अन्य स्थानीय सरकारका लागि पनि उपयोगी छन्, नमोबुद्धका मेयरले गरेका यि उदाहरणीय ५ काम

शिव अधिकारी

भनिन्छ, प्रशासन भावनाले भन्दा पनि कानूनले चल्छ । तर, कुनै समय यस्तो आउँदोरहेछ, जतिबेला भावना प्रधान भईदिंदोरहेछ । काभ्रेपलाञ्चोकको नमोबुद्धका मेयर टि.पी. शर्मा तिमल्सिना अलि बढि नै भावुक छन् । र त उनले देखेको समस्या अरुले विरलै देख्छन् । मेयर खबरले देखेका मेयर शर्माका ति ५ काम । पढ्ने हैन त ?

मेयरको पहिलो काम : पूर्वतयारीमा अब्बल नमोबुद्ध

कोरोना संक्रमण रोक्न सरकारले लकडाउनको घोषणा गरेको तीन दिन अगाडिदेखि नै नमोबुद्धलाई मानसिक रुपमा लकडाउनका लागि तयारी अवस्थामा राखेका थिए, मेयर शर्माले । माईकिङ् गर्दै नगरवासीलाई सजग हुन, घरबाहिर ननिस्किन लगातार सूचना जारी गरिरहे ।

तत्कालै मेयर शर्माले मेथिनकोट अस्पताल, दाप्चा मावि, जनक उच्चमावी र कानपुर उच्चमावीमा क्वारेन्टाईनका लागि बेड, सिरक, डस्ना, तन्ना लगायतको व्यवस्थापन गरे । मेयर भन्छन्, ‘महामारी रोक्न सकियो र ति क्वारेन्टाईनका लागि गरेको तयारी काम नलागे पछि नगरले गेष्ट हाउस बनाएर ति सामाग्रीहरुको सदुपयोग गर्छ ।’

यत्ति मात्र होइन, मेयर शर्माले विदेशबाट आएकाहरुलाई घरमै क्वारेन्टाईमा राख्ने पहल सुरु गरिहाले । आफैंले प्रत्येक दिन वडा अध्यक्ष र सदस्यहरुलाई फोन गरेर जानकारी लिइरहे । अन्य नगरपालिकामा अझै पनि व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) नभइरहेको अवस्थामा मेयर शर्माले आग्रह गरेपछि स्थानीय समाजसेवी कुमार दाहालले त्यो पनि व्यवस्था गरिदिए ।

लकडाउन भएका बेला विशेषगरी वडा सदस्यको भूमिका बढि हुन्छ भन्ने बुझेका मेयर शर्माले वडा तहमा अन्य राजनीतिक दल समेतको सहभागितामा छुट्टै वडा समितिनै खडा गरे । र, प्रत्येक दिन टेलिफोनबाट आफैं जानकारी लिन्छन्, मेयर शर्मा ।

शहरोन्मुख नगरपालिका नमोबुद्धका भालुखर्क, दाप्चाबजार, चरुवा, भकुण्डेबेसी बाहेक अन्य बस्तिहरु निकै पातला छन् । त्यसैले बाक्ला बस्तिमा संक्रमणको जोखिम हुने भएकाले मेयरको बढी चासो पनि बाक्ला बस्तितिर छ ।

यि त केही भए, मेयर शर्माका नीतिगत प्रयत्न ।

मेयरको दोश्रो काम : अभिभावकत्व

एकदिन मेयर शर्मा लकडाउनको प्रभाव अनुगमन गर्दै थिए । उनले सडक सुनसान देखे । सबै घरभित्र थिए । पसल, होटल बन्द थिए । तर, सडकमा यता उता डुलिरहेका केहि व्यक्तिहरु देखे । कोही झुत्रो कपडामा थिए, कोही एउटा जुत्ता गोडामा र अर्काे जुत्ता लौरोमा उन्दै बोकेर हिंडेका थिए, त कोही सडकमा एक्लै नाचिरहेका थिए । उनीहरु मानसिक सन्तुलन गुमाएका व्यक्तिहरु थिए ।

फेरि मेयरको ध्यान सडकमा कुदिरहेका कुकुरहरुतिर पर्यो । लकडाउनले सबै होटल, रेष्टुरेण्ट, मासु पसल बन्द भएकाले ति कुकुरहरु खान नपाएर डुलिरहेका देखे, मेयर शर्माले । भोका कुकुरलाई मेयरले बिस्कुट किनेर खुवाए । मेयर शर्माले भने, ‘मेरो नगरका कोही पनि खान नपाएर मर्दैनन् तर तिनै मेरा नगरवासीले बँचाएका कुकुरहरु मर्ने भए भनेर चिन्ता लागेको हो ।’ हुनपनि उपत्यकाबाट मगन्ते, कुकुर र मानसिक रोगी राती लगेर थुपार्ने ठाउँ भएको छ, भकुण्डेबेसी ।

मेयरलाई कुकुर र मानसिक सन्तुलन गुमाएकाहरुको चिन्तासँगै नगरवासीको चिन्ताले पिरोल्यो । किनकी यदि समयमै व्यवस्थापन गर्न सकिएन भने तिनैबाट कोरोनाको संक्रमण फैलिन सक्छ । त्यसैले मेयर शर्माले एउटा टेलरभित्र पसे र कपडा सिलाउन लगाए ।

तलको तश्विरमा हेर्नुस्, मेयरले नगरभित्र देखिएका ६ जना मानसिक सन्तुलन गुमाएकाहरुलाई नुहाउन लगाए र उनीहरुका कपडा परिवर्तन गराईदिए । यत्तिमात्र होइन, मेयर शर्माले खानेकुरा पनि दिए ।

  

साँच्चै अभिभावक बन्न त धेरै गाह्रो पो रहेछ । नगरपिता उसै भनिएको रहेनछ । कोही नहुनेको आफन्त, केही बोल्न नसक्नेको बोली र बेसहाराको दह्रो सारथी बने मेयर, टि.पी शर्मा ।

मेयरको तेस्रो काम : उपत्यकाको चिन्ता

नमोबुद्ध त्यस्तो नगरपालिका हो, जहाँ एक दुई महिनाको लकडाउनले खानै नपाउने अवस्था बन्दैन । त्यसैले मेयर शर्मालाई उपत्यकाको पनि चिन्ता छ । उपत्यकालाई यहाँको दुध, फलफुल र तरकारी पठाउन मेयरले विशेष भूमिका खेल्दैछन् । एकातिर किसानका उत्पादन बिक्रि हुने अर्काेतिर उपत्यकावासीलाई पनि अभाव नहुने अवस्था बनाउँदैछन्, मेयर शर्मा ।

नमोबुद्धका व्यवसायिक कुखुरापालकहरुलाई आवश्यक दानाको व्यवस्थापन र भएका कुखुरा शहर पठाउने तयारीमा छन्, शर्मा । मेयर भन्छन्, ‘कतिपयले खाद्यान्न सहयोग गर्छु भन्नुभएको छ, तर नगरलाई खाद्यान्न जरुरत नभएकाले नगरको कोषमा जम्मा गर्न लगाउने तयारीमा छु, यदि महामारी निम्तिए त्यही कोष परिचालन गर्ने सोच बनाएको छु ।’

मेयरको चौंथो काम : भोलिको जोहो

नमोबुद्ध नगरपालिकाभित्र सञ्चालित पेट्रोल पम्पको अनुगमन गर्दै मेयर शर्माले पेट्रोलियम पदार्थको ‘स्टक’बारे जानकारी लिए । उनले हाल मौज्दात रहेको पेट्रोलियम पदार्थ अत्यावश्यक अवस्थामा मात्र विक्री गर्न अनुरोध गरे । मेयर टिपी शर्मा भन्छन्, ‘भोलि अप्ठ्यारो पर्दा एम्बुलेन्स, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायतका सवारीमा आवश्यक इन्धनको अभाव नहोस् भनेर यसो गरेको हुँ ।’ मेयरले नगरभित्रका पम्प सञ्चाकहरुलाई नगरपालिकाको आधिकारिक पत्रनै पठाउने तयारी गरेका छन् ।

मेयर शर्मासँग भूईचालोका बेलामा भोगेको नमिठो अनुभव छ । संकटका बेला बेथिती पनि सँगसँगै जन्मिने भएकाले भूईचालोमा भएको जस्तो वन विनाश अहिले नहोस् भनेर मेयर सजग छन् । उनी भन्छन्, ‘चरुवा, भेडाबारी लगायतका नगरभित्रका महत्वपूर्ण जंगलको संरक्षण गर्न नगरपालिका चानाखो भएर लागेको छ ।’

मेयरको पाँचौं काम : यसरी जित्दै नगरवासीको विश्वास

नगरभित्रै रहेको नेपाली सेनाको बाहिनीलाई साथमा लिएर मेयर शर्माले काम गरिरहेका छन् । यतिबेला उपत्यका र अन्य ठाउँमा बसोबास गर्दै आएका नमोबुद्ध नगरवासी गाउँ फर्किएका छन् । प्रत्येक टोलमा २० देखि २५ जना थपिएका छन् । उनीहरुको सहयोग पनि लिन भ्याईरहेका छन्, मेयर शर्मा । उनी भन्छन्, ‘हर हिसाबले नमोबुद्ध तयारी अवस्थामा छ, हामीसँग एउटा गाडि, एउटा एम्बुलेन्स छ र अर्काे प्रशासकीय अधिकृत चढ्ने गाडिलाई पनि तयारी अवस्थामा राखेका छौं ।’ तर, मेयर शर्मालाई एउटा चिन्ता थपिएको छ । लकडाउन भएपनि राजमार्गमा दैनिकजसो ५ सय भन्दा बढी गाडि कुद्ने भएकाले यसबाट नगरलाई सुरक्षित गराउने चुनौति देख्छन्, मेयर शर्मा ।

नगरभित्रका सबैजसो सहकारी संस्था बन्द गरेका मेयर शर्माले बैंकिङ् सेवा भने सुचारु गराएका छन् । उता रातदिन खटिने स्वास्थ्यकर्मीका लागि ५० हजार रुपैयाँ छुट्याएका छन् । त्यस्तै, उनले विहान ६ बजेदेखि ९ बजेसम्म र बेलुकी ३ बजेदेखि ६ बजेसम्म निश्चित घेरा बनाएर किनमेल गर्न बजार व्यवस्थित बनाएका छन् । नगरभित्र भइरहेका निर्माण कार्यमा खटिएका मजुदरलाई घर पठाउने व्यवस्था मिलाएका छन् । पैसा नभएकालाई व्यक्तिगत सहयोग गरेका छन् । गाडिको असुविधाले घर फर्किन नपाएकालाई मेयर आफैंले गाडिको व्यवस्थापन गरिदिएर मजदुरलाई विदाई गरिसकेका छन् ।

तामाङ्हरुको बाहुल्यता रहेको नमोबुद्ध नगरपालिकामा उनीहरुको संस्कारलाई छोट्याउन मेयरले गरेको आग्रहलाई उनीहरुले सहजै स्वीकार गरे । यस्तो अवस्था बनेपछि मेयर पनि खुशी छन् । तामाङ् संस्कारमा मानिसको मृत्यु भएपछि ७ दिनसम्म घ्यावो चल्छ, जुन अबदेखि एकैदिनमा सक्न तामाङ समुदाय तयार देखिएका छन् ।

र, अन्त्यमा : मेयरका कुरा

नमोबुद्ध नगरपालिकाका मेयर टिपी शर्मा तिमल्सिनाले चमत्कार गरेका होइनन् । मेयरले जे गर्नुपथ्र्याे, त्यहि गरेका हुन् । मेयर शर्मा भन्छन्, ‘जनताको विश्वासले बनेको मेयर हुँ, त्यसैले बेथितीका विरुद्ध जनपक्षीय काम गर्न समय हेर्दिनँ, निश्चित स्वार्थ भएकाहरु मेरो कार्यकालभरी असन्तुष्ट रहलान्, यसप्रति चिन्ता छैन, तर जनता मेरा भगवान् हुन् र उहाँहरुका लागि गर्ने कर्म नै मेरो धर्म हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *