सामाजिक सञ्जालको दुरूपयोग र यसका असरहरू

आफुसँगै बसेको मानिससँग कुरा हुन पाउँदैन, तर सात समुन्द्र पारी पुगेको मािनससँग कुरा भइरहेको हुन्छ । त्यसैले आज नजिकको मानिस टाढा र टाढाको मानिस नजिक हुँदैछ । प्रविधिले हामीलाई आफ्नो बसमा राख्दैछ । एकैछिन पनि सामाजिक सञ्चाल चलाउन नपाउँदै हदैसम्म छट्पटी हुने भइसकेको छ । हो, यसबाट सूचना, ज्ञान र मनोरञ्जन लिन सकिन्छ । तर, यसको जानेर वा नजानेर दुरुपयोग भयो भने यसले जीवनलाई नै जोखिममा पारिदिन्छ । त्यसैले पनि नेपाल सरकारका उपसचिव टेकराज पन्थीले लेख्नुभएको लेख ‘सामाजिक सञ्जालको दुरुपयोग र यसका असरहरु’ ले समाजलाई दिशा दिनेछ भन्ने सोचका साथ यो लेख प्रकाशित गरिएको छ । –सम्पादक

 

 

सामाजिक सञ्जाल

सामाजिक सञ्जाल मानिसहरूलाई जोड्ने एउटा माध्यम हो । कोरोना भाईरसको महामारीबाट श्रृजना भएको संकटमा र लकडाउनको अवस्थामा सामाजिक सञ्जाललाई धेरैले महत्वपूर्ण साथी बनिरहेको महसुस गरिएकोछ । तर अहिले यो माध्यमका रूपमा मात्र नभई युवापुस्ताको राम्रो साथी बनिरहेको छ। सामाजिक सञ्जाल रमाइला क्षणहरू सेयर गरेर खुसी बाँड्नेमात्र नभई दुःख बाँड्ने ठाउँ पनि बन्दैछ । अहिले विश्वभरि नै सामाजिक सञ्जालको प्रयोग ह्वात्तै बढेको देखिन्छ । तथ्याङ्क अनुसार विश्वमा करीब ७ अर्ब जनसङ्ख्यामा करीब ५ अर्बभन्दा बढी मोबाइल प्रयोगकर्ता छन् । ४ अर्ब मानिसले इन्टरनेटको प्रयोग गर्छन् र करीब ३ अर्ब मानिस सामाजिक सञ्जालमा छन् ।

मोबाइल अथवा कम्प्युटरमा इन्टरनेट प्रविधि मार्फत आफूले प्राप्त गरेका वा आफूले सिर्जना गरेका विचार, सूचना, डिजिटल फोटो, भिडियोहरु आदानप्रदान गर्न प्रयोग गरिने माध्यमलाई सामाजिक सञ्जाल भनिन्छ । यो वेवसाइट एवं इन्टरनेटको माध्यमद्वारा प्रत्यक्ष कुराकानी गर्ने, सूचना आदानप्रदान गर्ने साधनको रूपमा पनि लिन सकिन्छ । यो समुदायमा आधारित सामग्री आदानप्रदान गर्ने सञ्चार च्यानल भएकाले यसलाई सामाजिक सञ्जाल भनिएको हो ।  इमेल,फेसबुक, युट्युब, भाइबर, ट्वीटर , इन्स्टाग्राम,ह्वाट्सअप  आदि सामाजिक सञ्जालमा पर्दछन् । एक अध्ययनका अनुसार सामाजिक सञ्जालमा मानिसहरू २०  देखि २५ प्रतिशत समय विताउने गर्दछन ।

सामाजिक सञ्जालबाट मानिसहरू एकअर्काबीच सूचना आदान प्रदान छिटाछरितो गर्न सकिने, घरमै बसेर स्वदेश तथा विदेशमा प्रत्यक्ष सम्पर्क गर्न सकिने, महत्वपूर्ण कागजात, फोटो एवं भिडियो तुरुन्तै आदानप्रदान गर्न सकिने, कुनै घटना वा खास विषयवस्तुको प्रत्यक्ष प्रसारण गर्न सकिने, घरमै बसेर खरिदबिक्री गर्न सकिने, आफ्ना विचार भावना राख्न सजिलो हुने, सारा विश्वलाई एउटै गाउँमा ल्याउन सहयोग पुग्ने, अध्ययन अनुसन्धान एवं लेखन कार्यमा सघाउ पुग्ने, व्यक्ति, परिवार, समुदाय, कार्यालय, व्यापार व्यवसाय सबैले हरेक काममा प्रयोग गर्न सकिने जस्ता विषयहरूले मानवजीवनमा सहज र सरल बनाएको छ । मानिसहरू तथा प्रयोगकर्ताले सामाजिक सञ्जालको सहि सदुपयोग गरेमा मानवजिवनका हरेक गतिविधिमा सकारात्मक प्रभाव पारेको मानिन्छ । अज लकडाउन तथा विषम परिस्थितिमा भर्चुयल कक्षा सञ्चालन गरि विद्धार्थीहरूलाई फाईदा पुराएको छ भने कोरोना भाईरसको संक्रमणबाट जोगिन विभिन्न बैठकहरू जुमएप्सको माध्यमबाट भर्चुवल बैठक सञ्चालन समेत भएका छन् । यसरी हेर्दा सामाजिक सञ्जालको महत्व अति नै देखिन्छ ।

 सामाजिक सञ्जालको दुरूपयोग

इमेल,फेसबुक, युट्युब, भाइबर, ट्वीटर, इन्स्टाग्राम, ह्वाट्सअप आदि जस्ता सामाजिक सञ्जालमा दिनानुदिन सदुपयोग नभएर दुरूपयोगको मात्रा बढ्दै गएको पाइन्छ । त्यसको अतिरिक्त सामाजिक सञ्जालमा बढी समय खर्च गर्ने, अरु प्रति नकारात्मक टिकाटिप्णी सेयर गर्ने, ब्यक्तिगत चरित्रहत्या गर्ने, समाजलाई हानी नोक्सानी गर्ने विषयबस्तु बढी शेयर गर्ने, अश्लील भिडियो तथा फोटो खिचेर अपलोड गर्ने, सेयर गर्ने, नचिनेको व्यक्तिलाई जिस्क्याउने, अर्काको फोटो तथा भिडियोको दुरुपयोग गर्ने, सामाजिक सञ्जाललाई अध्ययन अनुसन्धानको साधन भन्दा मनोरन्जनको साधनको रुपमा प्रयोग गर्ने, गलत समाचार सम्प्रेषण गर्ने, साईबर ह्याक गर्ने, समाजमा भ्रम फैलाउने र गैर जिम्मेवार ढंगले शेयर तथा पोष्ट गरि सामाजिक सद्भाव खलबलाउने कोशिस गर्ने जस्ता कार्यबाट सामाजिक सञ्जालको दुरूपयोग हुने गरेको पाईन्छ ।

साइवर क्राइम

साइवर भन्नाले विद्युतीय सूचना प्रविधिसँग सम्बन्धित भन्ने बुझिन्छ । क्राइम भनेको कानुनले बन्देज गरेका गतिविधि वा अपराध हो । यसर्थ सूचना तथा प्रविधिको तीव्र विकाससँगै यसको दुरुपयोग हुनु साइबर क्राइम हो । फेसबुक, ट्वीटर, भाईबर, ह्वाट्सअप जस्ता सामाजिक सञ्जालबाट हिंसात्मक कार्य गर्नु, अश्लील सामग्री राख्नु, धम्की–गाली–गलौज गर्ने र चरित्र हत्या गर्ने कार्य साइवर क्राइम हुन् ।

नेपालको सन्दर्भमा विद्युतीय कारोबार ऐन,२०६३ अनुसार विभिन्न किसिमका साइबर गतिविधिलाई अपराध मानिन्छ र सजाय पनि तोकेको छ । कम्प्युटर सम्बन्धी कसूर अन्तरगत कम्प्युटर स्रोत सङ्केतको चोरी, नष्ट वा परिवर्तन गर्नेलाई, कम्प्युटर सामग्रीमा अनधिकृत पहुँच र कम्प्युटर तथा सूचना प्रणालीमा क्षति पुर्याउने कार्यलाई साइवर अपराध ठहर्याई दुई लाख रुपैयासम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गर्ने अपराध अन्तर्गत कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयासम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ । त्यस्तै कम्प्युटर र सूचना प्रविधिको प्रयोग गरी गोपनीयता भङ्ग गरेमा वा गर्न लगाएमा एक लाख रुपैयासम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ  । यसरी साईबर क्राईम गर्दा हुने दण्ड, जरिवाना, सजायलाई कानुनमा स्पष्ट उल्लेख गरेको छ । त्यसैले हामी सवै साईबर प्रयोग र उपयोगमा विशेष शतर्कता अप्नाउनु जरूरी हुन्छ ।

सामाजिक सञ्जालको दुरूपयोगका असरहरू

विद्धमान नेपालको कानुनले यस्ता गलत क्रियाकलापलाई सामाजिक अपराध मानेर दण्ड, जरिवानाको ब्यवस्था गरेको छ । कानुनको अनभिज्ञतामा कसैलाई क्षम्य हुदैन भन्ने विषय पनि सामाजिक सञ्जालको प्रयोग गर्नेहरूले राम्रैसँग जानकारी लिनु जरूरी छ । साईबर ल तथा अन्य नेपाल कानुनहरू यसमा आकर्षित भएको हुन्छ । सामाजिक सञ्जालमा कसले कहाबाट पोष्ट गरेको छ, कसले लाईक तथा शेयर गरेको छ, कसले अपलोड गरेको छ भन्ने विषय नेपाल प्रहरीले अपराध अनुसन्धान गरि सजिलै पत्ता लगाउछ र दुरूपयोग गर्नेलाई सरकारी वकिल मार्फत सम्मानित अदालतमा पेश गर्ने ब्यवस्था छ ।

अदालतमा पेश गरेका प्रमाणका आधारमा अदालतबाट फैसला गरेपछि दोषी ठहरिएमा अभियुक्तले दण्ड, जरिवाना वा सजाय पाउछ । त्यसैले सामाजिक सञ्जालको सहि सदुपयोग नगरी दुरूपयोग भएमा यसले गम्भिर असर पार्दछ भन्ने विषयमा सजक रहन सवै सामाजिक सञ्जाल प्रयोगकर्ताले बुझ्नु पर्दछ । सामाजिक सञ्जाल प्रयोग गर्दा मैले लालाईक मात्र गरेको, अरूले पठाएको शेयरमात्र गरेको, मलाई रिस उठेर अपलोड गरेको, साथी साथीमा जिस्कीएर सूचना आदान प्रदान गरेको भनेर क्षम्य हुदैन गल्ती गरेमा दण्ड, जरिवाना वा सजाय वा दुवै कानुन बमोजिंम भोग्नु पर्दछ । कानुन यस्तो होला, हामीले सामाजिक सञ्जालको दुरूपयोग गर्दा यस्तो हुन्छ भन्ने हामिलाई थाहा थिएन भनेर दुरूपयोग, गल्ती वा भूल भनेर क्षम्य हुदैन सजाय भोग्नु पर्दछ । त्यसैले सामाजिक सञ्जाल प्रयोग गर्दा निकै होसीयारी साथ प्रयोग गर्नु पर्दछ । अन्यथा सानो गल्तीले जीवन बर्बाद हुन सक्छ ।

मानिसको आचरण र अवस्थाअनुसार फरक मानिसलाई सामाजिक सञ्जालले फरक तरिकाले प्रभाव पारिरहेको छ । आधुनिक युगमा खानेपीउने,खेल्ने,लगायतका मोहसँगै सामाजिक सञ्जालको मोह पनि चुलिँदो छ । सामाजिक सञ्जालका धेरै लाभदायी पक्षहरु पनि छन् । यसको सही सदुपयोग गरी यसबाट भरपूर फाइदा लिनसक्नु नै बुध्दीमत्तता हुन्छ। सामाजिक सञ्जालले टाढा भएकोलाई जोड्ने तर नजिक रहेकोलाई टाढा बनाउन सक्छ । त्यसैले सामाजिक सञ्जाललाई सहि प्रयोग गरिएन भने जीवनमा ठूलो क्षती पुराउन सक्नेछ ।

(लेखक नेपाल सरकारका उपसचिव एवं सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *