नगरपालिका संघ गण्डकी प्रदेशको नमूना काम, ‘भर्चुअल’ अन्तरक्रियापछि उपमेयरहरु किन भए उत्साहित ?

मेयर खबरदाता, गण्डकी प्रदेश

नेपालका नगरपालिकाको नेतृत्व गर्ने मेयर/उपमेयरहरुको छाता संस्था नेपाल नगरपालिका संघको भूमिकाप्रति गुनासो बढिरहेका बेला नगरपालिका संघ गण्डकी प्रदेशले उदाहरणीय काम गरेर यतिबेला चर्चा बटुलिरहेको छ । आगामी आर्थिक बर्ष २०७७/७८ को बजेट निर्माणमा लागिपरेका नगरपालिकाका उपमेयरहरुका लागि नगरपालिका संघ गण्डकी प्रदेशले ‘भर्चुअल’ अन्तरक्रिया आयोजना गरेपछि उपमेयरहरु दंग देखिएका हुन् ।

संघको गण्डकी प्रदेश संयोजक एवं पालुङ्टार नगरपालिकाका मेयर दिपकबाबु कँडेलका अनुसार प्रदेशभित्रका नगरपालिकाका उपमेयरहरुका लागि आन्तरिक राजश्व पहिचान, परिचालन र व्यवस्थापनमा अब्बल बनाएर क्षमता विकासका लागि ‘भर्चुअल’ अन्तरक्रियाको आयोजना गरिएको हो ।

संयोजक कँडेलले मेयर खबरसँग भन्नुभयो, ‘कोरोना प्रभावकाबीच आउने बजेट विगतको भन्दा प्रभावकारी होस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो, यसबाट उपमेयरज्यूहरुले धेरै महत्वपूर्ण विषयबारे प्रष्ट हुने अवसर प्राप्त गर्नुभएको छ ।’

अन्तरक्रियामा सहभागी उपमेयरहरुले कर, दस्तुर र शुल्क बारे आफुसँग रहेको भ्रम निरुपण भएको प्रतिक्रिया दिनुभएको छ । पालुङ्टारकी उपमेयर पम्फा बसेलले भन्नुभयो, ‘अहिले चालु पुँजी र आन्तरिक आयको फरकपना के छ ? बजेटको प्राथमिकताका के हो ? कसरी प्राथमिकीकरण गर्न सकिन्छ ? कर बढाउने भन्दा पनि करको दायरा कसरी फराकिलो गर्न सकिन्छ भन्ने विषयहरुमा छलफल भएको छ ।’

गण्डकी प्रदेशका उपमेयरहरु संलग्न अन्तरक्रियामा आगामी दिनमा पनि फरक फरक विषयमा यसरी नै अन्तरक्रियाको आवश्यकता बोध भएको विचार आएको उपमेयर बसेल मेयर खबरलाई जानकारी दिनुभयो । यसका लागि प्रत्येक नगरपालिकाले बरु १/१ लाख नगरपालिका संघ गण्डकी प्रदेशलाई दिन तयार रहेको आवाज अन्तरक्रियामा उठेको उपमेयरहरुले बताउनुभएको थियो ।

अन्तरक्रियापछि प्रतिक्रिया दिंदै उपमेयरहरुले भन्नुभयो, ‘हाम्रो भुमिकाबारे अझ बढी जानकार भयौं, आन्तरिक राजश्व नीति र प्रक्रिया, कर राजश्व र गैरकर राजश्वबारे थप स्पष्ट हुन सहयोग मिलेको छ ।’

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले उपमेयरहरुलाई योजना तथा बजेट निर्माणको जिम्मेवारी तोकिदिएको छ । योसँगै बजेट निर्माण अघि नगरभित्रको राजश्व आँकलन गर्ने काम पनि उमपेयरहरुकै हो । ऐनले नगरपालिकाको राजश्व परामर्श समितिको संयोजन गर्ने जिम्मा पनि उपमेयरहरुलाई दिएको छ । अन्तरक्रियामा वि.के. महर्जनले कार्यपत्र प्रस्तुत गर्नुभएको संघले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *