मेयर कुटपिटको विषयमा नगरपालिका संघ मौन, भेरीका मेयरमाथी हातपात हुनुको कारण त यस्तो पो रहेछ …

मेयर खबरदाता, जाजरकोट

कर्णाली प्रदेशको भेरी नगरपालिकाका मेयर सिपि घर्ती मगरमाथी हातपात भएको छ । शनिबार विहान मृत्यु भएका पुन्मा गाविसका पूर्व अध्यक्ष मधु चन्दको फेरा खोला र भेरी नदीबिचको घाटमा अन्त्यष्टी गर्ने तयारी थियो । सोही घाटमा मेयर घर्ती विहान साँढे ११ बजेतिर पुगेका थिए । मेयर घर्ती आउने पक्का भएपछि ठूलै समुह बनाएर आक्रमणको तयारी गर्ने व्यक्ति राष्ट्रिय युवा संघका जाजरकोट अध्यक्ष दिपेन्द्र शाही रहेको मेयर घर्तीले जानकारी दिनुभयो ।

आक्रमणको तयारीका साथ बसेको दिपेन्द्र शाहीको समूहले मेयर घर्ती घाटमा पुग्ने वित्तिकै विवाद गर्न तम्सियो । र, उनीसँग केही विवाद गरेजस्तो गरी आक्रमणमा उत्रियो । बगरका ढुंगा मेयर घर्तीमाथी बर्षाएपछि मेयरको अनुहार र शरिरमा चोट लागेको छ । घर्तीले मेयर खबरलाई भन्नुभयो, ‘घाटमा पुग्ने जो कोही पनि शुन्य हुन्छ, शान्त हुन्छ । घाटमा पनि स्वार्थ हेर्ने ति अपराधी मानसिकतामा मानिस हुन् ।’

हातपातभित्रको रहस्य

मेयर घर्तीलाई हातपात गर्ने दिपेन्द्र शाही र मेयर घर्ती एउटै पार्टी हुन् । दुवै तत्कालिन एमालेकै हुन् । भेरीको मेयरमा घर्ती आउने वित्तिकै शाहीले डोजर आतंक मच्चाउन खोजेको आरोप शाहीमाथी छ । शाहीले मेयर घर्तीलाई डोजरलाई काम दिन बारम्बार आग्रह गर्दा नमानेपछि धम्की दिने गरेको नगरपालिकाका कर्मचारीहरु बताउँछन् । मेयर घर्ती भन्नुहुन्छ, ‘म मेयर हुँ, अहिले नेकपाको मात्रै होइन, सबैको मेयर हुँ, म विधि र प्रक्रियामा चल्नुपर्छ, हामीसँग कार्यपालिका छ, त्यहाँबाट निर्णय गराएर काम गर्नुपर्छ, विधि र प्रक्रिया नमान्ने र आफ्नै स्वार्थ मात्र हेर्नेहरुको धम्कीले म हिजो पनि डराईन र भोली पनि डराउँदिन ।’

नगरपालिका संघ मौन

मुलुकभित्र रहेका २ सय ९३ नगरपालिकाका मेयर, उपमेयरहरुको छाता संस्था नेपाल नगरपालिका संघ भेरीका मेयरमाथी भएको हातपातका विषयमा मौन देखिएको छ । संघको वेभसाईट हिजो नै अपडेट भएको छ । बागमती प्रदेशले तयार गरेको स्थानीय जनप्रतिनिधिको सुविधा सम्बन्धी ऐन २०७५ लााई अपलोड गरिएको छ । तर, मेयर घर्तीको मुद्दामा भने कुनै चासो अहिलेसम्म संघले देखाएको छैन । एकजना मेयरको भनाई थियो, ‘मेयर घर्तीको र नगरपालिका संघको नेतृत्व गरेका अशोक व्यञ्जुको पार्टी एउटै भएर त्यसो भएको हुनसक्छ ।’ पार्टी, विचार, गुट भन्दा माथी उठेर सबै नगरपालिकाका मेयर उपमेयरहरुको जटिलतालाई सहजीकरण गर्नुपर्ने भन्दै उहाँले प्रश्न गर्नुभयोे, ‘आपराधिक क्रियाकलाप भइरहँदासम्म पनि नबोल्ने हो भने नगरपालिका संघ कसका लागि बनेको हो ?’

मेयर खबरले बारम्बार संघका अध्यक्ष अशोक व्यञ्जुलाई सम्पर्क गर्दा फोन नउठेपछि महासचिव भिम ढुंगानालाई सम्पर्क गरेर बुझ्न खोजेको थियो । महासचिव ढुंगानाले फोन त उठाउनुभयो तर उहाँले अनभिज्ञता व्यक्त गर्नुभयो । अघिल्लो दिन १२ बजेदेखि भाइरल भएको घट्नाबारे जानकार नभएको बताउनुभएका महासचिव ढुंगानाले भन्नुभयो, ‘मेरोतिर नेट राम्रो चलिरहेको छैन । म बुझौंला ।’

कोही मर्यो भन्दा पनि काल पल्क्यो है भनेर कहिले बुझ्ने ?

दिन रात नभनी जनताको सेवामा खटिरहेका नगर जनप्रतिनिधिका सवाल निकै पेचिला बन्दै गएका छन् । एकातिर सर्वाेच्चले कुनै पारिश्रमिक लिन नमिल्ने भन्दै आदेश गरेको छ भने अर्काेतिर खटाई झन् बढ्दो छ । तर, यतिबेला यो विषय भन्दा पनि यतिबेला जनप्रतिनिधिहरुको सुरक्षा झन् महत्वपूर्ण बनेको छ । सोही नगरका आपराधिक समुहसँग नगर जनप्रतिनिधिहरु त्रस्त हुनुपर्ने अवस्था छ । यसपटकको भेरी नगरपालिकाको र यसअघि भएका अन्य थुप्रै घट्नाले जनप्रतिनिधिलाई निरुत्साहित गराइरहेको छ । र, अझ अहिले राहत वितरणको सन्दर्भमा मेयरहरु कुटिए भनेर समाचार सुन्नु नपर्ला भन्न सकिन्न । यस्तो अवस्थामा मेयर उपमेयरहरुका लागि बोलिदिने संस्था नेपाल नगरपालिका संघ नै मौन हुनु दुर्भाग्य भएको मेयरहरु बताउँछन् ।

2 Replies to “मेयर कुटपिटको विषयमा नगरपालिका संघ मौन, भेरीका मेयरमाथी हातपात हुनुको कारण त यस्तो पो रहेछ …”

  1. यो सडके गुन्डा हरुलाई तुरुन्त कारबाही होस् !

  2. selfish people are always there for irrespective thinking and bad work . So you just think like let it be but show your attitude by your amazing work through your capacity and capability !! Abort back biting.. (if you are right)

Leave a Reply

Your email address will not be published. Required fields are marked *