सबैको प्रश्न हुन्छ, काम कहिले देखिन्छ मेयरज्यू ?– मेयर शर्माले कवितामार्फत् यसो भने …

नेतृत्वले लिएका निर्णय कहिलेकाहीं निकै विरोधाभाष पनि हुने गर्छ । त्यस्तै भयो, नमोबुद्धका मेयर टिपी शर्मा तिमल्सिनाको पनि । केही दिनअघि मेयर शर्माले सूचना जारी गर्नभुयो, ‘भूकम्पपछि प्रयोगमा नआएका तर घरमै रहेका सामाग्रीहरु दिनुस्, हामी क्वारेन्टिनमा प्रयोग गर्छाैं ।’ सूचनालगत्तै अनेकथरी प्रतिक्रिया आए । ति प्रतिक्रियासँगै निराश बनेका मेयर साँझपख खुशी भए किनकी साँझसम्म ५० भन्दा बढी पलङ, सिरक, डस्ना, तकिया, तन्ना जम्मा भइसकेका थिए । मेयर शर्माले गरेको अपेक्षा पुरा भयो । त्यसैले, केही सिमित व्यक्तिका प्रतिक्रिया र अवरोधका पछि नलागी निरन्तर आफ्नो कर्तव्य पुरा गर्ने हो भने सफलता पछिपछि आउँछ भन्ने त्यहि निष्कर्ष साथ मेयर शर्माले कविता लेख्नुभयो र जन्मियो, ‘देखिन्छ कार्यको फल ।’ त्यहि कविता आजको मेयर खबरको ‘मेयर साहित्य’मा प्रकाशित छ । –सम्पादक

 

 

चुनावको बित्यो बेला ती एघार सयौँ दिन
स्थानीय जनताबाट आयो नेतृत्वको क्षण
सकिन्न कहिल्यै बिर्सी घटना, दिन ती सबै
हामी ‘मेयर’ भै आयौँ जनता साथमा लिँदै

कत्रा–कत्रा थिए आशा जनताका, भनौँ कति
यो–यो गर्ने भनेकोमा गणना नै गरौँ कति
अहिले गरियो के–के भनेर हेर्दछौँ जब
अचम्म लाग्छ आफैँमा, देखिन्छ स्थिति वास्तव

घोषणापत्रमा के–के लेख्यौँ, के–के भन्यौँ, सुन्यौँ
के–के बाचा ग¥यौँ, के–के योजना मनमा गुन्यौँ
पछाडि फर्किई हेर्दा अहिले छक्क लाग्दछ
पूरा हुन सकेनन् कि भनेर डर लाग्दछ

बाटामा ठेस लागेका घटना छन् कति–कति
व्यवधानहरू आई लखेटेका कति–कति
‘सारा नगरवासीका हामी मेयर हौँ’ भन्यौँ
‘सर्वसम्मतिमा काम गर्छौं’ भन्यौँ, त्यही ग¥यौँ

तीन वर्ष बित्यो, काम बढेकै हुन्छ दिन्दिन
जनताका सयौँ काम मनमा उठ्छ छिन्छिन
समस्या धेर छन्, स्रोत–साधनैको भयो कमी
यस्तो समयमा हामी कसरी बस्तछौँ रमी ?

यो गरौँ त्यो गरौँ हुन्छ, काम छन् असरल्ल नै
जनताको सधैँ साथ पाइएको छ निश्चयै
तैपनि के हुने होला भन्ने छ मनमा डर
जे भए पनि हामीमा जनतामै छ आदर

अनुभवी भयौँ हामी, आत्मविश्वास क्यै बढ्यो
जुटायौँ स्रोत क्यै, बाटो लगायौँ, काम क्यै भयो
अब फैलिन्छ बिस्तारै, देखिन्छ कार्यको फल
पालिकाहरू बन्दैछन् जनतालाई सम्बल

(कवि तिमल्सिना नमोबुद्ध नगरपालिकाका मेयर हुनुहुन्छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *