कोरोना भाईरस (कोभिड–१९) विरुद्धको लडाईमा नागार्जुन नगरपालिका

श्रीकृष्ण बस्नेत
चीनको हुवेई प्रान्तबाट सुरु भएको नोवेल कोरोना भाइरस (कोभिड–१९) हाल विश्वको २०८ देशहरुमा फैलिसकेको छ । नेपालमा पनि हालसम्म ९ जनामा यो भाइरसको संक्रमित फेला परेकोमा १ जनामा निको भईसकेको अवस्था छ । नेपालमा कोरोनाको संक्रमण स्थानियरुपमा एक व्यक्तिको परिवारबाट आफन्तमा सरेको कारण दोस्रो चरणमा प्रवेश गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताइसकेको छ । हालसम्म यस नागार्जुन नगरपालिकामा भने कसैलाई पनि संक्रमको पुष्टी भएको छैन । जुन खुशीको कुरा हो ।

विश्वव्यापी महामारीकोरुपमा घोषणा गरिसकेको कोभिड–१९ ले विश्वको सामाजिक, आर्थिक, धार्मिक तथा राजनैतिक क्षेत्रलगायतका सम्पुर्ण क्षेत्रमा व्यापक असर परिरहेको अवस्थामा नेपाल पनि अलग रहन सकेको छैन । यस्तो परिस्थितिलाई थेग्न सक्नेगरि कुनै पनि देश तयारी अवस्थामा नरहेकाले यसबाट मृत्यु हुनेको संख्या अत्याधिक बढी रहेको छ । भुसको आगोझै फैलिरहेको यस संक्रमणलाई ध्यानमा राखी केहि सावधानीका प्रयासहरु भइरहेका थिए । तर छिमेकी राष्ट्रमा पनि कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएपछि हाम्रो देशमा फैलिनबाट रोक्न नेपाल सरकारले चैत्र ११ गतेदेखी २५ गतेसम्म घोषणा गरेको लकडाउन थप गरेर वैशाख ३ गतेसम्म लम्बाएको छ ।

आफ्नो जनतालाई कोभिड–१९ संक्रमणबाट बचाउन र क्षति न्युनिकरणको मनसायले राज्यद्वारा अवलम्वन गरेको विधिलाई पूर्ण रुपमा पालना गर्न नागार्जुन नगरपालिकाले नगरवासीलाई आव्हान गरिसकेको छ । राज्यद्वारा निर्देशित नीति, नियम तथा मापदण्डलाई लागु गरी समयमा नै स्वास्थ्यकर्मीहरुको तयारी, स्वास्थ्य संस्था व्यवस्थापन, औषधी तथा उपकरणको उपलब्धता, पि.पि.ई वितरण र जनतालाई कोरोनाको संक्रमण र रोकथामबाट बच्ने उपायहरु नगरवासी माझ माइकिङ, पर्चा पम्पलेट र सामाजिक संजालमार्फत संप्रेशण गर्ने कार्यहरु गरिसकेको छ ।

माननीय उप प्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलज्यूको संयोजकत्वमा गठित कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको २०७६/१२/०५ मा बसेको बैठकले गरेको सम्पूर्ण निर्णयहरु कार्यान्वयन गर्दै नगरबासीलाई उच्च सतर्कता अपनाउन अपिल गरिरहेको छ । जनतालाई सेवा सुविधा उपलब्ध गराउन अग्रपत्तिंmमा रहेको यस नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेतज्यूको अध्यक्षतामा २०७६/१२/१६ मा प्रदेश सभासद केशव पोखरेल तथा प्रकाश श्रेष्ठलगायत वडा अध्यक्ष, नगरसभा सदस्य एवं नगरपालिका कर्मचारीहरुको संयुक्त बैठकले उपमेयर शुसिला अधिकारीज्यूको अध्यक्षतामा जनप्रतिनिधि, सुरक्षाकर्मी, राजनैतिक दल, स्वास्थ्यकर्मी तथा कर्मचारी संलग्न एक नगरस्तरीय बजार अनुगमन समिति निर्माण गरिसकेको छ । त्यस्तै वडा अध्यक्षको संयोजकत्वमा सबै पक्षलाई समावेश गरि वडास्तरीय बजार अनुगमन समितिमार्फत काम भईरहेको छ ।

नगरबासीलाई पर्न सक्ने समस्या, गुनासो तथा आवश्यक जानकारी तथा परामर्श सेवा दिन सम्पर्कको लागी हट लाईनको समेत व्यवस्था गरिएको छ । नगरबासीलाई खाद्यान्नको अभाव हुन नदिन विहान ६ देखी १० बजेसम्म किराना, तरकारी तथा खाद्यान्न पसल खोल्ने र सामाजिक दुरी कायम गरी व्यवस्थित तरिकाबाट विक्री वितरण गर्ने कार्यको निगरानी नेपाल प्रहरीको सहयोगमा भइरहेको छ । विश्व स्वास्थ्य संगठनले दिएको सुझाव आपसी भेटघाट कम गर्ने, भिडभाड नगर्ने, शारीरिक निकटता कम गर्ने, सामाजिक दुरी कायम गर्ने, साबुन पानीले बारम्बार २० सेकेन्डसम्म मिचिमिचि हात धुने, मास्कको प्रयोग गर्ने जस्ता तरिका अपनाई संक्रमण फैलिनबाट आफु र अरुलाई बचाउने उपायहरु गम्भीरतापूर्वक पालना गर्न समेत सूचना जारी गरी लागु गरिएको छ ।

नागार्जुन नगरपालिकाले आफ्ना जनतालाई जोखिम मुक्त बनाउने उद्देश्यले वडा नम्बर ८ स्थित भिमढुंगा स्वास्थ्य चौकीमा ९ शैयाको आइसोलेशन वार्ड तयार गरिसकेको । त्यस्तै वडा नम्बर १ मा रहेको शहरी विकास विभागबाट निर्मित भवनमा ३० बेडको क्वारेन्टाइन वार्ड बनाउन प्रदेश सरकारसँग अनुरोध भई काम आगाडी बढीरहेको छ । नगरपालिका भित्रका मुख्य स्थानहरुमा संक्रमण फैलिन नदिन जिवाणु नाशक औषधि छर्कने काम सम्पन भईसकेको छ । वडा अध्यक्षलगायत अन्य जनप्रतिनिधि ज्यूहरुलाई कोरोना संक्रमण रोकथामको विरुद्धमा आ–आफ्नो वडामा समन्वयात्मक हिसावले युद्धस्तरमा खटिन मेयरज्यूले विभिन्न बैठकहरुमा निर्देशन दिइसक्नुभएको छ ।

नगरपालिकाको प्रमुख प्रशाशकिय अधिकृत कृष्णप्रसाद सापकोटाज्यूले पनि प्रशासनिक कार्य तथा खर्चमा पारदर्शितालाई ध्यानमा राखी सावधानीपूर्वक नियमित कामहरु गर्न अनुरोध गर्नुभएको छ । नगबासीलाई आवश्यक पर्ने सेवा सुविधा र राहत वडा कार्यालयहरुबाट प्रभावकारी रुपमा वितरण भइरहेको छ । नगरवासीलाई अत्यावश्यक समयमा आवश्यक पर्दा मेयर तथा उपमेयरज्यूले प्रयोग गरेका सवारी साधनलाई प्रयोग गर्न सकिने समेत निर्णय गरिएको छ ।

यस नगरपालिकामा गएको एक महिना भित्र १ देखि १० नम्बर वडामा विदेशबाट आएका ८३ जना व्यक्तिहरुको तथ्याङ्क संकलन गरि होम क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको छ । यस्ता व्यक्तिहरुको परिवार तथा आफन्तलाई पनि सचेत हुन आग्रह गर्दै शंकास्पद व्यक्तिहरुको कोभिड–१९ बाट संक्रमित भए नभएको यकिन गर्न ल्याव टेस्टको प्रकृया अगाडी बढाइएको छ । स्वास्थ्य सेवाका लागि बाहेक अन्य समयमा घर बाहिर नजान, त्रसित नभई सावधानी अपनाउन, सरकारी आदेशको पालना गर्न र घरमा आफ्नो परिवारसंग बसी सृजनात्मक तथा रचनात्मक कार्यहरुमा आफू तथा बालबालीकाहरुलाई संलग्न गराउन सामाजिक संजाल तथा बैठकहरुमार्फत कोरोना विरुद्धको लडाईमा एक्यबद्धता जनाउन नगरपालिकाले आग्रह गर्दै आईरहेको छ ।

लकडाउनका कारणले श्रमिक, विपन्न वर्ग तथा अपाङ्गता भएका व्यक्तिहरुलाई दैनिक गुजारा चलाउन मुस्किल परिरहेको छ । यस अवस्थामा नगर कार्यपालिकाले वडा अध्यक्षहरु सम्मिलित सर्वदलिय राहत वितरण समिति गठन गरी चामल, दाल, चिनी, तेल, चिउरालगायतका खाद्यान्न वडास्तरमा वितरण गर्ने कार्यको थालनी भइसकेको छ । नगरपालिकाले कोरोना विरुद्धको लडाईलाई जित्न कुनै कसर बाकी नराखी राजनैतिक दल, समाजसेवी, जनप्रतिनिधि एवं सम्पूर्ण आम नागरिकलाई एकताबद्ध गरी जिम्मेवारीपूर्वक कामहरु गर्दै आईरहेको छ ।

मेयर बस्नेतले यदि कोहि कोरोनाको संक्रमणबाट उपचार गर्नुपर्ने भएमा सम्पूर्ण खर्च नगरपालिकाले व्यहोर्ने गर्ने घोषणा समेत गर्नु भएको छ । साथै सामाजिक सुरक्षा भत्ता पाईरहेका व्यक्तिहरुलगायत सुत्केरी महिलालाई नेपाल सरकारले लकडाउन गरेको मिति देखि लागु हुने समय अवधीसम्म विरामी भई उपचार गराउनु पर्दा ५००० सम्म रकम सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिसक्नुभएको छ ।

अवका दिनहरुमा पनि यस संक्रमणबाट नागार्जुन नगरवासी कोहि पनि हताहत हुन नपरोस भनि नगरपालिका समय सापेक्ष कार्यक्रम र स्वास्थ्य सेवा संचालन गर्न कटिबद्ध छ । कोरोना भाइरस अर्थात कोभिड–१९ विरुद्धको अभियानमा घरमा नै बसेर, संयमित बन्ने, मनोबल उच्च राखी, मानविय कर्तब्य पुरा गरी परोपकारी बन्ने तथा संक्रमणको शंका लागेमा जाँचगर्न ढिलासुस्ती, हेलचक्रयाई नगरी सचेत नागरिक भुमिका निर्वाह गरौं ।

(लेखक श्रीकृष्ण बस्नेत नागार्जुन नगरपालिकाको कार्यक्रम संयोजक हुनुहुन्छ)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *