खाद्यान्नको लागि रोजगारी कार्यक्रम, ८ सय १० रुपैयाँ ज्याला पाउने

मेयर खबरदाता, भक्तपुर
२४ वैशाख । चाँगुनारायण नगरपालिकाले खाद्यान्नका लागि रोजगारी कार्यक्रम शुरु गरेपछि लकडाउनका कारण रोजीरोटी गुमाउन पुगेका श्रमिक तथा विपन्न परिवारले काम पाएका छन् । यतिबेला झण्डै ५ सय श्रमिकहरु वडाभित्रका सडक तथा खानेपानी मर्मत र जडिबुटी खेती गर्ने स्थानमा झाडी सफा गरेर जमिन तयार गर्ने लगायतका काममा जुटेका छन् ।

काम गरे वापत श्रमिकहरुले प्रतिदिन ८ सय १० रुपैयाँ ज्याला पाउने मेयर सोम प्रसाद मिश्रले मेयर खबरलाई जानकारी दिनुभयो । एक जनालाई २ दिनका लागि काम दिने गरि नगरपालिकाले पालैपालो श्रमिकलाई खटाउने गरेको छ ।

लकडाउनले प्रभावित भएका विपन्न परिवारलाई श्रममा आधारित रोजगारी दिने उद्देश्यले नगरपालिकाले खाद्यान्नका लागि रोजगारी कार्यक्रम संचालन गरेको मेयर मिश्रले बताउनुभयो ।

लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरि गुजारा चलाउनु पर्ने परिवारलाई यसअघि चाँगुनारायण नगरपालिकाल राहत समेत वितरण गरेको थियो । त्यस्तै लकडाउनका कारण समस्यामा परेकाहरुलाई सहयोग गर्न चाँगुनाराण नगरपालिकाले स्थापना गरेको कोषमा चाँगुनारायण प्याब्सन नगर कार्य समितिले पनि १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *