चाँगुनारायण र थिमिमा थप सतर्कता, परीक्षणको दायरा बढाईंदै

मेयर खबरदाता, भक्तपुर

३१ वैशाख । भक्तपुरको मध्यपुर थिमि र चाँगुनारायण नगरपालिकामा कोरोना संक्रमित भेटिएसँगै दुईवटै नगरपालिकाले थप सतर्कता अपनाउँदै संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरेका छन् । दुबै संक्रमितका परिवारकोे पिसीआर परीक्षणका लागि स्वाब संकलन गरिसकिएको छ भने अहिले संक्रमित दुवै जनाको यात्रा विवरण संकलन गरी उनीहरुको सम्पर्कमा आएकाहरुको समेत पहिचान गर्ने काम भइरहेका छ ।

दुवाकोट बस्ने एक सशस्त्र प्रहरी जवानलाई कोरोना संक्रमण देखिएपछि चाँगुनारायण नगरपालिकाले परीक्षणलाई तिव्रता दिएको छ । नगरपालिकाले तत्काल संक्रमित बसेको स्थान वरपर र नगरका अन्य स्थानका करिब ३ सयको स्वाब परीक्षण गर्नेभएको छ । साथै संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङको कामलाई समेत अगाडि बढाएको मेयर सोम मिश्रले मेयर खबरलाई जानकारी दिनुभयो ।

ठिमिमा बस्दै आएकी २५ वर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएपछि मध्यपुर थिमि नगरपालिकाले पनि सुन्दरचोकदेखि शंखधर चोकसम्म मानिसहरुलाई हिँडडुल गर्न पूर्ण रुपमा रोक लगाएको छ । त्यस्तै संक्रमित बस्दै आएको क्षेत्रका बासिन्दाको समेत ट्रेसिङ शुरु गरिसकेको मध्यपुर थिमि नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले बताउनुभयो ।

संक्रमित महिलालाई भक्तपुर अस्पतालको आईसोलेसनमा राखिएको छ भने सशस्त्र प्रहरीका जवानलाई टेकु अस्पताल भर्ना गरिएको छ । अहिले भक्तपुर भित्रीने र बाहिरीने सबै नाकामा कडाई गरिएको छ । बुधबार दिउँसोसम्म थप दुईजनामा कोरोना संक्रमण देखिएपछि नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *