सम्भावित जोखिमलाई ध्यानमा राखी २० लाखको कोष खडा गरेका छौंः मेयर श्रेष्ठ

मेयर खबरदाता, काठमाडौं
२५ चैत । कोरोना भाइरसको सङ्क्रमणवाट बच्न काठमाडौंको उत्तरी क्षेत्रमा रहेको शंखरापुर नगरपालिकाले उच्च सर्तकता अपनाएको छ । त्यसका लागि नगरले विपद व्यवस्थापन समिति नै गठन गरी बजेट देखी आइसोलेशन, क्वारेन्टाइन कक्ष निर्माण गर्दै अघि बढेको छ ।

कोरोना भाइरस जस्ता महामारी र विपदको लागि नगरपालिकाले २० लाखको विपद व्यवस्थापन कोष व्यवस्थापन गरिसकेको मेयर सुवर्ण श्रेष्ठले मेयर खवरलाई जानकारी दिनुभयो ।

उक्त कोषमा जनप्रतिनिधहिरुले पनि विगतमा पाएको सेवा सुुविधा वापतको एक महिनाको रकम जम्मा गरेका छन् ।
शंखरापुर नगरपालिकाले कोरोनावाट बच्न पहिलो चरणमा सचेतनासँगै नगरक्षेत्रभित्र औषधी छर्कने, विभिन्न स्थानमा हात धुने ठाउँको व्यवस्था गर्नेदेखी नगरवासीलाई घरमै पुगेर घरेलु स्यानेटाईजर समेत वितरण गरिसकेको छ ।

तेस्रो चरणको लकडाउन सफल पार्न र कोरानावाट बच्ने उपायका वारेमा नगरपालिकाले प्रत्येक दिन नगरभित्र माईकीङ र निरन्तर अनुगमन कार्य गरिरहेको मेयर श्रेष्ठले बताउनुभयो ।

लकडाउन लम्बीदा नगरका विपन्न परिवार र ज्याला मजदुरी गर्नेहरु समस्यामा परेको भन्दै नगरपालिकाले त्यस्ता परिवारको तथ्याङ्क संकलन गरी राहत वितरण कार्य शुरु गरेको छ । राहत अन्र्तगत चामल, दाल, तेललगायतका खाद्यवस्तु वितरण गरीरहेको नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *