मुख्यमन्त्रीसँग मेयर–उपमेयर : भारतसहित विदेशमा अलपत्र नागरिक छिट्टै ल्याऊँ

मेयर खबरदाता, सुर्खेत

सुदूरपश्चिम प्रदेशका मेयर–उपमेयरहरुले मुख्यमन्त्री त्रिलोचन भट्टलाई भारतसहित विदेशमा रहेका नेपालीलाई छिट्टै भित्र्याउन पहल गर्न दवाब दिनुभएको छ । मंगलबार मुख्यमन्त्रीसँगको ‘भर्चुअल’ बैठकमा उहाँहरुले विदेशमा रहेका दुतावासको भूमिका प्रभावकारी नभएको, नागरिक सिमामा र विदेशमा अलपत्र रहेको सुन्दा मन कुँडिएको भन्दै अलपत्र नेपालीलाई नेपाल ल्याउन पहल गर्नुपर्नेमा जोड दिनुभएको हो ।

बैठकमा बोल्दै मेयर–उपमेयरहरुले त्यसरी नागरिकलाई नेपाल भित्र्याउन सिमा क्षेत्रमै प्रदेश सरकारले विश्वसनीय स्वास्थ्य जाँच गर्ने व्यवस्था गर्न सुझाव दिनुभएको छ । सुदूरपश्चिम नगरपालिका संघका संयोजक केशव बहादुर चन्दले भन्नुभयो, ‘सुरक्षित प्रवेश गराउन सिमामा नै अनिवार्य स्वास्थ्य जाँचको व्यवस्था मिलाउँदै स्थानीय तहसँगको समन्वयमा यातायातको व्यवस्था गरी सुरक्षित रुपमा पठाउन मुख्यमन्त्रीसँग आग्रह गरिएको हो ।’

बैठकमा संयोजक चन्दले सिमा क्षेत्रका स्थानीय तहसँग भएको बजेट र जनशक्ति दुवै अपर्याप्त रहेकाले व्यवस्थापनका लागि प्रदेश सरकारले विशेष अनुदानको व्यवस्था गरी जनशक्ति परिचालनका लागि ठोस योजना निर्माण गरिदिन समेत आग्रह गर्नुभयो ।

छलफलका क्रममा मुख्यमन्त्रीलाई स्वास्थ्य सामाग्रीको अभाव रहेको भन्दै विश्वसनियतामा प्रश्न उठेको र्यापिड टेष्टको साटो पिसीआर टेष्टलाई बढाउनुपर्ने सुझाव दिइएको थियो । छलफलमा संघीय र प्रदेश सरकारले जारी गरेको मापदण्डले राहत दिनुपर्ने समुदायलाई समेट्न नसकेको भन्दै अनुदान थप गर्दै दायरा बढाउन समेत आग्रह गरिएको छ ।

सुदूरपश्चिम प्रदेश नगरपालिका संघका प्रदेश व्यवस्थापक झंकर बहादुर कुँवरका अनुसार जवाफमा मुख्यमन्त्री भट्टले नगरपालिकाहरुले उठाएका सवाल गम्भिर भएकाले आफुले तत्काल प्रदेश सरकारबाट सम्बोधन गर्न सकिने विषयलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । साथै, मुख्यमन्त्री भट्टले स्थानीय तहहरुले कम्तीमा पनि २०० देखि ५०० क्षमताको क्वारेन्टाईन निर्माण गर्नुपर्ने, बिदेशमा रहेको नागरीकको सूचि प्रदेश सरकारलाई तत्काल उपलब्ध गराउनु आग्रह समेत दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *