यान नपुुगेको हो कि भन्ने महसुस स्थानीय सरकारलाई भइसकेको छ । रोजगार सिर्जना गर्न नसकेर युवा वर्ग विदेश पलायन भएको तीतो यथार्थलाई नेतृत्वले राम्रैसँग मनन गरिसकेको छ । कर्तव्य बिर्सिएर ओहोदाको अपेक्षा मात्रै गर्नेहरुका लागि ‘कोरोना समय’ले राम्रैसँग आँखा खोलिदिएको हुनुपर्छ ।

बैतडीको पाटन नगरपालिकाका ती दशरथ चन्द पक्कै पनि रहरले भारत पसेका थिएनन् । दुुईछाक टार्नै धौ धौ भएको अवस्थामा विकल्प उनले मुगलान नै देखेका हुन् । द्धन्द्ध, अस्थिरता र सामाजिक परिवेशलाई बदल्न सक्ने नेतृत्वको अभावले उनी विदेशिएका हुन् । भएका सम्भावनाको पहिचान गरिदिने र अवसर सिर्जना गर्नेको कमी थियो । तर, अब त्यस्तो अवस्था छैन । जनप्रतिनिधीहरुले रात दिन विकास र समृद्धिका खातिर उद्दत छन् । सम्भावना र अवसर सिर्जना गरिदिएका जनप्रतिनिधिले अब मुगलान् पठाउने होइन, नगरमै रोकेर भविष्य देखाउन सके समृद्धि टाढा छैन ।

प्राकृत्तिक रुपमा हामी अन्य मुलुक भन्दा सम्पन्न छौं । मात्रै आवश्यक छ, तिनको पहिचान र परिचालन । सम्पन्नताको ढोका यहिंबाट खुल्छ ।

प्रकृत्ति र मानवको सम्बन्ध अत्यन्तै गहिरो छ । यदि यो सम्बन्धको अस्थित्व जोगाउन नसक्दा यस्ता महामारी सिर्जना हुनसक्दछन् । एउटा शताब्दीमा एक पटक आउने यस्ता अकल्पनीय महामारीले मानव सभ्यतालाई अलग परिभाषित गरिदिने गरेको छ । एक्काइसौं शताब्दीको पूर्वाद्र्धमा देखिएको कोरोनाले मानवजातीमा अविश्वसनीय परिवर्तन ल्याउने सम्भावना छ ।

कोरेनाले आज हामी नेपालीलाई एउटा संयोग जुराईदिएको छ । यससँगै सन्देश पनि दिएको छ । जब अप्ठ्उयारो पर्छ, तब प्रत्येकलाई आफ्नै ठाँउ चाहिदो रहेछ । त्यसोभए अब यहिं किन केही नगर्ने ? प्रत्येक नागरिकले एकपटक यसप्रति गम्भीर भएर सोच्न आवश्यक छ । मौका यही हो, आफनो नगरमा भएको सम्भावनालाई साकार पार्न यो अबसरलाई सबैले सदुपयोग गरौं ।

आशाा छ, अब सरोज भण्डारी, उनका साथी र भोलीका सन्ततीले आफ्नै जन्मभूमीमा जीवन देख्नेछन् । उर्लाबारीका सन्तोष शिवाकोटीको जमीन पनि सिंचित हुनेछ र बाह्रै महिना उत्पादनमा लाग्नेछन् । अनी पाटन नगरपालिकाका ति दशरथ चन्दको भविष्य पनि अब यहीँ हुर्किनेछ ।

(लेखकले उठाएको परिस्थिती वास्तविक भएपनि पात्रहरु भने काल्पनिक हुन् । – सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *