आफ्ना नगरबासीलाई सहयोग गर्न रामपुरका मेयर काठमाडौंमा

मेयर खबरदाता, पाल्पा

२३ वैशाख । लकडाउनका कारण समस्यामा परेका आफ्ना नगरबासीलाई सहयोग गर्न पाल्पाको रामपुर नगरपालिकाका मेयर रमण बहादुर थापा अहिले काठमाडौंमा हुनुहुन्छ ।

रोजगारी र पढाईको सिलसिलामा उपत्यकामा रहेका रामपुरबासी एक महिना भन्दा बढीको यो लकडाउनको कारण समस्यामा परेपछि मेयर थापा सहयोग गर्न आफैं उपत्यका आउनु भएको हो ।

मेयर खबरसँग कुरागर्दै मेयर थापाले अप्ठ्यारोमा परेका रामपुरबासीलाई राहत वितरण गर्न आफु काठमाडौं आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘भोट माग्न मात्र नगरबासीको घर जाने हैन नी ! यस्तो समयमा त मानवताको हिसाबले पनि सहयोग गर्नुपर्छ । मानवता सँगसँगै आफु नगरपालिकाको अभिभावक भएको नाताले नगरबासीलाई सहयोग गर्न आएको हुँ ।’

मेयर थापाको अनुसार सम्पर्कमा आएका झण्डै ८५ परिवारलाई प्रतिपरिवार २ हजारदेखि २५ सय सम्मको खाद्यान्न वितरण गर्ने तयारी भएको छ । यो विषयमा नगरपालिकाले यस अघि नै निर्णय गरेको थियो ।

घर लगेर क्वारेन्टाइनमा राख्नुभन्दा सुरक्षित रुपमा काठमाडौंमै रहेका नगबासीलाई आवश्यक सहयोग गर्नु नै उपयुक्त देखिएकाले यस्तो पहल गरिएको मेयर थापाले बताउनुभयो ।

यस अघि पनि मेयर थापा आफै काठमाडौं आएर १ सय ६८ जनाको उद्धार गरी रामपुर लानु भएको थियो । घर फर्कनेहरुलाई स्वास्थ्य परीक्षण गरी क्वारेन्टाइनमा राखेको नगरपालिकाले जनाएको छ ।

कोरोना संक्रमण रोकथाममा नगरको प्रयास

कोरोना महामारीको यो समयमा नगरपालिकाले विशेष गरी स्वास्थ्य क्षेत्रलाई नै प्राथमिकतामा राखेर काम गरिरहेको छ । कोरोना संक्रमण रोकथाम र नियन्त्रणको लागि नगरपालिकाले बनाएको क्वारन्टाइनमा अहिले २९ जना रहेका छन् । नगरले हालसम्म २५ जनाको र्यापीड परीक्षण गरेको छ ।

त्यस्तै नगरभित्र भएका दिर्घरोगी तथा नियमित औषधि सेवन गर्नेलाई लकडाउनले समस्या पारेपछि त्यस्ता व्यक्तिहरुको घरघमै नगरपालिकाले औषधि समेत वितरण गरिरहेको छ ।

पहिलो चरणमा रामपुर नगरपालिकाले १ हजार ६६ विपन्न परिवारका ४ हजार व्यक्ति लाभान्वीत हुने गरी राहत वितरण गरेको थियो भने दोस्रो चरणमा अहिले १८ सय ९१ परिवारका ७ हजार ३ सय व्यक्तिलाई राहत प्रदान गर्दै आईरहेको छ ।

कृषकलाई अनुदान

नगरपालिकाले २ वर्ष भन्दा पहिलेदेखि बाँजो रहेका जमिनमा खेती गर्नेलाई अनुदानको व्यवस्था गरेको छ । तरकारी खेती गर्नेलाई प्रति रोपनी ५ हजार र मकै खेती गर्नेलाई प्रति रोपनी ३ हजार र किसानका लागि १२ लाखसम्मको ऋणमा रामपुर नगरपालिकाले व्याज अनुदान दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *