यहाँ उभिएर …

पहिलोपटक सगरमाथा चुचुरो चुमेका एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पा अहिले भएका भए सोध्न हुन्थ्यो– पहिलोपटक बाटो पहिल्याउँदै लक्ष्य चुम्न कति कठिन छ ? चन्द्रमामा पुगेका निल आर्मस्ट्रङ जिउँदा भएका भए सोध्न हुन्थ्यो, असम्भव प्रायः लाग्ने त्यो यात्रा कसरी सम्भव भयो ? तर, ति कोही छैनन्, जसले कठिन यात्रा पार गरे । आज उनैले पहिल्याएको बाटोमा हिंडिरहेकालाई के सोध्नु र खै ! कवि टि.पी.शर्मा तिमल्सिना पनि यस्ता यात्री हुन्, जो बर्षाैंदेखिको अनुभव र विद्धताबाट एउटा छुट्टै सत्मार्ग निर्माण गर्ने अभियानमा छन् । कहिले काहीं एकोहोरिएका बेला झन् गहिरिन्छन्, र लेख्छन् एउटा कविता । उनका कवितामा उनको होइन, आम जीवन भेटिन्छ । त्यस्तै एउटा अर्काे कविता ‘यहाँ उभिएर…’ आजको मेयर खबरको शनिवारीय साहित्यमा समावेश गरेका छौं । –सम्पादक

यहाँबाट अगाडि
अझै धेरै हिड्न बाँकी छ
बाँकी छ अधुरा कामहरु,
बाटो फराकिलो हुन बाँकी नै छ
यहि बाटो हिडने धेरैको चाहना र सपना
बाँकी नै छ।

यहाँबाट पछाडि फर्किएर हेर्छु …
– जंघार र अनकन्टार
– खोलानाला
– उकाली/ओराली सम्याउँदै
आफैंले बनाएको बाटो
जहाँबाट हिडेर म यति वरसम्म आइपुगे
धेरै पछाडी छुटिसकेको छ
र, छुटिसकेको छ
धेरै सम्बन्ध र आयामहरु।

यहाँ उभिएर …
अगाडि हिंडने बाटोलाई हेर्छु
त्यो पनि त्यति सुगम छैन
जहाँ मैले पुग्नुपर्ने छ।

भरोसा र आत्मविश्वासलाई अघि लगाएर
निरन्तर हिंडिरहेकै छु।

अहिले यहाँ उभिएर सोच्दैछु
बाटो कठिन रहेछ
बाधा–अवरोध जटिल छ
पछाडीका कमजोरी र अनुभव सँगाल्दै
अगाडिको दृढतालाई लक्ष्य बनाएर
तैपनी हिंडिरहेकै छु …

म हुनुको अस्तित्वलाई
मैले जोगाएर बाँच्नुछ,
मैले हिंडेको बाटोलाई कालान्तरसम्म
बँचाएर राख्नु छ।

(कवि तिमल्सिना नमोबुद्ध नगरपालिकाका मेयर हुनुहुन्छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *