युद्ध–कोरोनाविरुद्ध–३६ : तीन प्रदेशका तीन मेयरसँग बहस, मेयर भन्छन्, ‘संघीय सरकारको नाक जोगाईदियौं’

मेयर खबरदाता, काठमाडौं

तीन प्रदेशका मेयरहरुले कोरोना विरुद्धको युद्धमा स्थानीय सरकार अहोरात्र खटेर संघीय सरकारको नाक जोगाईदिएको बताउनुभएको छ । मेयर खबरको समन्वयमा न्यूज २४ टेलिभिजनबाट प्रत्येक दिन प्रशारण हुँदै आएको ‘युद्ध– कोरोनाविरुद्ध’को आजको ३६ औं श्रृंखलामा बोल्दै मेयरहरुले जनताले भेट्ने सरकार भएकाले सबै स्थानीय सरकारले काँध थापिदिएको बताउनुभएको हो ।

मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले स्थानीय सरकारले त सक्नेभन्दा बढी गरिरहेको छ तर संघीय सरकारले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेकोप्रति दुःख व्यक्त गर्नुभएको छ । मेयर श्रेष्ठले भन्नुभयो, ‘साँढे २ करोड बढी राहत बाडिसक्यौं तर संघीय सरकारले एक पैसा पनि दिएको छैन ।’

मेयर श्रेष्ठले कोरोनापछिको बजेट र योजना बनाउँदा हिजो जस्तो सोच्न नहुने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘विगतमा स्थानीय सरकारका शिक्षा, कृषि लगायतका अधिकार खोस्न खोजिएको थियो, अब त्यस्तो गलत प्रयास नगरियोस् ।’

मोरङको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले पनि संघीय सरकारलाई बरु प्रभावकारी नियमन गर्न सुझाव दिंदै अधिकार कुण्ठित गर्ने प्रयत्न नगर्न चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ‘कोरोनाले सिकायो होला नि त अब, नीति र बजेटमा संघ र प्रदेश सरकारले हेर्नुपर्छ ।’

प्यूठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतिले नगरभित्र हालसम्म कोरोना संक्रमण नदेखिएपनि प्यूठान उच्च जोखिममा रहेकाले सुरक्षाका उपायहरुमा सजग रहेको बताउनुभएको छ । भारतमा रहेका र प्यूठान प्रवेश गर्ने ५ हजार भन्दा बढीको व्यवस्थापन अबको चुनौती रहेको उहाँको भनाई छ । मेयर कक्षपतिले भन्नुभयो, ‘अघिल्लो बर्ष नै स्वास्थ्यलाई प्राथमिकतामा राखेर संरचना र संयन्त्र निर्माणमा लागेकाले कोरोना नियन्त्रण सजिलो भएको छ तर अब प्यूठानभरीका सबै पालिका बसेर गराईमा एकरुपता ल्याउनुपर्छ ।’

आजको श्रृंखलामा प्रदेश १ बाट मोरङ जिल्लाको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी, बागमती प्रदेशबाट भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ, प्रदेश नं. ५ बाट प्यूठान जिल्लाको प्यूठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपति सहभागी रहनुभएको कार्यक्रमका सहजकर्ता शिव अधिकारीले जानकारी दिनुभयो ।

हरेक दिन न्यूज २४ टेलिभिजनबाट प्रशारण हुँदै आएको ‘युद्ध– कोरोनाविरुद्ध’को आजको ३६ औं श्रृंखलामा पनि आज आईतबार विहान ८ः३० र राती १० बजे प्रशारण हुने जनसम्पर्क अधिकृत प्रसन्न ढुंगानाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *