मेयर शर्माको ‘नियत’

एउटा कवि हुन सजिलो होला र ! कतिपय प्रशासक भएर कवि भएका छन् । कति त राजनीतिज्ञ भएर अनि कवि भएका छन् । एउटा कवि जिज्ञासु हुन्छ, भावुक हुन्छ । त्यसैले त ‘अरु’ भएर कवि भएकाहरु भन्दा कवि भएर अनि ‘अरु’ भएकाहरुलाई संकट हुन्छ । लेखौं, अति गोप्य कुरा खुल्नेछन् । नलेखौं, भित्र रहेको कवित्वले हातमा कलम थमाईदिएर कपि अगाडि उभ्याईदिन्छ । अनि नचाहँदा नचाहँदै खाली कपि शब्दहरुले भरिन्छन् । तयार हुन्छ, फेरि आर्काे बेजोड कविता । त्यस्तै, कवि हुन्, टि.पी.शर्मा तिमल्सिना । उनी कविता लेख्न नचाहे पनि उनिभित्रको कवित्ले लेखाईदिन्छ । किनकी उनी पहिले कवि हुन्, अनि बल्ल नमोबुद्ध नगरका मेयर । कतिपय विषय नखोलौं भन्दा पनि खुल्छन्, पानाभरी छरपष्ट हुन्छन् । त्यसैगरी अनायास पोखिएको एउटा कविता ‘नियत’ आजको शनिवारीय साहित्यमा । – सम्पादक

नयाँ निर्माण गर्ने आँट गर्छु जतिजति
विकृतिका पहाडहरू भेट्छु उतिउति

एउटा खाल्डो पुर्न खोज्यो अर्को देखापर्छ
एउटा ढिस्को भत्काउँछु अर्को फेला पर्छ
स्वार्थीहरू मिल्काउँदै हिँड्छु जतिजति
विकृतिका पहाडहरू भेट्छु उतिउति

काम गर्दै जता जान्छु त्यतै लाग्छ ठेस
न्याय गर्दै जाँदा भोग्छु अन्यायीको द्वेष
पूर्वाग्रह राख्नेहरू भेट्छु जतिजति
विकृतिका पहाडहरू मेट्छु उतिउति

राम्रो काम गर्न खोज्दा बाधा भेट्छु धेरै
तर तिनले आत्मबल बढाउँछन् मेरै
बाधाहरू हटाउँदै बढ्छु जतिजति
विकृतिका पहाडहरू मेट्छु उतिउति

मनमा लोभ, स्वार्थ बोकी हराउन हुन्न
जनताको सेवा गर्दा डराउन हुन्न
सुखी समाज बनाउन दिन्नन् जतिजति
नयाँ निर्माण गर्ने आँट बढ्छ उतिउति

(कवि तिमल्सिना नमोबुद्ध नगरपालिका मेयर हुनुहुन्छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *