पाईला– समृद्धितिर…

‘तपाईंका बितेका तीन बर्ष कस्तो रह्यो’ भनेर नमोबुद्ध नगरपालिकाका मेयर टिपी शर्मा तिमल्सिनालाई सोध्नै पर्दैन । उनले लेखेको कविता ‘पाईला– समृद्धितिर’ तीनपटक पढे पुग्छ । स्वाभिमानसहितको विचारको राजनीतिमा खरिएका मेयर तिमल्सिना तीन बर्ष अगाडि एउटा भुङ्ग्रो फदाले । ति राता–ताता कोइला माथी संघर्ष गर्नुको विकल्प पनि थिएन, उनीसँग । लामो निष्ठावान् राजनीतिबाट उदाएका भएकैले उनका पैताला डढेनन्, बरु ति राता–ताता कोइला डढेर आज खरानी भए । मेयर तिमल्सिनाका तिनै तीन बर्षको अनुभुति सहितको सिर्जना ‘पाईला– समृद्धितिर’ आजको मेयर खबरको शनिवारीय साहित्यमा समावेश गरेका छौं । – सम्पादक

नमोबुद्ध हाम्रो आँखा, शिर देवीथान
भकुन्डे हो काख, मठमन्दिर स्वाभिमान
दाप्चादेखि कानपुर हाम्रै सेरोफेरो
मेथिनकोट बुचाकोट चरङ्गेको घेरो

हाम्रो नगर राम्रो नगर, हामी घाम–जून
हामीसँगै बज्छ सधैँ, सिर्जनाको धुन
सिर्जनाका लागि हामी गयौँ घरघर
तीन वर्ष खुल्यो हाम्रो, नगरको द्वार

नयाँ–नयाँ अनुभव, नयाँ–नयाँ काम
जनताको सुविधा नै, नगरको धाम
काम गर्दै अघि बढ्दै, जाने हाम्रो धोको
तर पनि आइरहन्छ, समस्याको पोको

कतै आँधी कहीँ व्याधि, फेरि महामारी
भूकम्पका समस्या ती, हुन्छन् वारिपारि
हुँदाहुँदा हाम्रो देश, सानो हुँदै जाने
जल, जमिन, जङ्गल र जन पनि खाने

कस्तो भयो छिमेकीको, व्यवहार आज
छिमेकी हो भन्न पनि, लाग्न थाल्यो लाज
सिमानाको रक्षा गर्न, सबै उठ्नैपर्छ
हाम्रो देश मिच्नेमाथि, सबै जुट्नैपर्छ

हाम्रो देश रहे मात्रै, रहनेछौँ हामी
किन पर्थ्यौं लम्पसार, अरू सामु हामी
हाम्रा दुःख समाधान, गर्छौं हामी आफैँ
व्यवधान जति आऊन्, चिर्छौं हामी आफैँ

चिर्दाचिर्दै तीन वर्ष, बित्न लाग्यो हाम्रो
काम गर्न नदिने त्यो, जात कस्तो चाम्रो
गर्ने छैन कोही अर्को, हामी नै हौँ गर्ने
जनताकै साथ बाँच्ने, अनि सँगै मर्ने

जनताको स्नेहभन्दा, ठूलो केही छैन
हृदयमा जनताको, स्नेह मेटिँदैन
गल्तीबाट सिकिँदैछ, काम गरिँदैछ
परिणाम देखिँदैछ, केही त हुँदैछ

निर्वाचनपछि भयो, शपथ जो पहिले
त्यसैलाई पूर्ण गर्न, कटिबद्ध अहिले
केही दिन अझै लाग्ला, सप्रिनेछ हाल
बनाउँछौँ जनताका लागि स्वर्णकाल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *