राहत वितरणमा नवीन अभ्यास : अभाव र गरिवीमै सम्भावना देख्ने मेयर थापाको उदाहरणीय काम

मेयर खबरदाता, सर्लाही
कोरोना भाइरस (कोभिड–१९) कारण घोषित लकडाउनको मारमा परेका विपन्न परिवारलाई राहत वितरणमा सकस भईरहेको अवस्थामा बागमती नगरपालिकाले नमुना उदाहरण प्रस्तुत गरेको छ ।
देशमा लकडाउन डेढ महिना कटिसकेको छ । सर्लाही जिल्लाका विभिन्न स्थानीय तहले अझैसम्म राहत वितरण गर्न नसकिरहेका बेला प्रभावित परिवारले गुनासो गर्न थालेका छन् । तर, बागमती नगरपालिकाले भने पहिलो चरणको राहत वितरण गरेर दोस्रो चरणको तयारी गरिरहेको छ ।

वितरण गरेका स्थानीय तहले समेत पहिलो चरणमा बास्तवीक लाभग्राही छनौट गर्न नसक्दा ठुलो रकम खर्च गरेर वितरण गरेको राहतले अहिलेको विपत्ती नटरेको भन्दै थप राहतको ब्यवस्था गर्न समस्या भएको बताउन थालेका छन् । उनीहरुले प्रदेश सरकारको समेत गरेर ७५ देखी ८० लाख सम्म राहत वितरणमा खर्च गरिसकेका छन् ।
प्रदेश २ को सर्लाही जिल्लाका केहि पालिकाहरुले त राहतको लागि तयार गरेको रकमले नगरका ९० प्रतिशतसम्म परिवारलाई भाग लगाएर राहत वितरण गरेका छन् । राहत भनेको सरकारको सम्पति हो, हामी सबैले पाउनु पर्छ भन्दै आएपछि बाध्य भएर सबैलाई राहत वितरण गर्नुपरेको उनीहरुको भनाई छ ।

यता जिल्लाको उत्तरी भेगमा रहेको बागमती नगरपालिकाले भने पहिलो चरणको राहत वितरण गरेर दोस्रो चरणको लागि तयारी गरिरहेको छ । अत्यधिक विपन्न, दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्ने मात्र नभई सुकुम्वासी पनि यहि नगरपालिकामा छन् । राहत वितरणको यो जटिल कार्य बागमतीका मेयर भरत थापाका लागि सामान्य बन्यो । प्रत्येक चरणमा नवीन अभ्यास गरेको बागमती नगरपालिकाले आखिर के गर्यो त ?

पहिलो काम : पहिचान

हरेक पटक राहत वितरण भन्ने वित्तिकै लाभग्राही छनौटमा समस्या पर्ने गरेको नजिरलाई ध्यानमा राखेर नगरले लाभग्राही छनौटमै नयाँ अभ्यास सुरु गर्यो। नगरपालिकाको सक्रियतामा नगरका प्रत्येक वडामा वडाध्यक्षको संयोजकत्वमा कोरोना भाइरस विरुद्धको सचेतना अभियान टोली गठन गरिएको थियो । उक्त टोलीले प्रत्येक नगरवासीको घरदैलोमा पुगेर कोरोना भाइरससम्बन्धी सचेतना फैलाउने र उनीहरुको अवस्था बुझने काम गर्यो।

दोश्रो काम : असल छिमेकीपन

छिमेकी छिमेकीबीच रिस राग होइन, अप्ठेरो परेको बेलामा काम लाग्ने भनेकै छिमेकी हो भन्ने वास्तविकतालाई बुझाउने काम गर्यो, बागमतीले । छिमेकीको चुल्हो निभे राहत बनेर उभिन सबै नगरवासीलाई मेयर भरत थापाले आग्रह गर्नुभयो । विपन्न छिमेकीको लागि आफुले सकेको माना पाथी चामल, दाल, चिउरा, भुजा, आलु, नुन, तेल आफुसँग जे छ, त्यहि दिएर सामाजिक दायित्व निभाउन मेयर थापाको अनुरोध थियो । जसका कारण स्थानीयले उत्साहजनक ढंगले स्वेच्छाले खाद्यन्न सहयोग गरे ।

तेश्रो काम : राहत माग्नेले उल्टै दिए

सुरुमा ‘मैले पनि राहत पाउनुपर्छ’ भन्दै अग्रपंतिमा उभिनेहरुले आफुलाई त राहत नचाहिने रहेछ भनेर आफैंले महसुस गर्ने वातावरण बन्यो । पहिलो चरणको अभियानले बास्तवीक लाभग्राही छनौट गर्न मद्दत पुग्यो । मेयर थापाले भन्नुभयो, ‘हामीले पहिलो चरणमा छिमेकीबाट राहत दिने ब्यस्था गर्यौं, भएर पनि छैन भन्नेहरु सुरुमै छिमेकीसँगै बोरा थाप्न हच्किए, त्यसपछि त वास्तविक आवश्यकता हुनेले मात्र राहत पाए ।’

चौंथो काम : एक ढिक्का नगरवासी

राहत लिनेको लाईनमा बास्तवीक अनुहार मात्र देखिए । यत्ति मात्र होइन, मेयर थापाले राष्ट्रिय विपत्तिमा मैले पनि योगदान गर्न सक्ने रहेछु भन्ने महसुस नगरवासीमा गराईदिए । मेयर थापा भन्नुहुन्छ, ‘हाम्रा पिता पुर्खाले विपन्न छिमेकीलाई खडेरीमा हुने भोकमरीमा अन्न दिएर बचाएका थुप्रै उदाहरण छन्, मैले त्यहिं पुर्खाले गरेको अभ्यासलाई निरन्तरता मात्र दिएको हुँ ।’

यो अभ्यासले समाजमा हराउँदै गएको सामाजिक उत्तरदायित्व र विपद्मा एउटा छिमेकीले अर्को छिमेकीको लागि निभाउनु पर्ने भुमिका पुनः स्मरण गराईदिएको छ ।

पाँचौं काम : एउटा युद्धको सिपाही

युद्ध लड्न कुन समयमा कस्तो अस्त्रको प्रयोग गर्ने भन्ने एउटा विवेकशिल सिपाहीले मात्रै गर्नसक्छ । अहिलेको अवस्थालाई युद्धका रुपमा बुझ्नुभएका मेयर थापाले भन्नुभयो, ‘युद्धमा एक सैनिकले बुद्धिमत्तापुर्ण ढंगले हतियार प्रयोग गरे जस्तै कोरोना विरुद्धको युद्धमा अर्थ र खाद्यन्नको प्रयोग एक साथ गरिएको हो ।’ कोरोना विरुद्धको युद्ध लड्न अचुक अस्त्र भनेकै खाद्यान्न भएकाले यसको समुचित प्रयोग नै अहिलको चुनौति हो ।

छैटौं काम : संकलनमा अनपेक्षित सफलता

बागमती नगरपालिकाकी उपमेयर लिला कुमारी मोक्तानका अनुसार गत हप्तासम्म कुल ६४ हजार ९ सय ६५ किलो चामल संकलन भएको छ । नगरवासी, सहकारी संस्था, विद्यालय, राजनीतिक दल, सामुदायिक वन, महिला समूह लगायतले गरेको सहयोगबाट संकलित चामल विपन्न परिवारलाई वितरण गरिएको छ । प्रति सदस्य ५ किलोका दरले वितरण गर्दा संकलित चामलले चामल नगरभित्रका १३ हजार व्यक्तिलाई बाँड्न पुग्ने उपमेयर मोक्तानले बताउनुभयो ।

सातौं काम :नगरवासीको विश्वास

बागमती नगरपालिकाले नगरवासीका मन जितेको छ । असल नियत राखेर काम गरेपछि नजितोस् पनि कसरी । बागमती नगरपालिकाले लिएका हरेक नीति र योजना उत्तिकै बलिया छन् । विश्वासिला छन् । अहिले पनि नगरवासीलाई यो संकटबाट बचाउन सम्पुर्ण संयन्त्र तयारी अवस्थामा राखेको छ, बागमती नगरपालिकाले । नगरवासी पनि ढुक्क छन् । होहल्ला र लहैलहैको पछि नलाग्ने नेतृत्व पाएका जनता पनि खुशी छन् ।

मेयर थापा भन्नुहुन्छ, ‘मैले केही गरेको छैन, आखिर जनताको हित के गर्दा हुन्छ भन्ने सोचियो भने जो कसैले पनि नवीन कार्य गर्न सक्छ, तर त्यसका लागि आँट, धैर्यता र आफैंप्रति विश्वास चाहिन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *