शिक्षण सिकाइ प्रभावकारी बनाउने विषयमा प्रधानाध्यापकहरुसँग छलफल

मेयर खबरदाता, ललितपुर
४ असार । कोरोना संक्रमणबाट बच्न गरिएको लकडाउनका कारण विद्यालय बन्द भएपछि यो अवधिमा पनि विद्यालय तहका बालबालिकाहरुलाई सिकाइमा कसरी निरन्तरता दिन सकिन्छ भनेर महालक्ष्मी नगरपालिकाले प्रयत्न थालेको छ ।

बालबालिकाको सिकाइ प्रभावित हुन नदिन र उक्त सिकाइ प्रभावकारी बनाउने विषयमा बिहिबार नगरका निजी तथा गुठी विद्यालयका प्रधानाध्यापकहरुसँग नगरपालिकाले वैकल्पिक उपायहरु प्रयोग गरी शिक्षण सिकाइ प्रारम्भ गर्ने विषयमा छलफल गरेको हो ।

छलफलमा मेयर रामेश्वर श्रेष्ठले वैकल्पिक शिक्षण सिकाइमा विद्यार्थीहरुको स्मरण शक्तिको मात्र विकास नभई बुझ्ने र बुझाउन सक्ने क्षमता विकासमा विद्यालयहरुले जोड दिनुपर्ने बताउनुभएको थियो ।

प्रधानाध्यापकहरुलाई बैठकमा नगरपालिकाले कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुका लागि तयार गरेको वर्क बुकको १ कपी समेत वितरण गरेको मेयर श्रेष्ठले मेयर खबरलाई जानकारी दिनुभयो ।

केहि दिन अघि नगरपालिकाले वैकल्पिक उपायहरु प्रयोग गरी शिक्षण सिकाइ प्रारम्भ गर्ने विषयमा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग पनि छलफल गरेको थियो ।

सामुदायिक, गुठी र निजी गरी महालक्ष्मी नगरभित्र जम्मा ६२ वटा विद्यालय छन् । बालबालिकाको सिकाइमा थप क्षति नहोस भनेर सरकारले पनि गत सोमबारबाट वैकल्पिक सिकाइ कार्यक्रम सुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *