संक्रमित बढेसँगै कपिलवस्तु ७ दिन सिल

मेयर खबरदाता, कपिलवस्तु
२९ वैशााख । कपिलवस्तुमा कोरोना संक्रमितको संख्या बढेपछि जिल्लालाई नै सिल गरिएको छ । जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकले कपिलवस्तुलाई सील गर्ने निर्णय गरेको हो । सोमबार मात्र कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा २ र यशोधरा गाउँपालिकामा ८ गरी १० जना कोरोना संक्रमित भेटिएपछि थप सर्तकता अपनाउँदै जिल्लालाई सील गरिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।

सोमबार साँझ ५ बजेदेखि जेष्ठ ५ गते राती १२ बजेसम्म लागू हुनेगरि जिल्लालाई सिल गरिएकोे हो । प्रशासनले सोमबार पत्रकार सम्मेलन गरी यसबारे औपचारिक रुपमा जानकारी गराएको थियोे । यो निर्णयसँगै कपिलवस्तु जिल्लाभित्रको आवतजावतलाई पूर्ण रुपमा प्रतिबन्ध लगाईएको छ ।

भारतबाटै आएकाहरुमा कोरोना संक्रमण भेटिएपछि सुरक्षा समितिले जिल्लाका सबै नाका सिल गर्ने निर्णय गरेको हो । अब जिल्ला हुँदै आवतजावत गर्ने अत्यावश्यक साधनहरु पनि जिल्लाभित्र नरोकि संचालन गर्नुपर्ने छ । त्यस्तै तरकारी तथा खाद्यान्न किनमेलका लागि विहान ७ बजेदेखि ९ बजेसम्मको समय छुट्याइएको छ ।

स्थानीय प्रशासन ऐन २०२८ को ६(३) क र संक्रामक रोग ऐन २०२० को दफा २० बमोजिम जिल्लाभित्र साधन सवारी, उद्योग, निर्माण कार्यमा पूर्ण रोक लगाइएको हो ।

त्यस्तै बुद्धभूमि नगरपालिकाले पनि नगरक्षेत्रमा थप सतर्कता अपनाउँदै प्रशासनले गरेको निर्णलाई पूर्णरुपमा कार्यान्वयन गर्न निगरानी बढाएको छ । नगरपालिकाले नगरभित्रका खाद्यान्न पसललाई आधा घण्टा मात्र संचालन गर्न दिने निर्णय गरेको मेयर केशव कुमार श्रेष्ठले मेयर खबरलाई जानकारी दिनुभयो ।

लकडाउनको समयमा पनि लुकीछिपी भारतबाट नगर प्रवेश गरेका व्यक्तिहरुको पहिचान गरि नगरपालिकाले क्वारेन्टाइनामा राख्ने निर्णय गरेको छ । त्यस्ता व्यक्तिहरुको पहिचान गरी आवश्यक सूचना दिन नगरपालिकाले सबै नगरबासीमा आह्वान गरेको छ ।
जिल्लाका अन्य नगरपालिकाले पनि प्रशासनले गरेको निर्णयलाई कडाइका साथ आफ्नो नगरभित्र लागू गर्ने जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *