मेयर हुनु त यस्तो पो ! सरकार कहाँ छ ? अमरगढीवासी भन्छन्- घरघरमा

मेयर खबरदाता, डँडेल्धुरा

कोरोना संक्रमण निण्न्त्रणका लागि भएको लकडाउनले नियमित औषधि सेवन गर्ने अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिकहरुले औषधि र उपचार कसरी पाउलान् ? यो चिन्ताले डँडेल्धुराको अमरगढी नगरपालिकाका मेयर विपिन ओझालाई सतायो । अनि आफैं जानुभयो, साथमा स्वास्थ्यकर्मी र औषधि लिएर । दीर्घरोगी, ज्येष्ठ नागरिक तथा गर्भवतीको घर घरैमा पुगेर मेयरले स्वास्थ्य अवस्था बुझ्दै औषधिको समेत व्यवस्था गर्दै आउनुभएको छ ।

स्वास्थ्य चौकीमा आई सेवा लिन नसक्ने ती नागरिकलाई घरैमा गएर स्वास्थ्य सेवा दिएको मेयर ओझाले मेयर खबरलाई जानकारी दिनुभयो । मेयर आझाले भन्नुभयो, ‘जिल्ला बाहिरबाट औषधि मगाएर प्रयोग गर्दै आएका नागरिकको समस्यालाई मध्यनजर गर्दै हामीले आफैँले औषधि मगाएर वितरण गर्न शुरु गरेका छौँ, जसले गर्दा दीर्घ रोगीलाई औषधि सेवनमा सहज भएको छ।’ दीर्घरोगीको नाम, ठेगाना, उमेर सङ्कलन गरी नियमित औषधि सेवन गर्न चिकित्सकले प्रमाणित गरेको कागजातका आधारमा निःशुल्क औषधि वितरण गर्न थालिएको छ। वितरित औषधिमा उच्च रक्तचाप, मिर्गौला, दमखोकी लगायत रहेका छन्।

घरैमा स्वास्थ्य सेवासहित औषधि वितरण गर्न शुरु गरेपछि स्थानीयवासी निकै खुशी भएका छन् ।

नगरभित्र ६४० भन्दा बढी नागरिक दीर्घरोगको औषधि सेवन गर्दै आएका छन्। मेयर ओझाले भन्नुभयो, ‘हामीले तालिम प्राप्त स्वास्थ्यकर्मीको टोली पठाएर ज्येष्ठ नागरिक र गर्भवती महिलाको स्वास्थ्य जाँच गर्न थालेका छौँ, स्वास्थ्य उपचार र गर्भ जाँच गर्नकै लागि अब डडेल्धुरा अस्पताल जानुपर्ने अवस्था कम भएको छ।’ लकडाउनको वेला पनि आफ्ना नागरिकको सेवामा मेयरको सक्रियताको प्रसंसा गर्दै शिक्षक गोपाल पाण्डेले अमरगढीका मेयर कहिले किसानको वारिमा, कहिले राहतको पोको वोकि विपन्न बर्गको दैलोमा त कहिले स्वास्थकर्मी लिएर आउँनुले सच्चा जनप्रतिनिधि र जिम्मेवार स्थानीय सरकार पाएको महसुस भएको बताउनुभयो ।

जनता त निकै खुशी भएछन् नि त मेयरज्यू भन्ने मेयर खबरको चासोमा मेयर ओझाले भन्नुभयो, ‘तिनै जनताले निर्वाचित गरेका हामी जनप्रतिनिधि जानुपर्ने गाउँ गाउँमै हो, एक कल फोन गर्दा त कति खुशी हुन्छन्, घरमै पुग्दा अभिभावकत्व महसुस गर्नुभएको हुनसक्छ ।’

राहत नलिने भनेपछि डोको धरौटी

अमरगढी नगरपालिकाको तिलारी टोलका नागरिकले नगरपालिकाबाट वितरण गरिएको राहत लिन मानेनन् । अवस्था असहज हुँदा हुँदै पनि राहत लिन इन्कार गरेका जनतालाई अमरगढीका मेयर ओझाले एउटा प्रस्ताव गर्नुभयोे— जनताले घरमा बुनेको डोको सहकारीमा राखेर डोको बराबरको पैसा दिने र ती डोका परिस्थिती सहज भएपछि बेचिदिने । यो योजनाले जनता पनि खुशी भए । मेयर ओझाले भन्नुभयो, ‘सहज अवस्थामा त उहाँहरु आफैं सक्षम हुनुहुन्छ, सरकार चाहिने भनेको अप्ठेरो बेलामा त हो नि, त्यसैले सहकारीबाट २ लाख पैसा निकालेर उहाँहरुलाई दियौंं, त्यसको व्याज नगरपालिकाले बेहोरिदिनेछ ।’

गाउँका टाठा बाठाहरुले बजारमा ५ सय पर्ने ति डोकाहरु २ सयमा किनेर स्टोर गर्ने र पछि बेचेर मुनाफा कमाउने सोचले ति सोझा जनताको श्रमप्रतिको अन्याय भएको ठान्दै मेयर ओझाले तत्कालै गरेको यो निर्णयले धेरै श्रमजीवी जनताले सहज महसुस गरेका छन् ।

तरकारी र कुखुराको बजार पहिचान गरे ढुवानी निःशुल्क

मेयर ओझाले तरकारी व्यवसायी र कुखुरापालक किसानका उत्पादन बजारसम्म पुर्याउन नगरपालिकाकै टिपर परिचालन गर्दै आउनुभएको छ । मेयर ओझाले भन्नुभयो, ‘डँडेल्धुरा तरकारी उत्पादनको हब हो, यहाँका तरकारी र कुखुरा नाश हुँदैनन्, म सजग छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *