अण्डा उपहार पाएपछि तुलसीपुरका सुत्केरी दंग

मेयर खबरदाता, दाङ
२८ चैत । तुलसीपुर उप–महानगरपालिकाले लकडाउनको अवधिमा सुत्केरी भएकाहरुलाई पोषणका लागि अण्डा वितरण गरेको छ ।

सुत्केरी भएको अवधिमा धेरै पोषणयुक्त खाना चाहिने तर लकडाउनले गर्दा उपलब्ध नहुने भएकाले यस्तो कार्यक्रम अगाडि वढाइएको मेयर घनश्याम पाण्डेले बताउनुभएको छ ।

मेयर खबरसँग कुरा गर्दै उहाँले १९ वटै वडामा यो अवधिमा सुत्केरी भएका सय जनालाई एक क्यारेट अण्डा वितरण गरिने जानकारी दिनुभयो । मेयर पाण्डेका अनुसार सुत्केरी महिलाहरुको स्वस्थ्य राम्रो भयो भने मात्रै शिशु स्वस्थ हुने भएकाले अभियान सञ्चालन गरिएको हो ।

तुलसीपुर उपमहानगरपालिकाले मातृशिशु मृत्युदर कम गर्नका लागि सुत्केरी भत्ता समेत वितरण गर्दै आएको छ । सुत्केरी भत्ता वितरणमार्फत अनिवार्य रुपमा स्वास्थ्य चेकजाँच गर्ने बानीको विकास गरेपछि गतवर्ष उपमहानगरपालिका भित्र मातृशिशु मृत्युदर शुन्य भएको पनि मेयर पाण्डेले जानकारी दिनुभयो ।

स्वास्थ्यकर्मीमार्फत वडा नम्वर ४, ७ र ११ मा सबै सुत्केरीहरुलाई अण्डा वितरण गरिसकिएको र बाँकी वडामा एक साताभित्र वितरण भइसक्ने नगरपालिकाले जनाएको छ । घरमै स्वास्थ्य जाँच हुनुका साथै अण्डा पनि उपहारमा पाएपछि सुत्केरीहरुले खुसी व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *