नेपालगञ्जमा कोरोना, सुर्खेतमा त्रास

मेयर खबरदाता, सुर्खेत
२५ वैशाख । ‘नेपालगञ्जमा कोरोना देखियो, प्रदेशका सबै नाका बन्द भए अब समस्यामा हामी पो पर्यौं त ।’ मेयर खबरले गरेको टेलिफोन संवादमा सुर्खेतको गुर्भाकोट नगरपालिकाका मेयर हस्त बहादुर पुनले व्यक्त गर्नुभएको हुबहु शब्द हो यो ।
कर्णाली प्रदेशको सुर्खेत लगाएतका अधिकांश जिल्लाहरु धेरै कुरामा नेपालगञ्जसंग निर्भर छन् । त्यहाँ कोरोनाको संक्रमण देखिएपछि कर्णालीमा पनि जोखिम बढ्नु स्वभावीकै हो । कर्णाली प्रदेश सरकारले मंगलवारदेखि सात दिनसम्मका लागि प्रदेशका प्रमुख नाकामा आवातजावत पूर्णरुपमा बन्द गरेको छ । यो संगै अब सवारीसाधन मात्र नभई पैदल यात्रामा समेत रोक लागेको छ ।

फोन संबादको क्रममा मेयर पुनले भन्नुभयो, ‘हाम्रो नगरपालिकामा खाद्यान्नदेखि औषधिसम्म नेपालगञ्ज बाटै आउँथ्यो, त्यहाँ संक्रमण बढेपछि अब सामान ल्याउनपनि समस्या भएको छ ।’

यसको बाबजुद नगरपालिकाले समस्या आयो भन्दैमा चुपलागेर बस्न नमिल्ने भन्दै जनतालाई सहज रुपमा खाद्यान्न लगाएतका सामग्री उपलब्ध गराउन नगरभित्रका व्यवसायीसँग आवस्यक समन्वय गरिरहेको छ ।

नजिकैको जिल्लामा दिन प्रतिदिन कोरोना संक्रमित बढिरहँदा गुर्भाकोटमा भने परीक्षण किट देखि अन्य स्वास्थ्य सामग्रीको अभाव रहेको मेयर पुनको गुनासो रहेको छ । मेयर खबर मार्फत पुनले प्रदेश र संघ सरकारलाई यसतर्फ ध्यान पुर्याई दिन आग्रह समेत गर्नुभएको छ ।

कोरोना रोकथाममा नगरको प्रयत्न

नगरपालिकाले ७ सय भन्दा बढी व्यक्तिलाई स्वास्थ्यकर्मीको उच्च निगरानी होमक्वारेन्टाइनमा राखेको छ भने १ सय १३ जनालाई विभिन्न ७ स्थानमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ ।

नगरपालिकाले होमक्वारेन्टाइनमा रहेका १ सय २३ जनाको आरडीटी र १३ जनाको स्वाब परीक्षण गरिसकेको छ । त्यस्तै क्वारेन्टाइनमा रहेका ८० जनाको पनि आरडीटी परिक्षण गरिसकेको स्वास्थ्य शाखा प्रमुख महेश कुमार पुरीले बताउनुभयो ।

साथै नगरपालिकाले नगरभित्रका सम्पूर्ण खाद्य पसललाई हप्तामा ३ दिन मात्र खोल्न निर्देशन दिएको छ । खोलिने दिनमा पनि बिहान ७ देखि ९ बजेसम्म मात्र बिक्रि वितरण गर्न पाईने व्यवस्था मिलाएको छ ।

कोरोना संक्रमण रोकथामकालागी नगरपालिकाले स्थापना गरेको कोषमा हालसम्म १ करोड १० लाख रुपैयाँ संकलन भईसकेको छ । जसमा नगरपालिकाले ९३ लाख कार्णाली प्रदेश सरकारले २० लाख नगरपालिकाले र विभिन्न सहयोगी हातबाट ७ लाख प्राप्त भएको नगरपालिकाले जनाएको छ ।

नगरभित्र रहेका ३ हजार विपन्न परिवारका करीब १० हजार व्यक्ति लाभान्वीत हुने गरी ३४ लाख बराबरको राहत नगरपालिकाले यस अघि वितरण गरिसकेको छ । नगरपालिकामा कृषि पेशामा आबद्ध रहेका परिवारको संख्या धेरै रहेकाले खाद्यान्नको समस्या खासै नहुने देखिएपनि आवस्यक सहयोग गर्न गुर्भाकोट नगरपालिका हरसमय तयार रहेको मेयर हस्त बहादुर पुनले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *