किट सकियो, परीक्षण पनि रोकियो तर संक्रमण हुनसक्ने डर रोकिएको छैन

मेयर खबरदाता डोटी
२८ वैशाख । परीक्षण किटको अभावमा डोटीको शिखर नगरपालिका र दिपायल सिलगढी नगरपालिकामा अहिले कोरोना परीक्षणको काम रोकीएको छ । दुवै नगरपालिकामा जिल्ला जनस्वास्थ्य कार्यालय डोटीले परीक्षण किट उपलब्ध गराउन नसक्दा परक्षण रोकीएको हो ।  कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न भारतबाट फर्केका नागरिकको आरडिटी गर्ने निर्णय भएपनि किट अभावका कारण उक्त निर्णय कार्यान्वयन हुनसकेको छैन ।

किट सकिएको कारण स्थानीय तहलाई आरडिटि किट पठाउन नसकिएको र स्वाब पनि संकलन गर्न नसकिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

शिखर नगरपालिकामा अहिलेसम्म ७६ को स्वाब र १०० जनाको र्यापिड परिक्षण भएको छ । परीक्षण गर्नुपर्ने धेरैको छ तर हुनसकेको छैन । जिल्लाले सबै वडामा परीक्षण् गर्ने भन्यो तर ६ नम्बर वडामा १ सयको मात्र परीक्षण भयो त्यसपछि किट अभाव भएका कारण अहिले परीक्षण रोकीएको छ भन्नु हुन्छ शिखरपुरका कार्यकारी अधिकृत धर्मराज बिनाडी ।

शिखर नगरपालिकाको अनुसार ७ सय जनाको तत्काल परिक्षण गर्नुपर्ने देखिएको छ । तर किट अभावमा रोकीएको छ । कोरोना परीक्षण नभएकाहरु निर्वाधरूपमा गाउँघरमा घुमिरहेका कारण स्थानीयवासीमा अझ त्रास बढेको र यसले संक्रमण फैलनसक्ने डर पनि उत्तीकै रहेको छ ।

दिपायल सिलगढी नगरपालिकामा पनि अवस्था यस्तै रहेको छ । कोरोना परीक्षण गर्ने किट नभएका कारण भारतबाट आएका स्थानीयबासीको रोगको अवस्थाका बारेमा अहिलेसम्म बुझ्न नसकिएको मेयर मञ्जु मलासीले मेयर खबरलाई बताउनु भयो ।
भारतबाट आएका व्यक्तिलाई नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा २१ दिन राखेर घर पठाए पनि परीक्षण हुन नसक्दा कोरोना संक्रमण फैलने चिन्ता बढेको छ । मेयर मलासीले तत्काल परीक्षण किटको व्यवस्था गरिदिन प्रदेश र संघीय सरकारलाई मेयर खबर मार्फत आग्रह गर्नुभएको छ ।

कोरोना संक्रमण रोकथाम गर्न र संक्रमीत पत्ता लगाउन परीक्षण नै एकमात्र उपाय रहेकाले यसलाई तीव्र रुपमा बढाउनुको विकल्प छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *