मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…

विराटनगरले ‘जा’ भन्यो, काठमाडौंले ‘उतै जा’ भन्यो, मेयर भन्छन्, ‘काठमाडौंले हेप्यो’ (भिडियो सहित)
शिव अधिकारी
सोच्नुुस् कि तपाईं अरुको घरमा केहि दिन पाहुना भएर बस्नुभयो । घर फर्किने इच्छा हुँदाहुँदै त्यहिं अड्किनुभयो । तपाईंलाई पाहुना बसेको घरले गाडि खोजिदिएर, भाडा तिरिदिएर तपाईंको घर पठायो । तपाईं खुशी हुँदै फर्किनुभयो । तर तपाईंको घरभित्र पनि पस्न पाउनुभएन । अब उताबाट पनि निकालिदियो । तपाईंलाई ल्याउने बस पनि फर्किसक्यो ।
अब तपाईं के गर्नुहुन्छ ?
रुनुहुन्छ ? कराउनुहुन्छ ? कतिञ्जेल ? भोक, घाम र पानी सहेर कतिञ्जेल बस्नुहुन्छ, बिच बाटोमै ।
यो घट्ना वास्तविक हो । कामको सिलसिलामा, आफन्तको समारोहमा सहभागी हुन विराटनगर गएका केहि काठमाडौंबासी लकडाउनले उतै विराटनगरतिरै अड्किए । सरकारले गरेको लकडाउनको तेश्रो चरणसम्म जसोतसो बसेका नागरिक अब थेगिन सक्ने अवस्था थिएन । उनीहरुकै आग्रहमा विराटनगर महानगरपालिकाले गाडि खोजेर काठमाडौं पठाईदियो । आईतबार दिउसो ३ बजेतिर हिंडेका उनीहरु काठमाडौं प्रवेशद्वार नागढुङ्गामा सोमबार विहानै आईपुगे पनि उनीहरुलाई काठमाडौंले प्रवेश दिएन ।
पानी परिरहेको छ, कोही काखमा सानो बच्चा च्यापेर सडक छेउको पसलको पींढिमा टुक्रुक्क बसिरहेका छन्, सामानको झोलामाथी बसेर कोही निदाईरहेका छन् त कोही यताउती हिंड्दै फोनमा आफन्तसँग बिलौना गरिरहेका छन् । यो मर्माहत दृष्यले काठमाडौंलाई छोएन । बरु, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, प्रहरी प्रमुख र ट्राफिक प्रमुख नागढुङ्गा पुगेरै निर्देशन दिए, ‘नछोड्नु ।’
विराटनगर के भन्छ ?
विराटनगर महानगरपालिकाले काठमाडौं पठाईएका नागरिकको स्वास्थ्य जाँच गराएर मात्रै पठाईएको बताएको छ । मेयर भिम पराजुलीले भन्नुभयो, ‘हामीले हाम्रो कर्तव्य पुरा गरेको हो, के हामी टुलुटुलु हेरेर बस्ने ? के अलपत्र पार्दिने ? उद्दार गरेका हौं, हामीले ।’
स्याबासी पाउँला भन्ने अपेक्षा नगरेका मेयर पराजुलीले संघीय सरकारको गाली पाए । हिंड्ने बेलामा स्यानिटाईजर, पन्जा, मास्क दिएर पठाएको थियो । तर, आफुले पठाएका काठमाडौंबासीलाई काठमाडौंले नै प्रवेश नदिएपछि चिन्ता लागेको बताउँदै मेयर पराजुलीले भन्नुभयो, ‘दैनिक रुपमा सयौं गाडि काठमाडौंले रातारात बाहिर पठाउने अनि आफ्ना नागरिकलाई नभित्र्याउने ? यस्तो पनि मानवता हुन्छ ?’ मेयर पराजुलीले काठमाडौंले पठाएका नागरिकलाई विराटनगर महानगरले स्वागत गर्ने गरेको बताए । महानगरले काठमाडौंबाट आएकाहरुलाई घरघरमा छोड्न गाडिको व्यवस्थै गरेको छ ।
उसोभए उनीहरु विराटनगरै फर्किन्छन् त ? भनेर मेयर खबरले सोधेको प्रश्नको जवाफमा मेयर पराजुलीले भन्नुभयो, ‘संघीय सरकार मुर्ख छ जस्तो मलाई लाग्दैन । यदि फर्किहाले भने ति यात्रु मात्र होइन, काठमाडौंबासी सबै आए पनि हामी पाल्छौं ।’
मेयर पराजुलीले काठमाडौं मात्रै नेपाल हो र ? भन्दै सरकारको हेपाहा प्रवृत्ति देखेर मन दुखेको बताउनुभयो । मेयर पराजुलीका अनुसार उहाँले काठमाडौंका प्रमुख जिल्ला अधिकारी र गृह मन्त्रालयका प्रवक्तासँग यस विषयमा कुरा भइसकेको छ । उहाँले आफ्नो घरमा छिर्न नपाउने कहाँको कानून हो ? भन्दै काठमाडौं गएका यात्रुहरु भारतीय र जमाती नभएको भन्दै स्वस्थ मानिसलाई काठमाडौं पस्न दिनुपर्ने बताउनुभयो ।
काठमाडौं के भन्छ ?
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसँग बुझ्न खोज्दा फोन नउठेपछि उपमेयर हरिप्रभा खड्गीलाई मेयर खबरले सम्पर्क गरेको थियो । उपमेयर खड्गीले भन्नुभयो, ‘यो विषय तपाईंले भनेर बल्ल थाहा पाएँ, हामीलाई यो अधिकार छैन, प्रमुख जिल्ला अधिकारीलाई दिइएको छ, उहाँलाई नै सोध्नुहोला ।’
उसो भए के भन्छन् त सिडिओ ?
काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनकराज दाहालले बाहिरका नागरिकलाई काठमाडौं भित्र्याउने नीति नरहेको बताउनुभयो । उहाँले मेयर खबरसँग भन्नुभयो, ‘आउन दिने भए लकडाउन किन गर्नुपथ्र्याे ।’ काठमाडौंबाट बाहिरिन दिने तर भित्रिन किन रोक लगाएको भन्ने मेयर खबरको प्रश्नमा सिडिओ दाहालको भनाई यस्तो थियो, ‘धेरै ठूलो दवाब आएकाले हामीले बाहिर जानेहरुलाई सहजिकरण गरिदिएका हौं, तर हामी काठमाडौं छिराउँदैनौं ।’
सिडियो दाहालले विराटनगरबाट आएका यात्रुको विषयमा थानकोटमा आइपुगेपछि मात्र थाहा पाएको बताउनुभयो । दाहालले अब उहाँहरु जताबाट आएको उतै फर्किनुहुने जानकारी दिनुभयो । सिडिओ दाहालले भन्नुभयो, ‘उहाँहरु फर्किनुहुन्छ, दुःख मान्नुभएन ।’
अझै पनि यात्रु नागढुंगामै
यो समाचार तयार पार्दा सम्म पनि विराटनगरबाट काठमाडौं आएका यात्रुहरु नागढुंगामै अलपत्र अवस्थामा रहेका छन् । अहिले बेलुकी ६ः१५ मा सम्पर्कमा आउनुभएका ६४ बर्षिय प्रमोद पोखरेल र उहाँकी श्रीमती निलम पोखरेल चिसो पिंढीमा बसिरहनुभएको छ । अब के हुने हो भन्ने कुनै जानकारीसम्म पनि सरकारले नदिएको पोखरेल दम्पत्तिको भनाई छ ।
किन रोकिएन बिचमै ?
प्रदेश १ बाट काठमाडौं आईपुग्दा बाटोमा पर्ने सयौं चेकिङ प्वाईन्टमा किन नरोकिएको भन्दै यात्रुहरुले गुनासो गरेका छन् ।