लालबन्दी अपडेट : २५ सयको उद्धार, ४४ सयलाई राहत

मेयर खबरदाता, सर्लाही

१५ वैशाख । कोरोना संक्रमणको रोकथाम तथा संभावित महामारी विरुद्ध बच्ने उपायका बारेमा लालबन्दी नगरपालिकाले गरेका प्रयत्न निकै लोभ लाग्दा छन् । नगरक्षेत्रभित्र कोरोना संक्रमण फैलिन नदिन उच्च सर्तकता अपनाएको यो नगरपालिकाले रोजगारीका लागि देशका विभिन्न क्षेत्रमा पुगेका ईटाभट्टामा कार्यरत मजदुरकोे उद्धार गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनका कारण अलपत्र परेका २५ सय भन्दा बढी मजदुरलाई नगरले उद्धार गरि घर ल्याएको हो ।

लकडाउपछि पहिलोपटक लालबन्दी नगरपालिकाले मजदुर उद्धार गरेपछि अन्य नगरपालिकाले पनि आफ्ना नागरिक घर ल्याउन शुरु गरेका थिए । उद्धार गरेर ल्याईएका लालबन्दी नगरबासीहरुलाई स्वास्थ्यकार्मीको उच्च निगरानीमा होम क्वारेन्टाईनमा राखिएको उपमेयर शान्ती कुमारी लामाले मेयर खबरलाई जानकारी दिनुभयो ।

क्वारेन्टाईन

लालबन्दी नगरपालिकाले ४० बेड क्षमताको क्वारेन्टाईन बनाएको छ । सो क्वारेन्टानईनमा अहिले ६ जना बसिरहेका छन् । उनीहरुको हरेक दिन स्वास्थ्य परीक्षण गर्ने गरिएको छ । उपमेयर लामाका अनुसार क्वारेन्टाईनमा बसेकाहरु केही अवधी पुरा गरि घर फर्किसकेका छन् । घर फर्किएका हरुलाई पनि नगरपालिकाले निगरानीमा राखेको छ । त्यस्तै नगरपालिकाका ६ जनामा गरिएको स्वाब परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

राहत

लकडाउन लम्बिदा नगरका विपन्न परिवार र ज्याला मजदुरी गर्नेहरु समस्यामा परेको भन्दै नगरपालिकाले त्यस्ता ४४ सय ३६ परिवारलाई राहत वितरण गरिसकेको छ । परिवारको सदस्य संख्या अनुसार तीन भागमा वर्गिकरण गरी नगरपालिकाले राहत वितरण गरेको थियो ।

नगरपालिका अहिले दोस्रो चरणको राहत वितरणका लागी तथ्यांक संकलनमा जुटेको छ । दोस्रो चरणमा राहत लिनेको संख्या झन बढ्न सक्ने उपमेयर लामाले बताउनुभयो ।

सहायता कोष

लालबन्दी नगरपालिकाले बनाएको सहायता कोषमा हालसम्म ४७ लाख रुपैयाँ जम्मा भईसकेको छ । कोषमा रकम सहयोग गर्ने संघ संस्था तथा व्यक्तीहरु बढ्दै गएका छन् । उक्त कोषमा प्रदेश सरकारबाट १५ लाख, नगरपालिकाबाट १५ लाख र विभिन्न दाताबाट १७ लाख जम्मा भएको हो ।

नगरपालिकाले सोही कोषमा जम्म भएको रकमले राहत वितरण गरेको थियो । लालबन्दी नगरभित्र नगरपालिकाले सामाजिक दुरी कायम राख्दै दैनिक उपभोग्य सामग्री खाद्यान्न, दूध, औषधि आदिको विक्रि वितरण गर्ने समेत व्यवस्था मिलाएको छ ।

One Reply to “लालबन्दी अपडेट : २५ सयको उद्धार, ४४ सयलाई राहत”

Leave a Reply

Your email address will not be published. Required fields are marked *