पढौं, सोचौं, बढौं : लकडाउन र यसका मोडलहरू

 

के हो लकडाउन ( बन्दाबन्दी )

अत्यावश्यक कामबाहेक नागरिकलाई घर बाहिर ननिस्कन जारी गरिएको राज्य निर्देशन नै ‘लक डाउन’ हो । यसमा औषधि उपचार, खाद्यान्न ढुवानीजस्ता अत्यावश्यक कामबाहेक कसैलाई पनि घरबाहिर निस्कन प्रतिबन्ध लगाइन्छ । आकस्मिक कामका लागि निस्कनै परे सरकार अथवा सम्बन्धित निकायबाट अनुमति लिनुपर्छ । संकटको स्थितिमा राज्यले यस्तो लकडाउन गर्छ । यतिबेला कोरोना भाइरस संक्रमणको महामारी नफैलियोस् भनेर सतर्कताका लागि ‘लक डाउन’ गरिएको हो । यस्तो समयमा भोज भतेर, यात्रा र भेलामा पनि प्रतिबन्ध लगाइएको छ । सार्वजनिक यातायात सञ्चालनमा पूर्ण बन्देज गरिएको छ । स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्नेबाहेक कुनै पनि प्रकारका सार्वजनिक तथा निजी सवारी चलाउन पाइँदैन । यस्तै सुरक्षा निकायले प्रयोग गर्ने वायु यान र अनुमति प्राप्त अन्य उडान बाहेक सबै आन्तरिक तथा बाह्य व्यावसायिक उडान बन्द गरिन्छ ।

नेपालमा ‘लक डाउन’ घोषणा हुनु पहिले नै सरकारले २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिएको थियो । ‘लक डाउन’को घोषणापछि जो जहाँ छ’, त्यहीँ सुरक्षित ढंगले बस्नुपर्छ । नेपाल सरकारले २०७६ साल चैत्र ११ देखि पटक पटक गरि लकडाउनको अवधि थप गरी हाल २०७७ साल बैशाख २५ सम्म कायम गरेको छ । संक्रमणको अवस्थाला विश्लेषण गरेर नेपाल सरकारले अवधि बढाउन सक्नेछ । संक्रमणको अवस्थालाई विश्लेषण गरी कोरोना फैलिन नदिन नेपाल सरकारले जसरी लकडाउनको घोषणा गर्‍यो । त्यसैले गर्दा कोरोना भाइरस फैलिन नपाएको भन्दै आम जनसमुदायले नेपाल सरकारको अहिलेसम्मको निर्णयलाई सकारात्मक रूपमा लकडाउनलाई सफल बनाउन सहयोग गरेका छन् । लकडाउनले गर्दा कोरोना संक्रमण रोक्न महत्वपूर्ण सावित भएको छ । लकडाउन र सामाजिक दूरी कोरोना संक्रमणको जित्ने अचुक अस्त्र हुन् ।

लामो लकडाउन र अनिश्चितकालीन कोरोना संक्रमण अबधिको कारण आम मानिसमा बिभिन्न समस्या देखिन थालेका छन् । एकातिर लामो समयको लकडाउनले जनजीवनमा अप्ठ्यारो परिरहेको छ । मुलुकको अर्थतन्त्र चौपट बनेको छ । योजनाहरू कार्यान्वयन हुन सकेका छैनन् । ब्यापार व्यवसाय ठप्प छन् । उत्पादन र अर्थतन्त्रलाई सन्तुलनमा ल्याउन अप्ठेरो पारेको छ । अर्कोतिर लकडाउनलाई खुल्ला गर्दा कोरोनाको महामारी समुदायमा फैलिएला कि भन्ने जोखिम पनि हटिसकेको अवस्था छैन । संक्रमितको संख्या दिनानुदिन बढी रहेका छन्, हाल १५ जिल्ला संक्रमणबाट प्रभावित बनेको छ । जसले गर्दा खतराको झण्टी बजीरहेको अवस्था छ । इरान, इटली र अमेरिकामा हेलचेक्र्याइँ गर्दा ठूलो दुर्घटना निम्तिएको अवस्था छ । यो सवैलाइ जगजाहेर नै छ । त्यसैले लकडाउन हाम्रो सुरक्षाका लागि भएकोले यसको महत्व धेरै छ । नेपाल सरकारले समयमा लकडाउनको घोषणा गरेकोले ठूलो क्षति भने भएको छैन । संक्रमितहरू पनि निको भएर घर फर्केको अवस्था छ जुन लकडाउनको एउटा उपलब्धि पनि हो । अब हामीले यस्तो अवस्थालाई कसरी ब्यवस्थित गर्न सकिन्छ भनेर विभिन्न उपायहरूको अनुसन्धान भईरहेको छ । यसैको एउटा नमूना लकडाउनको मोडेललाई लिन सकिन्छ।

लकडाउनका मोडेलहरूः 

लकडाउनका विभिन्न मोडलहरू छन् । यो कोरोना भाईरसबाट उत्पन्न महामारीबाट सुरक्षित राख्न लकडाउन गरिएको नयाँ सिकाई भएकोले यसका मोडेलहरू यिनै हुन्छन् भनेर त्यस्ता वैज्ञानिक स्वरूपहरू पाईएका छैनन् । तरपनि भोगोलिक अवस्था, संक्रमणको वर्तमान अवस्था र परिस्थिति समेतलाई अध्ययन गरेर मोडलहरू तयार गर्न सकिन्छ । सवै देशका लागि यहाँ उल्लेख गर्न खोजिएका मोडलहरू सर्वमान्य नहुन सक्ला तर सवै वा कुनै न कुनै लकडाउनको एउटा मोडल प्रयोग भएको पाईन्छ ।

लकडाउनको मोडल तयार गर्दा धेरै विषयको विश्लेषण गर्नु पर्दछ । संक्रमणको अवस्था, परीक्षण गरिएको परिमाण र परिणाम, यथार्थ तथ्याङ्क, परिस्थिति, जनशक्ति परिचालनको अवस्था, विज्ञको सुझाव,भोगोलिक परिवेश, वातावरण, सूचना र सञ्चारको पहुँच, अस्पताल तथा स्वास्थ्य संस्थाका क्षमता र अवस्था, देशको अर्थिक अवस्था जस्ता सवै बिषयलाई विश्लेषण गरेर लकडाउनका मोडल तयार गर्न सकिन्छ । कृषि, उद्योगधन्दा तथा कोरोनाका कारण दीर्घरोगी र अन्य बिरामीहरू अस्पतालबाट पाउने सेवाबाट वञ्चित भएको अवस्थालाई मध्यनजर गर्दै बिरामीहरूलाई अस्पतालसम्म पुर्‍याउन पनि लकडाउनको स्वरूप परिवर्तन गर्न सकिन्छ । यसरी लकडाउनलाई परिस्थिति अनुसार समयानुकुल नयाँ ढंगले गर्नु पर्छ । अवस्था हेरेर सहजीकरण गर्दै जानु पर्ने परिस्थिति हुन सक्छ ।

कृषि, उद्योगधन्दाहरू लगायत अन्य विभिन्न खालका अत्यावश्यक विषयका अतिरिक्त महत्वपूर्ण क्षेत्रमा विचार पुर्‍याउनुपर्छ । कृषि, उद्योगधन्दा तथा अरू महत्वपूर्ण कुराहरूलाई मध्यनजर गर्दै लकडाउनको स्वरूप परिवर्तन हुन्छ। यसरी लकडाउनका मोडलहरू परिवर्तन गर्नु पर्ने हुदा यसका स्वरूपको श्रृजना हुदै जान्छ । यसमा नेपाल सरकारले विभिन्न विषय विज्ञहरूसँग छलफल चलाई रहेको अवस्था पनि छ । यसलाई पनि लकडाउनको एउटा मोडलको रूपमा लिन सकिन्छ । त्यसैले अब जुन ठाउँमा संक्रमण देखिन्छ, त्यस ठाउँलाई सिल गरेर सबैको परीक्षण गर्ने र त्यसको नतिजाका आधारमा मार्किङ गर्ने बाटो हुनसक्छ । संक्रमण नदेखिएको तर सम्भावना भएको ठाउँहरुमा पनि परीक्षण गरेर मार्किङ गर्नु उपयुक्त हुन सक्छ ।  यसरी परीक्षण गरेपछि रेड, एल्लो र ग्रिन जोन गरेर मार्किङ गर्न सकिन्छ । रेड जोन निर्धारण गरेको क्षेत्रमा लकडाउन कडा गर्ने ।

एल्लो जोनमा अलिक खुकुलो बनाउने र ग्रिन जोनमा झन् खुकुलो बनाउने । बढी प्रभावित क्षेत्र र कम प्रभावित क्षेत्र छुट्याएर उक्त क्षेत्रमा मात्र मार्किङ गर्न सकिन्छ । मार्किङका अधारमा लकडाउनलाई निरन्तरता दिने, खुकुलो बनाउने, सिल गर्ने वा रेड,एलो, ग्रीन जोन छुट्याउन सकिन्छ । तर हड्ताल जस्तो एकै चोटी खुला गर्नु भने हुदैन, यसमा विशेष शतर्कता अप्नाउनु पर्दछ । कोभिड–१९ को भ्याक्सिनको पत्ता लागेपछि मात्र पूर्णरूपमा नियन्त्रण हुन्छ होला यो विषय विज्ञहरूबाट थाहा होला, तर पनि हामिले नियन्त्रण नहुञ्जेल कुनै न कुनै रूपमा लकडाउनलाई निरन्तर दिनु पर्छ । चाहे सरसफाईमा ध्यान दिएर होस, सामाजिक दुरी कायम गरेर होस, यात लकडाउनलाई नै निरन्तरता दिएर होस अथवा सरकारले निर्धारण गरेको सुरक्षा मापदण्ड पालना गरेर भएपनि संक्रमणबाट सुरक्षित हुन कुनै न कुनै उपाय अवलम्बन गर्न जरूरी देखिन्छ । यसैले यहाँ लकडाउनका मोडल भनेर उल्लेख गरिएको हो ।

रेड, एल्लो र ग्रिन जोन निर्धारण गरेपछि मात्रै लकडाउनको नयाँ मापदण्ड निर्धारण गर्नु पर्दछ । कोरोनाको जोखिम नभएको ठाउँमा पनि लामो समयसम्म लकडाउन गर्दा देशको अर्थतन्त्रमा घाटा पर्ने हुदा विज्ञहरू परिचालन गरेर जोन छुट्याई अगाडि बढ्नु पर्दछ । अर्थात बढी प्रभावित क्षेत्र र कम प्रभावित क्षेत्र छुट्याएर उक्त क्षेत्रमा मात्र कडिकडाउ गर्नुपर्ने कार्य गर्दा बढी प्रभावकारी हुन सक्छ । जुन ठाउँमा संक्रमण देखिन्छ त्यस ठाउँलाई सिल गरेर सबैको परीक्षण गर्ने र त्यसको नतिजाका आधारमा मार्किङ गर्ने बाटो हुनसक्छ । संक्रमण नदेखिएको तर सम्भावना भएको ठाउँहरुमा पनि परीक्षण गरेर मार्किङ गर्नु उपयुक्त हुन्छ । नेपालको सन्दर्भमा अन्तराष्ट्रिय सीमा क्षेत्र बन्द गर्ने, जुन जुन जिल्लामा संक्रमण देखिएको छ त्यस जिल्लालाई एलोजोन तोकि जुन जुन स्थानीय तहमा संक्रमण देखिएकोछ त्यस स्थानीय तहलाई रेड जोन तोक्ने र जुन जिल्ला संक्रमण भएको जिल्लासँग सीमाना जोडिएकोछ त्यस जिल्लालाई एलो जोन नै कायम गर्ने । जुन जिल्लाको सीमाना अन्तराष्ट्रिय र संक्रमित जिल्लासँग जोडिएको छैन त्यस्ता क्षेत्रका स्थानीय तहसँग समन्वय गरेर क्वारेन्टाईनको पूर्णपालना गराउने ब्यवस्था गरी ग्रीन जोन छुट्याउन सकिन्छ ।

एलो जोनमा परेका स्थानीय तहमा अवासीय रूपमा स्थानीय श्रमिक वा मजदुर परिचालन गरेर संक्रमण नियन्त्रणका मापदण्ड पालना गरि योजना सञ्चालन गर्न सकिने तर रेड जोनमा भने सरकारले मानवीय सुरक्षाका लागि राहत घरमा नै वितरण गरी कडाइका साथ लकडाउन लागू गर्ने र प्रभावकारी स्वास्थ्य परीक्षणलाई अगाडी बढाउने कार्य गर्दा प्रभावकारी हुन सक्छ । ग्रीन जोनका लागि ग्रीन जोन भित्रबाट उपलब्ध सामाग्री प्रयोग गरी ग्रीन जोनका श्रमिक परिचालन गरेर योजना सञ्चालन गर्दा रोजगारी श्रृजना हुन गइ राहत उपलब्ध गराउन नपर्ने हुन्छ । तर सामाजिक दुरी र सरसफाईमा सरकारले निर्धारण गरेको मापदण्डको पूर्ण पालना भने गराउनु जरूरी हुन्छ । यसो हुन सकेमा आर्थिक विकासमा नकारात्मक असर कम पर्ने अनुमान गर्न सकिन्छ ।

लकडाउनको अर्को मोडललाई यसरी पनि लिन सकिन्छ । सम्पूर्ण निजि अस्पताल पहिलेजस्तै संचालनमा ल्याउने । सरकारी र निजि अस्पतालले कोरोना परिक्षण, उपचार र सघन उपचारको लागि समन्वय गर्ने । यो बर्ष नाफारहित सेवा दिने । अत्यावश्यक क्षेत्रका पसलहरु खोल्ने । औषधि निर्माण, परिवहन तथा बिक्रि वितरण सुचारु गर्ने । बैंक, वित्तीय संस्था तथा स्टक मार्केट खोल्ने । अत्यावश्यक सेवाका उद्योगहरु नेपाल सरकारले तोकेको मापदण्ड पालना गरी संचालनमा ल्याउने । कृषि तथा पशुपंक्षीजन्य पदार्थका पसल खोल्ने । उत्पादन भएका अन्न,  तरकारी, फलफुल, दुग्धजन्य पदार्थ, मासु तथा अण्डा आदि कृषकबाट किनेर सहरमा पुर्याउने ब्यबस्था गर्ने । यसको लागि चालक र हेल्पर मात्र ट्रकमा बसेर सामान ओसारपसार गर्न पाउने ब्यबस्था मिलाउने । अत्यावश्यक निजि सवारी साधन, प्रहरी, सेना तथा साझाका बस निस्संक्रमण गरेर सुरक्षित ठाउँमा, सुरक्षित रुपमा चलाउन दिने । सामाजिक दुरी कायम गरेर घर, भवन तथा सडक निर्माण सुरु गर्ने । पहिलो चरणमा सुरक्षित ठानिएका ग्रीन जोन तोकिएका सहर आन्तरिक रुपमा मात्र खोल्ने । सहरमा रोजगारी गुमाएका तथा आफ्नो घर जान इच्छुकलाई सुरक्षित रुपमा सहरबाट गाउँ जाने प्रबन्ध मिलाउने । अत्यावश्यक सामग्रीको होम डेलिभरीलाई थप प्रभावकारी बनाउने ।

कोरोना संक्रमणको अवस्था हेरेर सरकारले एलो जोन वा ग्रीन जोनलाई पनि पून: लकडाउन कायम गर्न वा थप खुकुलो बनाउन सक्नेछ । सिमाना शिल गर्ने तथा थप निगरानी बढाउने । अन्तर स्थानीय निकाय, अन्तर जिल्ला, अन्तर प्रदेश लकडाउन कायम गर्ने । यो पनि लकडाउनको एउटा मोडल हुन सक्छ । माथि उल्लेख गरिएका उपायहरूलाई लकडाउनका मापदण्ड, मोडेल, स्वरूप वा उपायहरूको रूपमा लिन सकिन्छ । एउटा भुल्नै नहुने विषयमा के बुझ्नु पर्दछ भने  लकडाउनको कारण हामी सुरक्षित भएका हौँ । सामाजिक दुरी कायम गरी सकारात्मक सोचका साथ आत्मबल बलियो बनाउ भन्ने शुभकामना छ ।

( लेखक सैनामैना नगरपालिका रूपन्देहीका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ। )

Leave a Reply

Your email address will not be published. Required fields are marked *