चौरजहारीमा १८ दिनमै कोरोना विशेष अस्पताल तयार

मेयर खबरदात, रुकुम पश्चिम
२५ वैशाख । चौरजहारी नगरपालिकाले प्रदेश सरकारको सहयोगमा १५ शैयाको कोरोना विशेष अस्पताल निर्माण गरेको छ । गम्भीर प्रकृतिका कोरोना संक्रमितको उपचारका लागि नगरपालिकाले कोरोना महामारीकै विचमा उक्त अस्पताल निर्माण गरेको हो ।

करिब ९८ लाखको लागतमा सात कोठाको कोरोना विशेष अस्पताल १८ दिनमा निर्माण गरिएको हो । अस्पताललाई पूर्ण रुपमा सुविधा सम्पन्न बनाईएको मेयर विशाल शर्माले मेयर खबरलाई जानकारी दिनुभयो । चौरजहारी अस्पताल नजिकै बनाईएको उक्त विशेष अस्पतालमा आवस्यक स्वास्थ्कर्मी चौरजहारी अस्पताल र नगरपालिकाले संयुक्त रुपमा व्यवस्थापन गर्ने छन् ।

यस्तै चौरजहारी नगरपालिकाले शीतल माध्यमिक विद्यालयको प्रांगणमा ८ कोठाको भवन समेत निर्माण गरेको छ । क्वारेन्टाइन र सामान्य स्वास्थ्य उपचार गर्ने स्थानको रुपमा नगरपालिकाले यो भवनको निर्माण गरेको हो ।
नगरपालिका आफैले १ करोडको लागतमा निर्माण गरेको उक्त भवन ३२ शैया क्षमताको रहेको छ ।

कोरोनाको महामारी नियन्त्रणमा आएपछि उक्त भवन शीतल माध्यमिक विद्यालयलाई हस्तान्तरण गरिने मेयर शर्माले बताउनुभयो ।
नगरभित्र कोराना संक्रमण रोक्न र भए पनि फैलन नदिन नगरपालिकाले परीक्षण गर्ने कामलाई समेत पा्रथमिकताका साथ अघि बढाएको छ । नगरपालिकाले हालसम्म ४५० जनामा र्यापीड र ४० जनामा स्वाब परीक्षण गरिसकेको छ । परीक्षण भएका सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

यसअघि रुकुम पश्चिमकै आठबीसकोट नगरपालिकाले पनि १५ शैयाको कोरोना विशेष अस्पताल निर्माण गरेको थियो । रुकुम पश्चिमका स्थानीय तह अहिले स्वास्थ्य क्षेत्र प्रति बढी सजग भएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *