स्थानीय तहमा कोरोना प्रभाव : एक विश्लेषण

केहि गरौं । सरकार हुनुको महसुस जुन वर्गले गर्नुपर्ने हो, त्यो वर्गले गर्ने गरी काम गरौं भन्ने मान्यता राख्ने कीर्तिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज आचार्य असल सोच राख्ने प्रशासक हुनुहुन्छ । साना साना कुरामा पनि गहिरो चिन्तन गर्ने आचार्यका आलेखहरु यसअघि पनि मेयर खबरले प्रकाशित गर्दै आएको छ । र, आज स्थानीय तहको आँखाबाट कोरोना र यसका सकारात्मक तथा नकारात्मक प्रभावलाई नजिकबाट नियाल्ने प्रयास गर्दैहुनुहुन्छ, लेखक आचार्य । उहाँको यहि लेख आजको मेयर खबरको अग्रलेखका रुपमा प्रकाशित छ । – सम्पादक

ध्रुवराज आचार्य

पृष्ठभूमि
सन २०१९ को अन्त्यतिर चीनको वुहानमा फेला परी महामारीका रुपमा संसारका सबैजसो देशमा फैलिएर हालसम्म करिब ४२ लाख संक्रमण र करिब २ लाख ८५ हजार मानिसहरुको मृत्यु गराईरहेको कोरोना भाईरस (कोभिड १९) को महाप्रलयले संसारका शक्तिशाली देखि कमजोर सबै मुलुकहरुको अर्थतन्त्र र समग्र अवस्था नराम्रोसँग थलिएको छ । यतिबेला सबैको ध्यान कोरोनाले थलिएको विश्वलाई कसरी पुनः सुचारु गर्ने भन्नेतिर छ । अब समग्र विश्वले नै कोरोनाको संक्रमणपछिको मार्गचित्र तय गर्नुपर्ने हुन्छ ।

अब कोरोना प्रभावित सबै देशहरुको अर्थतन्त्र थला परेर शिथिल रुपमा विस्तारै तंग्रिने अवस्थामा जान्छ । नेपाल जस्तो अतिकम विकसित राष्ट्रको लागि त कोरोनाको महामारी अभिशाप नै बन्न पुगेको छ । गरिवी, बेरोजगारी, पछौटेपन, स्रोत साधनहरुको न्यूनता, भ्रष्ट्राचार, अब्यबस्थित विकास प्रयास आदिबाट ग्रसित मुलुक लामो द्वन्द्व, राजनैतिक अस्थिरता र राजनैतिक संक्रमण पार गर्दै संघीय शासन प्रणालीको अभ्यास थाल्दै गर्दा बढिरहेको जनअपेक्षा पुरा गर्न नपाउँदै विनाशकारी भूकम्प र नाकाबन्दीको चपेटामा पर्दा विकासको अवस्थामा निकै पछाडी पर्यो ।

भूकम्पबाट विनाश भएका पूर्वाधारहरुको पूर्ननिर्माण र मनोसामाजिक असरमा मल्हम लाग्दै गर्दा अनपेक्षित एवं अप्रत्यासित रुपमा सम्पूर्ण विश्वनै कोरोनाको पीडा र त्रासबाट त्राहीमाम बनिरहँदा नेपाल पनि यसबाट अछुतो रहेन । उसै पनि पछाडि रहेको हाम्रो जस्तो मुलुकलाई कोरोनाको रोकथाम, उपचार, नियन्त्रण तथा पीडित एवं प्रभावितलाई राहतको व्यवस्था गर्नुपर्दा मुलुक आर्थिक, सामाजिक, शैक्षिक लगायत सबै क्षेत्रमा कमोजर बनेको एकातिर छ भने अर्काेतिर धिमा गतिमा शुरु भएका विकास निर्माणका कार्यहरु रोकिएर भएको श्रोत पनि कोरोना रोगको रोकथाम, नियन्त्रण, उपाचार र राहतमा खर्चनु परेको छ ।

नेपाल सरकारले कोरोनाको संक्रमण फैलिन नदिन २०७६ चैत्र ११ गते देखि २०७७ जेष्ठ ०५ गतेसम्म लकडाउनको घोषणा गरेको छ र अवस्था हेरी यो अझै लम्बिन सक्ने सम्भावना छ । यस्तो अबस्थामा भर्खरै सुरु भएको स्थानीय सरकार सिकाई र अभ्यासकै क्रममा रहँदा अचानक भएको कोरोनाको महामारी र लकडाउनले गर्दा स्थानीय तहहरु अझ बढी पीडित र प्रभावित भएका छन् ।

कोरोनाको कहर र लकडाउनका कारण सबै स्थानीय तह र समग्र मुलुकमा परेका नकारात्मक असर र प्रभावहरु :

कोरोना भाइरस (कोभिड (१९) का कारण मुलुकमा निकै ठुलो क्षति भएको छ । यसले मुलुक र भर्खरै संरचित स्थानीय सरकारको अभ्यास तथा यसका शासकीय प्रयासहरुमा तात्कालीन तथा दीर्घकालीन दुवै रुपमा निकै नकारात्मक असरहरु पारेको र क्षति पुर्याएको छ । जसलाई यसप्रकार प्रस्तुत गरिएको छः

१. सबै स्थानीय तहहरु र समग्र मुलुकका सबै आर्थिक गतिविधिहरु (उत्पादन, सेवा क्षेत्र, बजार, रोजगारी, वितरण, निर्माण, यातायात, आवागमन, आयात निर्यात, राजश्व संकलन, होटल, मनोरंजन, बैंक तथा वित्तीय क्षेत्र, सहकारी क्षेत्र, पर्यटन क्षेत्र, कृषि, पशुपन्छीपालन, उद्योग, कलकारखाना, स्थल र हवाई यातायात, घरेलु तथा साना र मझौला उद्योग, बाणिज्य व्यापार, पूँजी परिचालन, बैदेशिक रोजगार, व्यापार व्यावसाय, आयआर्जन आदि) पूर्णरुपमा ठप्प हुँदा आर्थिक क्रियाकलाप र अर्थतन्त्र शुन्यताको अवस्थामा रहे ।

२. संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारका विकास निर्माणका क्रियाकलापहरु युद्धस्तरमै अगाडि बढिरहेको अवस्थामा एकाएक सबै कामहरु रोकिन पुगे ।

३. श्रम बजारमा रहेका श्रमिकहरुको कामविहीनताको अवस्थाले हातमुख जोर्न र चुलो बाल्न नसक्ने अवस्थामा पुगे, यसले जनजीविकामा निकै नराम्रो असर पार्यो ।

. शैक्षिक संस्था, विश्वविद्यालय र कलेजका विद्यार्थीहरु एवं लोकसेवा आयोग तयारी गरिरहेका विद्यार्थीहरु अनिश्चितताको भुमरीमा रुमलिन पुगे भने काठमाडौं जस्ता ठुला शहरमा भाडामा र होस्टेलमा बसेका विद्यार्थीहरु थप पीडा र चोट सहन वाध्य भए ।

५. परिवारबाट छुट्टिएकाहरु आफ्नो जन्मथलो बाहिर त्रसित अवस्थामा रहनुपर्यो भने सँगै भएका परिवारका सदस्य तथा आफन्तहरु पनि घुमफिर तथा भेटघाट गर्न पाएका छैनन् र एकआपसमा छोइन नपाई समाजिक दुरी कायम गरेर बस्नुपर्ने भयो ।

६. विदेशमा रहेका नेपालीहरु आफ्नो मुलुक बाहिर बिरानो मुलुकमा कोरोनाबाट पीडित भएर अलपत्र वा पीडित हुने डरले त्रसित हुँदै वा बेवारिसे रुपमा मृत्यु हुँदा राज्य विहीनताको जस्तो अवस्थामा नेपाल फर्किन पाउने आशमा बस्नुपरेको अवस्था छ ।

७. कालाबजारी र माफियाहरु संकटको यस घडिमा पनि कालोबजारी, कृत्रिम अभाव, अस्वभाविक मूल्यवृद्धि, तस्करी, भ्रष्ट्राचार, अनियमितता लागायतका कमाउ धन्दामा पनि लागेको पाईयो ।

८. हजारौं मानिसहरु भोकै, असुरक्षित रुपमा हप्तौं दिन पैदलै हिडेर सयौं किलोमिटिर टाढाको आफ्नो थातथलो पुगेका छन् भने कतिपय बीच बाटोमै अलपत्र परेको कारुणिक घटनाहरुले सबैको मन छोयो ।

९. तीनै तहका सरकारको ठुलो श्रोत अस्पताल व्यवस्थापन, कोरोनाको परीक्षण, रोकथाम, उपचार, औषधी, औजार, उपकरण, औषधिजन्य सामग्री, सुरक्षा कवच तथा राहत सामग्री खरिदमा खर्च भएको छ । यसले जनस्वास्थ्यमा त्रासमय स्थितिको सिर्जना भएको छ ।

१०. ठुलो संख्यामा मानिसहरु अलपत्र परेका छन, कोरोनाको लक्षण बाहेकका दीर्घरोगका विरामी तथा गर्भवती र सुत्केरीहरु लगायतले दुःख पाएका, विचल्लीमा परेका कतिपयको दुःखद मुत्युसम्म भएको छ ।

११. कोरोनाको समस्या र रोग भन्दा पनि कोरोनाबारेको हल्ला, अफवाह र अनावश्यक भय र डरले मानिसहरुमा प्रभाव पारेको छ, नकारात्मक मनोसामाजिक असर परेको छ र मानिसहरुमा भय एवं निराशा छाएको छ । मानिसहरु चाडपर्ब, मेला जात्रा मनाउन र मनोरंजन गर्न पाएका छैनन् । लुकिछिपी भइरहेको मानिसहरुको आवागमनले स्थानीयहरुमा त्रास बढेको छ भने त्यसरी लुकिछिपी आउनेहरुको व्यवस्थापन गर्न स्थानीय सरकारलाई कठिन भएको छ ।

१२. गरिब, वेरोजगार, सडक मानव, असहाय, अनाथ आदिले रोग र भोकसँग लड्दै धेरै दुःख पाएका र विचल्लीमा परेका छन ।

१३. सामुदायिक पशुचौपाया, कुकुर गाईवस्तु भोकभोकै मर्ने अवस्था छ ।

१४. लकडाउनलाई हल्का रुपमा लिएर अनावश्यक बाहिर निस्कने, सवारी पासको दुरुपयोग हुने र सुरक्षाकर्मीबाट सजाय पाएका घटनाहरु समेत निकै चर्चामा छन् ।

१५. राहतको तथ्यांक संकलन र राहत वितरणका घटनाहरु विवादरहित बन्न सकेनन् ।

१६. घरेलु हिंसा, हत्या, बलात्कारका घटना केही बढेका छन् र यसले आत्महत्याको दर समेत बढेको छ ।

१७. पर्यटन बर्ष घोषणा गरी भव्य रुपमा भएको समुद्घाटनको चर्चा नसेलाउँदै नेपाल सरकारले त्यसलाई स्थगित गर्नुपर्यो । स्थानीय तहहरुले पनि पर्यटन बर्षलाई लक्षित गरी तय गरेका विभिन्न कार्यक्रमहरु स्थगित गर्नुपर्यो । स्थानीय पर्यटन नराम्ररी प्रभावित भयो ।

१८. जंगल फँडानी, तस्करी र जंगलमा आगलागीका घटनाहरु बढेका छन्, वन्यजन्तुको अबैध चोरी शिकारी र तस्करी बढेको छ ।

१९. सामाजिक सञ्जालको दुरुपयोग बढेको छ, साइबर क्राइम बढेका छन् र शैक्षिक संस्थाहरु बन्द रहँदा विद्यालय, कलेज उमेरका विद्यार्थीहरु मोबाइल, कम्प्युटर, सामाजिक सञ्जाल र इन्टरनेटको कुलतमा फसेका छन् ।

२०. यस महामारीले गर्दा खाद्यान्न उत्पादन घट्न गएको र खाद्य संकट बढेको छ ।

२१. तथ्यांक संकलन र राहत वितरणको बिषयमा राजनैतिक विवाद, आरोप प्रत्यारोप, झगडा र हात हालाहलसम्मका घट्नाहरु घटेका छन् ।

२२. यकिन आँकडा आइनसके पनि कोरोनाको महामारीले गर्दा मुलुक र स्थानीय तहहरुमा गरिवी, भोकमरी र बेरोजगारी बढेको छ । वैदेशिक रोजगारीमा गएकाहरु स्वदेश फिर्ता हुँदा स्थिति अझ भयाभह हुनसक्छ ।

२३. वैदेशिक रोजगारीमा गएकाहरु उतै अलपत्र परेका, रोजगारी गुमेको र आफ्नो मुलुक फर्कन नपाएको अवस्था छ ।

२४. नियमित स्वास्थ्य सेवा अबरुद्ध छ, खाद्यान्न अभाव छ, तरकारी, दूध, कुखुरापालन, मत्स्यपालन लगायतका कृषि तथा पशु व्यवसाय धरापमा परेका छन् ।

२५. विकास निर्माणका कार्यहरु सञ्चालन गर्न निर्माण सामग्रीको अभाव भएको छ ।

२६. कोरोनाको महामारी कायम रही लकडाउन अझै बढाउनु परेमा समाजमा अपराध र चोरीका घट्नाहरु बढ्ने तथा स्थानीय तह एवं मुलुकको अर्थतन्त्र र जनजीविका झन् दयनीय अबस्थामा पुग्ने सम्भावना छ ।

कोरोनाको महामारी र लकडाउनले पारेका केही सकारात्मक प्रभावहरु :

कोरोनाको महामारी र लकडाउनले मुलुक र स्थानीय तहमा धेरै नकारात्मक असरहरु पारिरहेको अबस्थामा यसले केही सकारात्मक असर समेत पारेको देखिन्छ । लकडाउनले गर्दा देखिएका केही सकारात्मक प्रभावहरु यस्ता छन्,

 समाजमा अपराधका घटनाहरु कम भएका छन्,
 सडक दुर्घटना र यसबाट हुने क्षति कम भएको छ,
 सवारी आवागमन कम हुँदा ध्वनी प्रदुषण घटेको र वायु र मौसमको शुद्धता बढेको छ,
 ठुला अपराध र संगठित अपराधका घटनामा कमी आएको छ,
 सामाजिक एकता बढेको छ, राष्ट्रवाद, सहयोगी भावना र राष्ट्रप्रेम एवं राष्ट्रिय भावना बढेको छ,
 मानिसहरुले परिवारलाई पर्याप्त समय दिन पाएका छन्,
 लकडाउनको खालि समयमा अध्ययन, अनुसन्धान र सृजनशीलता बढेको छ,
 बैदेशिक रोजगार र विदेशप्रतिको मोह घटेको छ, आफ्नै देशमा श्रम गर्नुपर्ने र पसिना बगाउनुपर्छ भन्ने भावनाको विकास भएको छ,
 स्थानीय सरकारको जिम्मेवारी, जवाफदेहिता बढेको तथा स्थानीय सरकारको आवश्यकता र औचित्यता पुष्टि भएको छ,
 सरल र सामान्य जीवनशैलीप्रति आकर्षण बढेको छ,
 शीपयुक्त शिक्षाको आवश्यकता महसुस भएको छ,
 जनस्वास्थ्य सचेतना बढेको छ,
 सुरक्षा सतर्कता बढेको छ,
 नेपाली परम्परा र संस्कार ९नमस्कार गर्ने, मेलमिलाप, सौहार्दता, अध्यात्मिकता, सामाजिक सद्भाव, सरल जीवनशैली आदिको महत्व उजागर र अन्तर्राष्ट्रियकरण भएको छ । समाजमा दखिएका यी केही सकारात्मक प्रभावहरु हुन् ।

यसरी कोरोना र लकडाउनले मुलुक र समाजमा धेरै नकारात्मक र केही सकारात्मक असर तथा प्रभावहरु देखिएका छन् । नेपालमा अहिलेसम्म कुनै मानवीय क्षति नहुनु, संक्रमित सवैको स्वास्थ्य अवस्था सामान्य रहनु र संक्रमितको संख्या अन्य मुलुकको तुलनामा वृद्धि नहुनु लगायतका सकारात्मक पक्ष हुन् ।

अब सबै स्थानीय तहहरुले सावधानी तथा सामाजिक र भौतिक दुरी कायम राख्दै आफ्ना नियमित गतिबिधि एवं विकास निर्माणका कार्यहरु समेत विस्तारै अगाडि बढाउनु पर्ने हुन्छ । आशा गरौं, सरोकारवाला सबैको एकीकृत र समन्वयात्मक प्रयास तथा लकडाउनको पूर्ण पालनाबाट हामीले कोरोनाको कहरबाट छिट्टै मुक्ति पाई समृद्ध नेपाल र सुखी नेपालीको यात्रामा पून अगाडि बढ्नेछौं।

(लेखक आचार्य कीर्तिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *