पाँच उपमेयरहरुको एउटै श्वर, ‘स्थानीय सरकार जनताका पीडा टुलुटुलु हेरेर बस्ने सरकार होइन’

मेयर खबरदाता

नेपालमा कोरोना संक्रमण नियन्त्रणका लागि भएको लकडाउनसँगै आम जनजीवनमा नराम्रो प्रभाव देखिन थालिसकेको भन्दै पाँच उपमेयरहरुले स्थानीय सरकारले स्रोत जुटाउन सकुन्जेल जनताका पीडा टुलुटुलु हेरेर नबस्ने बताउनुभएको छ । उहाँहरुले यदि विनियोजित स्रोत सकियो भने पनि जुनसुकै अवस्थामा जनताले पीडा अनुभुती गर्नु पर्ने दिन नआउनेमा आश्वस्त पार्नुभएको छ । उहाँहरुले भन्नुभयो, ‘अरु सरकारले बोलिदिए पुग्छ, हामीले त गर्नुपर्छ किनकी हरेक दिन तिनै जनतासँग हुन्छौं, त्यसैले बोल्नका लागि बोलिएको होइन ।’

मेयर खबरको समन्वयमा न्यूज २४ टेलिभिजनबाट दैनिक रुपमा प्रशारण हुँदै आएको टेलिभिजन श्रृंखला ‘युद्ध– कोरोनाविरुद्ध’को २० औं श्रृंखलामा बोल्दै उपमेयरहरुले संघ र प्रदेश सरकारको आश गरुञ्जेल चिन्तामा रहेका जनता चितामा पुगिसक्ने भन्दै पीडा हेरेर नबसी तत्काल आवश्यक सहयोग गर्न स्थानीय सरकार प्रयत्नशिल रहेको बताउनुभएको हो ।

स्थानीय सरकारले सुरुवाती चरणमा जनचेतना, क्वारेन्टाईन स्थापना, आईसोलेसन कक्ष निर्माण, बाहिरबाट आएकाहरुको व्यवस्थापना, स्वास्थ्य चेकजाँच हुँदै एक चरणको राहत समेतका काम सम्पन्न भइसकेको उपमेयरहरुले जानकारी दिनुभयो ।

भेरीगंगा नगरपालिकाकी उपमेयर रेणु आचार्य र कोहलपुर नगरपालिकाकी उपमेयर सञ्जु कुमारी थारुले आफुहरुले अलपत्र परेका यात्रुलाई गन्तव्यस्थलसम्म पुग्नका लागि सहजीकरण गरेपनि प्रदेश सरकारले बेवास्ता गरेको आरोप लगाउनुभएको छ । कोहलपुरकी उपमेयर थारुले भन्नुभयो, ‘कि त जहाँ बसेको हो त्यहीं रोक्नु पर्यो, नत्र कर्णाली र सुदूरपश्चिम प्रदेशको दोबाटोमा रहेको कोहलपुरले सबैलाई त पाल्न सक्दैन नि, प्रदेश सरकारको बेवास्ताले अहिले जनता पुलमुनी र जंगलमा रात काट्न बाध्य छन् ।’

हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामा र फलेवास नगरपालिकाकी उपमेयर मञ्जु अधिकारीले विदेशमा रहेका नेपाली युवा अब मुलुक फर्किने भएकाले रोजगारी सिर्जनाका लागि स्थानीय सरकार लागिरहेको भएपनि संघ र प्रदेश सरकारले निश्चित योजनाका साथ अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।

हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर विमला राईले सरकारले श्रोतको वितरणमा विभेद नगरोस् भन्दै सुख्खाग्रस्त नगरवासीको खाद्यान्न संकट टार्न नगरसँग भएको बजेट अपुग हुने भएकाले सबैलाई सहयोगका लागि आब्हान गर्नुभयो ।

कार्यक्रममा प्रदेश १ बाट खोटाङ जिल्लाको हलेसी नगरपालिकाकी उपमेयर विमला राई, बागमती प्रदेशबाट मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामा, गण्डकी प्रदेशबाट पर्वत जिल्लाको फलेवास नगरपालिकाकी उपमेयर मञ्जु अधिकारी, प्रदेश ५ बाट बाँके जिल्लाको कोहलपुर नगरपालिकाकी उपमेयर सञ्जु कुमारी थारु र कर्णाली प्रदेशबाट सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिकाकी उपमेयर रेणु आचार्य गरी पाँच प्रदेशका पाँच उपमेयर सहभागी रहनुभएको सहजकर्ता शिव अधिकारीले जानकारी दिनुभयो ।

न्यूज २४ टेलिभिजनबाट प्रत्येक दिन विहान ८ः३० र १०ः३० बजे प्रशारण हुँदै आएको विशेष टेलिभिजन श्रृंखला ‘युद्ध– कोरोनाविरुद्ध’को आज उपमेयरहरुसँगको २० औं श्रृंखला प्रशारण हुने जनसम्पर्क अधिकृत प्रसन्न ढुंगानाले जानकारी दिनुभयो ।

स्थानीय सरकारका अपेडेट लिन, हामी आउँछौं हरेक दिन

Leave a Reply

Your email address will not be published. Required fields are marked *