राहत दिएर जनता अल्छी बनाउनु भन्दा काम दिएर परिश्रमी बनाउनु जाती

मेयर खबरदाता, ललितपुर
१ जेठ । ललितपुरको महालक्ष्मी नगरपालिकाले श्रममा आधारित रोजगार कार्यक्रम सुरु गरेको छ । आर्थिक तथा सामाजिक अवस्था कमजोर भएका जनतालाई समस्यामा पर्न नदिन नगरपालिकाले कामसँगै खाद्यान्न नाम दिएको कार्यक्रम अघि बढाएको हो ।

पहिलो चरणमा १४ हजार परिवारलाई राहत वितरण गरिसकेको नगरपालिकाले दोस्रो चरणमा पनि राहत वितरण गर्नुभन्दा नगरबासीलाई कामदिनु उचीत रहेको भन्दै यस कार्यक्रमलाई अघि सारिएको मेयर रामेश्वर श्रेष्ठले मेयर खबरलाई जानकारी दिनुभयो ।

कोरोना महामारी र लकडाउनका कारण दैैनिक ज्यालादारी मार्फत जीविकोपार्जन गरिरहेका र विपन्न परिवारलाई लक्षित गर्दै नगरपालिकाले सार्वजनिक विकास निर्माणको काम सुरु गरेको छ । सामाजिक दूरी कायम गर्दै नगरपालिकाले कुलो मर्मत, प्राथमिक स्वास्थ्य केन्द्र र वडा कार्यालय परिसर सरसफाई गर्ने जस्ता काममा लक्षित वर्गलाई समेटिरहेको छ । अहिले खेतीको मौसम समेत सुरु भएकाले त्यस्ता व्यक्तिलाई नगरपालिकाले आवस्यकता अनुसार खेतीबारीको काममा समेत लगाउन सक्ने छ । काममा खटाईएका त्यस्ता गरिब तथा विपन्न वर्गलाई नगरपालिकाले मास्क तथा साबुनपानीको समेत व्यवस्था गरेको छ ।

कुलो सफा गर्दै श्रमिकहरु


नगरपालिकाले काम लगाए वापद सरकारले तोकेको न्यूनतम पारिश्रमिकमा थप हुने गरी रकमको सट्टा खाद्यान्न दिने गरेको छ । यदी कसैसँग खाद्यान्न छ तर औषधिको आवस्यकता छ भने नगरपालिकाले आवस्यक औषधि समेत खरीद गरेर दिने गरेको छ । मेयर खबरसँगको कुराकानीमा मेयर श्रेष्ठले आफ्नो धरणा राख्दै भन्नुभयो, ‘आफ्ना नगरबासीलाई राहत मात्र वितरण गरेर अल्छी बनाउनु भन्दा पनि काम दिएर परिश्रमी र मेहनती बताउनु उचीत हो नी हैन र ?’

नगरपालिकाको १० वटै वडामा अहिले त्यस्ता व्यक्तिहरुले आफ्नो नाम टिपाई रहेको र त्यसको संख्या दिनप्रतिदिन बढी रहेकाले सबैलाई समेट्नेगरी आलोपालोमा समेत कामदिन सक्ने महालक्ष्मी नगरपालिकाले जनाएको छ ।

अपाङ्ग, अशक्त, ज्येष्ठ नागरिक, तथा बालबालिकालाई भने नगरपालिकाले बिनाकामै राहत उपलब्ध गराउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *