सैनामैनाको नीति कार्यक्रम : स्वास्थ्य, कृषि तथा आर्थिक विकासलाई प्राथमिकता (पुर्णपाठ सहित)

मेयर खबरदाता, रुपन्देही

असार ७ । सैनामैना नगरपालिकाले आर्थिक वर्ष २०७७⁄०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालकाले कृषि पर्यटन, उद्योग र पुर्वाधार सु– संस्कृत, समृद्ध नगर सैनामैनाको आधार भन्ने नारा सहित ७९ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नगरले अल्पकालिन, मध्यमकालिन तथा दीर्घकालिन विकासका लक्ष्यहरु सहित नीति तथा कार्यक्रम ल्याएको हो ।

सातौं नगर सभामा नगरपालिकाका मेयर चित्र बहादुर कार्कीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा विद्यमान कोरोना भाइरसको महामारीलाई केन्द्रित गरी स्वास्थ्य तथा सरसफाई, कृषि तथा आर्थिक विकास, शिक्षा लगायतलाई विशेष प्रथमिकता दिदैँ नीति तथा कार्यक्रम ल्याएको नगरपालिकाले जनाएको छ ।

यस्तो छ मेयर चित्र बहादुर कार्कीले नगरसभामा प्रस्तुत गर्नुभएको आ.व २०७७/७८ को नीति तथा कार्यक्रमको             ( पुर्णपाठ )

यस गरिमामय नगरसभाका सदस्य ज्यूहरु, राजनीतिक दलका प्रमुख एवम प्रतिनिधि ज्यूहरु, सुरक्षा निकाएका प्रमुख ज्यूहरु, संघसंस्थाका प्रतिनिधि ज्यूहरु तथा उपस्थित सम्पूर्ण महानुभावहरु,

सैनामैना नगरपालिकाको गरिमामय नगर सभामा आर्थिक वर्ष २०७७/ ७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा गौरवान्वित भएको छु । नेपालको संविधान जारी भई उक्त संविधानले व्यवस्था गरे बमोजिम हामी सैनामैना नगरपालिका स्थानीय सरकारको रुपमा रही तिन वर्षको वार्षिक नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनमा ल्याई सकेका छौं। सम्पूर्ण विश्व कोभिड १९ को महामारीबाट गुज्रिरहेको विषम परिस्थितिमा आ.व. २०७७/७८ को नीति तथा कार्यक्रम पेश गर्दैछु।

यस अवसरमा राष्ट्रिय स्वतन्त्रता, सामाजिक न्याय र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गर्नुहुने ज्ञात–अज्ञात सहिदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। राष्ट्रियता, लोकतन्त्र र जनजिविकाको आन्दोलनमा अगुवाइ गर्नुहुने सम्पूर्ण अग्रजहरुको योगदानको उच्च सम्मान सहित स्मरण गर्न चाहन्छु। देश भित्र र बाहिर कोभिड १९ बाट ज्यान गुमाएका सम्पूर्ण नेपालीहरुमा हार्दिक श्रद्धान्जली प्रकट गर्दै संक्रमित सबैको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

स्थानीय सरकार जनताको त्याग र बलिदान बाट प्राप्त उपलब्धि हो । स्थानीय जनताको पूर्ण लोकतन्त्र, सुशासनको प्रत्याभूति, जनता प्रति उत्तरदायी सरकार, भ्रष्टाचार मुक्त नगर निर्माण तथा सभ्य र सु–संस्कृत समाज एवंम आफ्नो कर्तव्य प्रति दृढ रहनु यस नगरपालिकाका आदर्श हुनेछन ।

नगरको अधिकार, श्रोत साधन, उत्तरदायित्व, पारदर्शिता र जवाफदेहिता सहितको स्थानीय सरकारको रुपमा स्थापित सैनामैना नगरपालिकाको आर्थिक समृद्धि र स्थानीय स्तरमा लोकतन्त्रको अभ्यासको क्रममा  सहयोग गर्नुहुने राजनीतिक दलहरु, कर्मचारीहरु, सुरक्षाकर्मीहरु, पत्रकार जगत तथा सैनामैना नगरवासीहरु प्रति धन्यवाद ज्ञापन गर्दछु ।

राज्यको पुनर्संरचना संगै संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार गरी तीन तहका सरकारको हक, अधिकार र कर्तव्य संविधानतः निर्दिष्ट गरिएका छन् । संविधानले तोकेका एकल तथा साझा अधिकार क्षेत्रभित्र रही संघीय सरकार र प्रदेश सरकारले दिएको नीति नियमको परिधिभित्र रही यस गरिमामय सभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न चाहन्छु ।

चालु आ.व को अन्तिम चौमासिकमा सुरु भएको लकडाउनका कारण विकास निर्माणका कार्यहरु लगाएतका अत्यावश्यक बाहेकका अन्य सेवाहरु अवरुद्ध भएको सबैलाई विधितै छ।महामारी बिरुद्धको लडाँईलाई उच्च प्राथमिकतामा राखि कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणको लागि पूर्वाधार निर्माण, सामाजिक विकासका योजनाहरुमा कटौती गरी विपद व्यवस्थापनमा खर्च गरिएको छ। अनुमानित राजश्व संकलनमा भारी मात्रामा गिरावट आएको छ । महामारी र बन्दाबन्दी कारण चालु आ.व मा अपेक्षित उपलब्धि हासिल गर्न सकिएको छैन । संक्रमितको पहिचान, क्वारेन्टाईन र आईसोलेसन सञ्चालन भईरहेकै छन्। आगामी आ.व. २०७७/७८ मा समेत स्थिति सहज नहुने निश्चित नै छ । जोखिम न्यूनिकरण गर्दै आर्थिक,सामाजिक,पूर्वाधार विकास गर्ने र सेवा प्रवाह गर्ने चुनौती थपिएको छ।

नगरसभाका सदस्य ज्यूहरु,

अब म आ.व. २०७७/ ७८ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न चाहन्छु ।

स्वास्थ्य तथा सरसफाई

१. विद्यमान कोरोना भाईरसको महामारीले स्वास्थ्य क्षेत्रको विस्तार र सबलिकरण गर्नुपर्ने पाठ सिकाएको छ। आगामी आर्थिक वर्ष स्वास्थ्य संस्थाहरुको स्तरोन्नति, पूर्वाधार विकास, जनशक्ति व्यवस्था र सेवाको समतामूलक पहुँच एवं गुणस्तर वृद्धि गर्न स्वास्थ्य क्षेत्रको पुनस्संरचना गरिनेछ। कोरोना महामारीको उपचारमा संलग्न स्वास्थ्य कर्मिहरुलाई प्रोत्साहित गर्न जोखिम भक्ताको व्यवस्था मिलाईनेछ। महामारी लामो समयसम्म रहिरहने अवस्था रहेमा नगरपालिका भित्रै सञ्चालनमा रहेका सामुदायिक क्वारेन्टाईन संख्या ५ र आइसोलेशन  कक्ष संख्या १ को क्षमता विस्तार गरिनेछ ।

२.नगरपालिका भित्र पायक पर्ने स्थानमा विशेषज्ञ सेवा, अत्याधुनिक उपकरण र सुविधा सहितको महिला, बालबालिका र अपाङ्ग लक्षित सामुदायिक अस्पतालको निर्माण गर्न पहल गरिनेछ।

३.आयुर्वेदिक र प्राकृतिक चिकित्सा प्रणालीको विस्तार र प्रवर्द्धन गरिनेछ। नागरिकहरुलाई योगाभ्यास र शारीरिक व्यायमसहितको जिवनपद्धति अपनाउन प्रेरित गर्न पद्मपाणी योग तथा प्राकृतिक चिकित्सालयमा व्यायमशाला तथा योग केन्द्र स्थापना गरिनेछ । विद्यार्थी, शिक्षक र समुदायमा सकारात्मक सोचको विकास गर्न नगरपालिका भित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा कम्तिमा ७ दिनको योग शिविरको आधारभूत कक्षा कार्यक्रम सञ्चालन गर्ने नीति लिइएको छ।

४.स्थानीय तहमा एक अस्पताल बनाउने कार्यक्रम अनुरुप यस नगरपालिकामा सुविधा सम्पन्न अस्पतालको निर्माण कार्य सुरु गरिनेछ। सबै स्वास्थ्य संस्थाहरुमा व्यवस्थित फिबर क्लिनिक सञ्चालन गरिनेछ। रामापुर स्वास्थ्य चौकीमा आखा अस्पताल निर्माण र वडा नं. ११ वनकट्टीमा २४ घण्टे प्रसुती सेवाको विस्तार गरिनेछ।स्वास्थ्य चौकी नभएका ९ वटा वडाहरुमा आधारभुत स्वास्थ्य चौकी भवन निर्माण गरी सञ्चालनमा ल्याइनेछ ।

५.स्वास्थ्य वीमा सम्बन्धी कार्यक्रम अन्तर्गत २०७७ कार्तिक मसान्तसम्म सवै नगरवासीको स्वास्थ्य वीमा गरिनेछ। महिला स्वास्थ्य स्वयंम सेविका र ८४ वर्ष उमेर काटेका जेष्ठ नागरिकहरुलाई निशुल्क स्वास्थ्य वीमाको व्यवस्था मिलाइनेछ। हाल सञ्चालनमा रहेको शहरी स्वास्थ्य केन्द्रलाई व्यवस्थित गर्दै लगिनेछ। महिला स्वास्थ्य स्वयंम सेविकाको कामलाई थप जिम्मेवार र उत्तरदायी बनाउन कार्यसम्पादनको आधारमा प्रोत्साहन गर्ने नीति लिइनेछ महिला स्वास्थ्य स्वयंम सेविकाहरुले गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै महिला स्वास्थ्य स्वयंम सेविका अक्षय कोषमा थप रकमको व्यवस्था गरिनेछ ।

६. नगरपालिकाका सम्पूर्ण नगरवासीहरुलाई सफा र स्वच्छ खानेपानीको व्यवस्था मिलाउन “एक घर एक धारा” कार्यक्रम सहित सबै नगरबासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन संघीय  र प्रदेश सरकारको  समन्वयमा पाइपलाईन विस्तार, ओभरहेड ट्याङकी निर्माणको कार्य अगाडी बढाइनेछ।

७. “सफा घर, टोल र शहर सैनामैनावासीको एउटै रहर” भन्ने नारालाई सार्थक बनाउन २०७५ साल जेठ ६ गते देखि फोहरमैलाको अल्पकालिन व्यवस्थापन शुरुवात भइसकेकोले यसलाई थप व्यवस्थित गर्दै लैजाने नीति लिइनेछ।फोहरको दीर्घकालिन व्यवस्थापनका लागि सैनामैना नगरपालिका वडा नं. १०, एक्ला पहाडमा बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकाको सहकार्यमा अन्तर स्थानिय तह संयुक्त फोहोर प्रशोधन केन्द्र निर्माण गर्न संघीय सरकारबाट जग्गाको भोगाधिकार लिने प्रक्रिया अघि बढाइएको छ । आ.व २०७७र७८ मा पुर्वाधार निर्माणको कार्य  सञ्चालनमा ल्याइनेछ ।

८. नगरपालिकामा पुर्ण  सरसफाई कायम गर्न आ(आफ्नो टोलमा सरसफाई गर्न टोल विकास संस्थालाई परिचालन गरिनेछ। सरसफाईमा उत्कृष्ट कार्य गर्ने टोल विकास संस्थालाई पुरस्कृत गरिनेछ। वडा स्तरीय सरसफाई समितिले अनुगमन गर्ने गरि  प्रत्येक खानेपानी संस्थाले आफ्नो बार्षिक आम्दानीको न्यूनतम १५ प्रतिशत रकम नगर सरसफाईमा खर्च गर्नुपर्ने नीति लिइएको छ। प्रदेश सरकारको अनुदानमा वडा नं ९ मा अत्याधुनिक यात्रु प्रतिक्षालय सहितको रिफ्रेस सेन्टर निर्माण गरिनेछ। सार्वजनिक निजी साझेदारीमा उपयुक्त स्थान छनोट गरी सार्वजनिक शौचालय निर्माणको व्यवस्था मिलाउने नीति लिइनेछ।

आर्थिक विकास

९.“भूमी बैँक मार्फत प्रविधियुक्त कृषि, स्वरोजगारीमा बृद्धि, सैनामैनाको आर्थिक समृद्धिʺ भन्ने अभियानलाई साकार पार्न भूमि बैंकको स्थापना गरि सामुहिक खेति, करार खेति र व्यवसायिक खेति गर्ने प्रबन्ध मिलाईनेछ। करार खेति गर्नको लागि जग्गा लिजमा लिदा जग्गा वहाल कर मिनाहा गर्ने नीति अवलम्बन गरिएको छ।जग्गा बाझो राख्ने प्रवृतिलाई निरुत्साहित गर्नको लागि जग्गाधनिले जग्गा बाझो राखेमा बाझो रहेको जग्गा भूमि बैँकले लिजमा दिन सक्ने नीति लिईएको छ । कृषियोग्य जमिनमा बस्ति विकास र शहरिकरण लाई निरुत्साहित गरि व्यवसायिक कृषि मार्फत उत्पादन र उत्पादकत्वमा अभिवृद्धि गरिनेछ। शुन्य उपयोगबिहिन भूमिको नीति अवलम्बन गर्दै सडक छेउ, नदि, खोला किनारको जग्गा र उपयोग विहिन सार्वजनिक जमिनमा टोल विकास संस्था मार्फत आफ्नो टोलमा फलफुल लगायतका नगदे बालीको विरुवा रोप्ने र त्यसरी रोपिएका विरुवाको उत्पादनको हकभोग समेत टोल विकास संस्थाले गर्ने व्यवस्था मिलाईनेछ।

१०.अनुत्पादक क्षेत्रमा खर्च कटौती गरिनेछ। तालिम, गोष्ठी, सेमिनार जस्ता कार्यक्रमहरु कम गरिनेछ । उत्पादन वृद्धि, आयआर्जन वृद्धि र थप रोजगारी सिर्जनामा सघाउ पुर्याउने कार्यक्रमलाई प्रोत्साहन गर्ने गरि बजेट विनियोजन गर्ने निति लिईएको छ ।

११. कोरोना भाईरसको कारण बैदेशिक रोजगारबाट  घर फर्किएका बेरोजगार युवालाई कृषि तथा पशुपंक्षी व्यवसायमा आबद्ध गर्ने नीति लिईएको छ। बैदेशिक रोजगारबाट घर फर्किएका बेरोजगार युवा र कृषि तथा पशु उद्यमी व्यवसायिमध्ये १६५ जना सामुहिक वा निजी व्यवसायीलाई प्राथमिकताको आधारमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था मिलाईनेछ। बेरोजगारहरुको सम्भावित पङ्क्तिलाई व्यवसायिक कृषि, भौतिक पूर्वाधार, स्थानिय पूर्वाधार, साना तथा मझौला उद्योग, उत्पादनमूलक उद्योग, निर्माण र सेवा क्षेत्रमा परिचालन गरिनेछ ।प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत सूचिकृत भएका बेरोजगार व्याक्तिहरुलाई श्रममा आधारित न्यूनतम रोजगारीमा संलग्न गराइनेछ।

१२.कृषिमा उत्पादकत्व वृद्धि गर्न कृषि कार्यमा सुधार, बजारीकरण, यान्त्रिकरण, एकीकृत वैज्ञानिक कृषि प्रणाली लागु गर्दै करार, सहकारी तथा सामुहिक खेतिलाई प्रोत्साहन गरिनेछ । सरकारबाट दिइने अनुदानमा सहकारी तथा सामूहिक खेती प्रणालीलाई प्राथमिकता दिइनेछ । कृषियोग्य जमिनको चक्लावन्दि गरी व्यवस्थित गर्न गैरकानुनी खण्डिकरणलाई नियन्त्रण गर्ने नीतिगत व्यवस्था गरिने छ ।

१३. हरेक किसानले प्राविधिक सेवा पाउने कुराको ग्यारण्टी गरिनेछ। त्यसका लागि कृषि तथा पशु तर्फ आवश्यक प्राविधिक जनशक्तिको सुनिश्चितता गरिनेछ। नगरपालिकाले दिदै आएको अनुदान वास्तविक किसानले  पाउने गरी बिउरनश्ल, मल, सिँचाई, बिजुलीजस्ता उत्पादनका मुख्य सामाग्रीमा अनुदान केन्द्रित गरिनेछ। प्राकृतिक प्रकोप र अन्य भवितव्यबाट कृषि बालि(वस्तुको हानी नोक्सानीबाट किसानलाई सुरक्षित गर्न सबै बालिवस्तुको वीमा कार्यक्रमलाई सहज र सस्तो रुपमा किसानको पहुँचमा पुर्याइनेछ। किसानले उत्पादन गर्ने मुख्य बालि( वस्तुको उत्पादन लागतको मूल्याङ्कन गरि उचित बचतको समेत ग्यारण्टी हुने व्यवस्था मिलाईने छ।कृषकलाई सहुलिएतपुर्ण कर्जा उपलब्ध गराउने, कृषि सामाग्रीमा अनुदान तथा सहयोग गर्ने, कृषकको उत्पादनको बजारिकरण गर्ने देखि कृषकको आम्दानीको बचत गर्ने सम्मका कार्यको सुनिश्चितता हुने गरि सहकारी संस्थाको सबलिकरण गर्दै कृषकहरु लाई सहकारी संस्थामा आबद्ध गरिनेछ। बाली बीमामा दिदै आएको अनुदानलाई बढोत्तरी गरिनेछ।

१४.  यस नगरपालिकाको वडा नं. ७ लम्टैयामा निर्माणाधिन औद्योगिक ग्रामको प्रथम चरणको निर्माण कार्य सम्पन्न गरी नगरभित्रका उद्यमी तथा सहकारीलाई औद्योगिक ग्राममा साना तथा मझौला उद्योग स्थापना गरी सञ्चालन गर्न प्रोत्साहन गरिनेछ। घरेलु तथा साना उद्योग स्थापनामा जोड दिदै स्थानीय स्तरमा उत्पादित बस्तुहरुलाई बजारीकरणको उचित व्यवस्थापन गरी दिगो आर्थिक वृद्धि हासिल गर्ने नीति लिइनेछ ।

१५. आगामी आ.व को प्रथम चौमासिक भित्र नगर गुरुयोजना तर्जुमा गरिनेछ।सोही गुरु योजनालाई मार्गदर्शकको रुपमा लिई नगरका अल्पकालिन, मध्यमकालिन तथा दीर्घकालिन बिकासका लक्ष्यहरु निर्धारण हुनेछन्। नगर गुरुयोजनाको आधारमा योजनाहरुको प्राथमिकताक्रम निर्धारण गरेर क्रमशः कार्यान्वयन गर्दै लगिनेछ।आम जनजीवन संग प्रत्यक्ष सरोकार राख्ने भूमिको व्यवस्थित तथा वैज्ञानिक उपयोग गर्ने गरी नगरको भू–उपयोग योजना निर्माण गर्ने कार्य अन्तिम चरणमा रहेको छ। भू–उपयोग योजनामा आधारित रहेर नगरका सम्पूर्ण योजना तथा कार्यक्रमहरु सञ्चालन हुनेछन् ।

१६. नगरपालिका भित्र स्थापना भई सञ्चालनमा रहेका सहकारी संस्थाहरुलाई न्यूनतम सदस्य संख्या र पूँजिको सीमा तोकी समान प्रकृति र उद्देश्य भएका सहकारीहरुलाई मर्ज गर्ने प्रक्रिया सुरु भैसकेको छ। मर्ज भई आएका सहकारी मार्फत बेरोजगार युवा तथा महिलालाई आत्मनिर्भर बनाउन विविध कार्यक्रम सञ्चालन गरिनेछ। सहकारीको माध्यमबाट एकीकृत कृषि, उद्योग तथा व्यापारको क्षेत्रमा लगानी गर्ने नीति लिइनेछ ।

सहकारीहरुले अनुत्पादक क्षेत्रमा गर्ने लगानीलाई निरुत्साहित गरिनेछ । मर्ज गरिएका सहकारीहरुलाई औद्योगिक ग्राम क्षेत्र भित्र उद्योग सञ्चालनको लागि जग्गा उपलव्ध गराइनेछ। सहकारी शिक्षा अभिबृद्धि गरि अधिकतम कृषिरपशु व्यवसायीलाई सहकारीमा आबद्ध गरिनेछ ।
१७. कृषि योजना पकेट क्षेत्र निर्धारण गरिनेछ। किसानलाई आर्गनिक खेतिमा आत्मनिर्भर बनाउन हरेक वडामा कृषक एकिकृत शत्रुजित व्यवस्थापन (आईपिएम) पाठशाला सञ्चालन गरिनेछ।  माटो सुधारका कार्यक्रमलाई निरन्तरता दिइनेछ। बेमौसमी तरकारी खेति उत्पादनको लागि हाइटेक प्लाष्टिक टनेल बनाईनेछ। रसायनिक विषादीको प्रयोगमा न्यूनिकरण गर्दै प्राङगारिक खेतिलाई प्रोत्साहन गरिनेछ। साना सिंचाई कार्यक्रमलाई निरन्तरता दिदै थप व्यवस्थित गर्ने नीति लिइएको छ।वडा नं. ३ र ८ मा १००० मेट्रिक टनका २ वटा शित भण्डार  निर्माण गर्न संघ र प्रदेश सरकारसँग पहल गरिनेछ।

१८. कोभिड १९ महामारीका कारण रोजगारी गमुाएका श्रमिक, साना किसान, असहाय व्याक्ति, गरिब तथा विपन्न वर्गको परिवारलाई लक्षित गरि स्वास्थ्य, शिक्षा, सिप विकास तालिम र रोजगारि एवं आयआर्जन सम्बन्धी विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।

१९.  वेरोजगार भएका र प्राविधिक शिक्षा पढन चाहने युवाहरुलाई ऋत्भ्ख्त् वाट संचालन गरिएका छोटो तथा लामो अवधिको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिममा छात्रवृति प्रदान गरी सीप सिक्ने अवसरलाई निरन्तरता दिइनेछ।

नगरसभाका सदस्य ज्यूहरु,

शिक्षा

२०   ̎”प्रविधिमा आधारित अपनत्व सहितको गुणस्तरीय शिक्षा, सैनामैनाको प्रतिबद्धता ̎ भन्ने नारालाई साकार पार्न विद्यालयलाई सूचना प्रविधियुक्त वनाउने कार्यको थालनी  आ.व.२०७५।०७६ देखिनै सुरु गरिएको छ। कक्षा कोठामा गरिने शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोगलाई निरन्तरता दिदै प्रविधिमैत्री शिक्षकहरुबाट अन्य शिक्षकहरुमा सीप हस्तानतरण गर्ने व्यवस्था मिलाइनेछ। शिक्षकलाई सूचना प्रविधि मैत्री वनाइ पाठयोजना र शैक्षिक सामग्री सहितको शिक्षणलाई प्रोत्साहन गरिने छ। विद्यालयको शैक्षिक गुणस्तर परिक्षण गरी उत्कृष्ट विद्यालय लाई पुरस्कृत गरिनेछ। सिकाई उपलब्धि बृद्धी र प्रविधिमैत्री शिक्षणलाई आधार मानी शिक्षकहरुको मूल्यांकन गरी पुरस्कृत गरिने छ ।

वालवालिकाहरुको सिकाइ कृयाकलाप अभिवृद्धि गर्न विद्यालयहरुमा विज्ञान प्रयोगशाला, पुस्तकालय तथा सुचना प्रविधिको व्यवस्था गरिने छ। स्थानीय पाठ्यक्रम निर्माण गरी क्रमश लागु गरिने छ । विद्यार्थी प्रतिभा पहिचान गरी उत्कृष्ट प्रतिभाहरुलाई प्रोत्साहन गरिने छ। विद्यालय सञ्चालन हुन नसक्ने अवधीभर स्थानिय टेलिभिजन मार्फत अनलाईन कक्षा सञ्चालन गरिनेछ ।

२१. बढदो विद्यार्थीको चापलाई व्यवस्थापन गर्न विद्यालयको भौतिक विकास, विद्यालय सरसफाइ र सुरक्षित वातावरणको लागि विद्यालयको पूवार्धार विकासमा जोड दिइने छ। नगरपालिका भित्रका सवै विद्यालयहरुलाई एकै किसिमको रंगरोगन गर्न प्रोत्साहन गरिने छ। विद्यालयमा सुरक्षित र स्वच्छ खानेपानीको व्यवस्था गरिने छ। विद्यालयमा  जङ्कफुड निषेध गर्दै प्राथमिक तहका बालबालिकाहरु लाई निशुल्क, स्वच्छ र स्वास्थ्यवर्धक खाजा खुवाईने छ। पूर्व प्राथमिक कक्षा देखि कक्षा ३ सम्म रमाइलो र सजावट युक्त वालमैत्री कक्षा व्यवस्थापन गरिने छ। यसवाट कलिला वालवालिकाहरु रमाइलो वातावरणमा खेल्दै सिक्दै गर्ने अवसर प्राप्त गर्ने छन्। विद्यालयमा अध्ययनरत सवै छात्राहरुलाई आवश्यक पर्ने सेनेटरी प्याड निशुल्क उपलव्ध गराईने छ। विद्यालय समायोजन भई प्राप्त हुने अनुदानवाट पचहत्तर प्रतिशत रकम अनिवार्य रुपमा विद्यालयको प्रयोगशाला, प्रविधि, पुस्तकालय र उपलब्धि सुधार सूचांकमा खर्च गर्नुपर्ने व्यवस्था गरिने छ। सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्न संघ र प्रदेश सरकारसँग पहल गरिनेछ। नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुमा लगानी, प्रक्रिया र उपलब्धिमा संतुलन कायम गर्न कार्ययोजना बनाई गुणस्तर अनुगमन संचालन गरिनेछ।

जेष्ठ नागरिक, महिला, बालबालिका तथा अपाङ्ग

२२. “सामाजिक न्याय र समताका  लागि सकरात्मक विभेद” को नीति अनुरुप हाल सञ्चालन गरिदै आएको क्षमता विकास तथा स्वरोजगार कार्यक्रमलाई निरन्तरता दिदै विधवा तथा एकल महिला, द्वन्द्वपीडित महिला, बेरोजगार तथा अति पिछडिएका र बिपन्न समुदायको लागि रोजगारमूलक तालिमको व्यवस्थालाई थप प्रभावकारी बनाइनेछ । सबै प्रकारका घरेलु हिंसामा परेका महिलाहरुलाई न्याय दिलाउन उच्च प्राथमिकता दिइनेछ । अपांग र बालवालिका लक्षित कार्यक्रमहरु सम्बन्धित लक्षित समुदायको परामर्शमा तय गरी प्रभावकारी रुपमा लागु गर्ने नीति अवलम्बन गरिनेछ । अपाङ्ग परिचयपत्र घुँम्ति शिविर सञ्चालन गरी  वितरण गरिनेछ ।

२३. बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्क सङ्कलन भइसकेकोले निजहरुलाई परिचयपत्रको आधारमा थप सुविधा उपलब्ध गराउने नीति लिइनेछ। महिलाहरुको सशक्तिकरण गर्नको लागी ʺमहिलासँग उपप्रमुखˮ कार्यक्रम सञ्चालन गरिनेछ।

२४. जेष्ठ नागरिक र अपाङ्ग नागरिकको भावनालाई कदर गर्दै प्रदेश सरकारसँगको सहकार्यमा वडा नं. १ मा प्रदेश स्तरको जेष्ठ नागरिक संरक्षण ग्राम र अपाङ्ग संरक्षण ग्राम निर्माणाधिन छ, यसको उचित प्रयोग गर्दै जेष्ठ नागरिक र अपाङ्गमैत्री वातावरणको सिर्जना गरिनेछ। हरेक वर्ष जेष्ठ नागरिकहरुलाई गरिदै आएको सम्मान कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

२५. वडा समिति, टोल विकास सँस्था, आमा समूह, स्थानीय क्लब,  समुदाय र सुरक्षा निकायको सहकार्यमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम मार्फत समाजमा विद्यमान समस्याको रुपमा देखिएको लागु पदार्थ सेवन र दुर्व्यसन जस्ता कार्यक्रम न्यूनिकरणका लागि प्रभावकारी रुपमा कार्यक्रम सञ्चालन गरिनेछ। बाल संरक्षण गृह, सुधार केन्द्र, रिफ्रेस सेन्टर स्थापना गरी सञ्चालन गर्न चाहने सामाजिक संस्था र निजी क्षेत्रलाई आवश्यक सहयोग गर्ने नीतिलाई निरन्तरता दिइनेछ। वडा तथा नगरस्तरीय वालक्लवहरुको क्षमता विकासको लागि विशेष कार्यक्रमहरु सञ्चालनमा ल्याइनेछ।

नगरसभाका सदस्य ज्यूहरु,

संस्कृति तथा पर्यटन

२६. कोरोना भाईरसको महामारीका कारण पर्यटन व्यवसाय ठप्प भएका छन्। पर्यटन     व्यवसायको पुनस्उत्थान गर्नको निम्ती नगरपालिकाबाट आवश्यक नीतिगत सहयोग गरिनेछ।

२७. सैनामैना नगरपालिका वडा.नं. ८ मा लुम्बिनी सांस्कृतिक शहर निर्माण गर्नको लागि जग्गा एकिकृत गर्ने सहितको परियोजना नगर विकास कोषको साझेदारीमा अगाडी बढाईनेछ।

२८.    नेपालका विभिन्न पर्यटकीय स्थल मध्ये महत्वपूर्ण गन्तव्य स्थलको रुपमा रहेको सैनामैना क्षेत्रको इतिहास, भूगोल, धर्म र संस्कृति झल्कने खालका कार्यक्रमहरु कार्यान्वयनमा ल्याइने छ ।सैनामैना क्षेत्र, पर्रोहा परमेश्वर वोलवमधाम, मलमला, महेरवादेवी, कोटियाथान लगायतका मठ मन्दिर, डिउहार, मस्जिद, गुम्बा, चर्चहरुको संरक्षण तथा संवर्धन गर्दै नगरपालिका क्षेत्रभित्र रहेका पर्यटकीय गन्तव्यको पहिचान र विकासका लागि ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदाहरुको संरक्षण गरी पर्यटन प्रवर्धन गर्न पूर्वाधार निर्माण तथा प्रचार प्रसारमा जोड दिइनेछ भने जवरजस्ती धर्म परिवर्तन गर्ने गराउने कार्यलाई निरुत्साहित गरिनेछ ।लुम्बिनी परिपथ परिक्रमा कार्यक्रमलाई व्यवहारमा रुपान्तरण गर्न अन्तर स्थानीय तह जोड्ने सडक निर्माणमा आवश्यक समन्वय गरिनेछ ।

२९.    पर्यटन पूर्वाधार निर्माण र प्रचार प्रसार गर्न सैनामैना नगरपालिका वडा नं. २ मा निर्मित थारु होमस्टेको सभाहल र पाहुना घर औपचारिक रुपमा सञ्चालनमा ल्याइनेछ । यस नगरमा आदिवासीको रुपमा बसोबास गर्दै आएका थारु समुदायको संस्कृतिको संरक्षण र संवर्धन गर्न थारु संग्राहलय निर्माणको सम्भाव्यता अध्ययन गरिनेछ । कोभिड(१९ को महामारी रोकथाम भएमा उद्योग बाणिज्य संघ तथा व्यापार संघबाट प्रत्येक वर्ष हुदै आएका कृषि तथा प्रर्यटन महोत्सव, भड्छा महोत्सव, आदिवासी जनजाती महोत्सव र माघी मेलाको संचालनलाई निरन्तरता दिइनेछ ।

३०.  राष्ट्रिय स्वतन्त्रता, सामाजिक न्याय र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गर्नुहुने शहिदहरुको सम्झनामा शहिद दिवस र राष्ट्रियता, लोकतन्त्र र जनजिविकाको आन्दोलनमा अगुवाइ गर्नुहुने सम्पूर्ण अग्रजहरुको योगदानको उच्च सम्मानको लागि वि.पि स्मृती दिवस र पुष्पलाल स्मृती दिवसको दिन सिर्जनात्मक कार्यक्रमको आयोजना गरि मनाइनेछ।

नगरसभाका सदस्य ज्यूहरु,

  खेलकुद

३१. “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” अभियानलाई सार्थक बनाउन सैनामैना नगरपालिका वडानं.७ लमटैयामा प्रारम्भ गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको संघीय खेलकुद परिषदको सहयोगमा म्एच्  बनाई पूर्वाधार निर्माणको कार्य सुरुवात गरिनेछ। युवाहरुलाई खेलकुद तर्फ प्रोत्साहित गर्न शुरु गरिएको नगरस्तरीय मेयर कप र नगरस्तरीय खेल सप्ताहलाई निरन्तरता दिइनेछ ।

३२. नगर गुरुयोजना अनुसार नगरपालिका क्षेत्रमा रहेका खेलकुद मैदानहरु मध्ये राष्ट्रिय, क्षेत्रीय र स्थानीय रङ्गशाला निर्माणका लागि उपयुक्त स्थानहरुको पहिचान गरी प्राथमिकताका आधारमा निर्माण कार्य अघि बढाइनेछ । प्रदेश सरकार र नगरपालिकाको सहकार्यमा सैनामैना १ मा निर्माणधिन रहेको इनडोर आउटडोर सहितको खेलकुद मैदानको निर्माण कार्यलाई निरन्तरता दिइनेछ । संघीय सरकारको सहयोगमा वडा नं. ४ मा निर्माण सुरु गरिएको फुटवल रङ्गशाला निर्माण कार्यलाई निरन्तरता दिइनेछ । वडा नं. १० को पशुपती मा.वि.को पश्चिमपट्टीको खेलकुद मैदान र वडा नं. ११ को महेरवादेवी आधारभूत विद्यालयको पश्चिमपट्टी रहेको खेलकुल मैदानलाई स्तरोन्नती गरिनेछ ।वडा नं. ६ मा प्रदेश सरकारको अनुदान सहयोगमा अत्याधुनिक कभर्ड हल निर्माणलाई निरन्तरता दिइनेछ।

पूर्वाधार विकास

३३. चालु आर्थिक वर्षमा ठेक्का लागेका र सम्झौता भएका सञ्चालित आयोजनालाई नियमानुसार म्याद थप गरि सम्पन्न गर्ने गरी बजेट विनियोजन गरिनेछ। बहुवर्षिय आयोजनाहरु तोकिएको समयावधि भित्रै सम्पन्न गर्ने गरि स्रोत सुनिश्चित गरिनेछ ।आ.व २०७६र७७ का सडक स्तरोन्नतीका योजनाको न्यूनतम ७५ प्रतिशत बजेट सुनिश्चित गरी आगामि आ.व को कार्तिक मसान्तसम्म सम्पन्न गरिनेछ। ठेक्का लागेर बन्दाबन्दीका कारण सम्पन्न हुन नसकेका संघ र प्रदेशका एकल वा साझेदारीका आयोजनाहरुको  म्याद थप गर्न संघिय र प्रदेश सरकारसंग अनुरोध गरि अधुरा आयोजनाहरुको निर्माण कार्य सम्पन्न गरिनेछ।

३४.    “नगरको समृद्धिको आधार, फराकिलो र व्यवस्थित सडक पूर्वाधार” भन्ने नारालाई आत्मसाथ गरी सडक निर्माण तथा बिस्तार गर्र्ने कार्यलाई निरन्तरता दिइनेछ।नगरपालिकाका गौरवका योजना अन्तर्गत विस्तृत सर्भे तथा डिजाइन इष्टिमेट  भइसकेका सडक तथा पुलहरुको निर्माण कार्य आरम्भ गरिनेछ । नगर यातायात गुरु योजना संसोधन गरी गुरुयोजनाले तोकेको मापदण्ड र प्राथमिकताको  आधारमा स्तरोन्नति भएका कच्ची सडकहरुलाई क्रमशः कालोपत्रे गर्ने र सो बाहेकका मुख्य मुख्य सडकहरु र गाउँ भित्रका परम्परागत सडकहरुको स्तरोन्नति गर्ने कार्यलाई निरन्तरता दिइनेछ।

३५.    संघीय सरकारको साबिक राष्ट्रिय प्राथमिकता प्राप्त योजना र प्रदेश सरकारबाट कार्यन्वयन भइरहेको सैनामैना नगरपालिकाको गौरवको रुपमा रहेको सैनामैना चक्रपथमा पर्ने बाकि पुलहरुको ठेक्का लगाएर निर्माण कार्य आरम्भ गरिनेछ।आ.व २०७७र७८ भित्र सैनामैना चक्रपथको न्यूनतम २० किलोमिटर सडक कालोपत्र र बाकि रहेको सम्पुर्ण सडक खण्डमा सब(बेस गरिनेछ। योजनाहरुलाई बजेटको कमी हुन नदिने तथा समयावधि भित्रै सम्पन्न गर्ने कुरामा उच्च प्राथमिकताका साथ सम्पन्न गर्ने तर्फ आवश्यक पहल गरिनेछ । नगरपालिका क्षेत्र भित्र बनेका सडकहरुको नामाकरण गर्ने कार्य पहिलो चौमासिकभित्र  सम्पन्न गरिनेछ ।

३६. नगरपालिकाको पूजिँगत बजेटको न्युनतम ३ प्रतिशत बजेट सडक मर्मत तथा संभार गर्ने कार्यको लागि विनियोजन गरिनेछ। म्ँक्ष्म् को प्राविधिक सहयोगमा तयार भएको सडक सम्पत्ति व्यवस्थापन तथा संरक्षण कार्ययोजनाले तोकेको प्राथमिकता र मापदण्ड बमोजिम नगरभित्रका सडक मर्मत तथा संभार गर्ने कार्य प्राथमिकताका साथ अगाडि बढाइनेछ।

३७. सडकको दिगो विकासको लागि नगर भित्रका कालोपत्रे सडकमा गुणस्तर कायम गर्न ३० फिट वा सो भन्दा बढी चौडाई भएका सडकहरुमा अस्फाल्ट कंक्रिट प्रविधि अपनाइनेछ। सडकको सर्भे डिजाइन गर्दा सोमा पर्ने विद्युत पोल, तार, नाली खानेपानी पाइप विस्तार समेत समावेश गरी एकिकृत डिजाइन इष्टिमेट तयार गरी कार्यान्वयनमा ल्याइनेछ। लागत सहभागितालाई स्थान विशेष तथा योजनाको प्रकृति अनुकुल परिमार्जन गर्दै लगिनेछ।

३८. वडा नं. ३ को मुर्गिया साप्ताहिक हाटबजार र शान्तिटोल साप्ताहिक हाटबजार भाद्र महिनासम्म निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ। सालझण्डी ढोरपाटन बसपार्क र पानवारिको साप्ताहिक हाटबजार निर्माण कार्यलाइ निरन्तरता दिइनेछ।

३९.    फूलवारी पार्क, वोलबम पर्यावरणीय पार्क, मलमला पार्क, वडा नं. ११ को राजापानी पर्यटकीय क्षेत्र,वनकट्टीमा ग्रिनपार्क र वडा नं. ९ मा वालउद्यानको डि.पि.आर. सम्पन्न भइसकेको हुँदा संघीय र प्रदेश सरकारसँग स्रोत व्यवस्थापनको लागि पहल गरिनेछ। वडा नं. ३ को मुर्गिया हाटबजार र दूर्गा मन्दिर क्षेत्रलाई समावेश गरी आधुनिक पार्क  निर्माणको लागि डि.पि.आर. तयार गरी संघीय सरकार र प्रदेश सरकारसंग समन्वय गरी आ.व. २०७७र७८ मा निर्माण कार्य आरम्भ गरिनेछ।

४०.    पूर्व–पश्चिम लोकमार्गको बुटवल–सालझण्डी खण्डमा ६ लेनको सडक विस्तार गर्न म्भकष्नल बलम द्यगष्मि  प्रत्रिया मार्फत ठेक्का  अगाडी बढाउन नेपाल सरकारसगँ पहल गरिनेछ।

४१.    पर्यटन प्रवर्धनको लागि कोशेढुङ्गाको रुपमा रहेको सैनामैना वडा नं. ३ मा अवस्थित लामीरहको बहुउद्देश्य बाधको पहिलो चौमासिक भित्र म्एच् तयार गरी ठेक्का व्यवस्थापन गर्न संघीय सरकारसंग पहल गरिनेछ।संघीय, प्रदेश र सैनामैना नगरपालिकाको सहकार्यमा नगरपालिकाभित्रका नदिहरुमा तटबन्ध निर्माण गरी जनधनको क्षति हुन नदिन नदि नियन्त्रण सम्बन्धी कामलाई अघि बढाईनेछ।

४२.    सार्वजनिक निजी साझेदारी मार्फत नगर क्षेत्रभित्र स्विमिङ पुल सहितको आधुनिक वाटर फन पार्क, स्विमिङ पुल, पिकनिक स्थल, लघु उद्योग, व्यवसायिक मल लगाएतका पूर्वाधारको  निर्माणको लागि सम्भाव्यता अध्ययन गरिनेछ ।सार्वजनिक निजी साझेदारी मार्फत विकासको मान्यतालाइ प्रोत्साहन गरिनेछ।

४३. नगरपालिका क्षेत्रभित्र रहेका परम्परागत कुलाहरु तथा नदीमा बाँध बाँधी  हुदै आएको सतह सिंचाइको लागि निर्मित कच्ची कुलाहरु लाई पक्की र पक्की कुलाहरुलाई मर्मत गरिनेछ। प्रयोगमा नआएका सिंचाइका डिप ट्यूवेलहरुलाई प्राथमिकताका साथ मर्मत गरी प्रयोगमा ल्याइनेछ ।

४४. मुर्गिया(लुम्विनी सडकको मुर्गिया( सुर्यपुरा खण्डको बाकि ६ किलोमिटर सडक कालोपत्रे सम्पन्न गर्न पहल गरिनेछ। विश्व बैँक बाट म्एच् तयार भइसकेको सैनामैना मेजर सडकको बाँकि रहेको ९ किलोमिटर सडक कालोपत्रे, बाँकि रहेका पुल, कल्भट निर्माण कार्य प्रदेश सरकारको सहयोगमा अगाडि बढाइनेछ। कर्साघाट शवदाह गृह र वडा नं. ९ गुरुङ्गडाँडामा रहेको सामाजिक संस्कार स्थललाई  थप व्यवस्थित गरिनेछ।

भूमि तथा भवन व्यवस्थापन

४५. भूमि सम्बन्धी समस्या समाधान आयोग नीति अनुरुप नगरपालिकाभित्र रहेका भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीको पहिचान र लगत संकलन भैसकेको छ। भूमि सम्बन्धी समस्या समाधान आयोगले पहिचान र प्रमाणिकरण गरेको भूमिहीन सुकुम्बासि र अव्यवस्थित बसोबासीको घर जग्गा नापजाँच, नक्शा स्रेस्ता तयार गरी जग्गाधनी प्रमाणपूर्जा वितरण गरिनेछ। नगरपालिका भित्रका सडकको क्षेत्र अन्तर्गत पर्ने सडक मापदण्ड बमोजिमको भूमिलाई नगरपालिकाको स्वामित्वमा ल्याईनेछ।

४६.    नगरपालिका क्षेत्रभित्र निर्माण गरिने सम्पूर्ण सरकारी तथा सार्वजनिक भवनहरु भवन निर्माण संहिताको आधारमा रही बालमैत्री, अपाङ्गमैत्री, भूकम्प प्रतिरोधात्मक, वातावरण तथा सरसफाईमैत्री र अग्नी सुरक्षित वनाइनेछ। सैनामैना भवन निर्माण संहिता समयानुकुल परिमार्जन गरी लागू गरिनेछ। नक्शा पास प्रकृयालाई प्रभावकारी बनाउन घुम्ति शिविर सञ्चालन गरिनेछ। संघीय सरकार र नगरपालिकाको लागत साझेदारीमा सैनामैना ११ मा निर्माण सुरु गरिएको तराई मधेश समृद्धि कार्यक्रमलाई निरन्तरता दिइनेछ। नगरपालिकाको उपयुक्त स्थानमा संघीय सरकारको सहयोगमा सीप विकास प्रतिष्ठानको निर्माण कार्य आरम्भ गरिनेछ।

४७.    चालु आ.व मा महामारीको कारण सम्पन्न हुन नसकेका नगरपालिका क्षेत्रभित्रका फिल्ड र नक्सामा, क्षेत्रफल तथा साइट नमिली फरक परेका अस्नैयाडाडा, बाँसगढी, सालझण्डी र वडा नं. २ का जग्गाहरुको हकमा नापी कार्यालय तथा नापी  विभागसँग समन्वय गरि फिल्ड अनुसार नक्सा कायम हुने गरी पुन नापी गर्ने कार्य अगाडि बढाउदै व्यवस्थीत गरिनेछ ।

४८ .  वडा सार्वजनिक जग्गा संरक्षण समिति मार्फत नगरक्षेत्र भित्रका सार्वजनिक कुलो, घोला, गौचरण, नदी उकास, पोखरी, खेलकुद क्षेत्र जस्ता सार्वजनिक जग्गाहरुको नापजाच गरी लगत राख्ने कार्य सम्पन्न गरिनेछ।

४९.     नगरपालिकाको वडा नं. ५,६,७,८ र ९  क्षेत्र भित्र नाप नक्सा गर्न छुटेका गाउँ ब्लक जग्गाहरुको नाप नक्सा तयार गरी जग्गाधनी प्रमाणपत्र पूर्जा उपलब्ध गराइनेछ।

५०  . डिजिटलाईज प्रविधिबाट नगर पाश्र्वचित्र तयार गर्ने, घर नम्वरिङ गर्ने तथा घरधुरी सम्बन्धी सम्पुर्ण तथ्याङ्कहरु एकीकृत रुपमा संकलन गरी सफ्टवेयर प्रणालीमा राख्ने कार्य आ.व २०७७र७८ को पहिलो चौमासिकमा सम्पन्न गरिनेछ।

५१.    नगरको व्यवस्थित शहरीकरणका लागि भवन निर्माण मापदण्डलाई थप प्रभावकारी रुपमा लागु गर्न घरधनी, निर्माण व्यवसायी तथा डकर्मीहरु लाई चरणवद्ध  रुपमा उपलब्ध गराइएको तालिमलाई निरन्तरता दिइनेछ। यसरी तालिम लिएका व्यवसायीलाई मात्र नगरपालिकामा भवन निर्माणको अनुमति दिने व्यवस्था गरिनेछ । भवन निर्माण संहिता तथा भवन निर्माण मापदण्डको बारेमा व्यापक जनचेतना जगाउने कार्यक्रम ल्याइनेछ। निर्माण सम्पन्न भइसकेका तर भवन निर्माण संहिता र भवन निर्माण मापदण्ड अनुरुप नभएका भवनहरुलाई मापदण्ड अनुरुप बनाउन निश्चित समय दिई अभियानको रुपमा सञ्चालन गरिनेछ । भवन मापदण्ड लागुहुनु पूर्व सम्पन्न भएका घरको नक्शाङ्कन गरी नक्शा नियमित गरिनेछ।

५२.    हालसम्म पनि बिद्युत लाइन जडान नभएका स्थानहरुको पहिचान गरी ती स्थानहरुमा विद्युत लाइन जडानको व्यवस्था गरिनेछ। कतिपय स्थानहरुमा लाइन जडान भए पनि लो भोल्टेजको कारणले उत्पन्न हुने समस्या समाधान गर्न नेपाल विद्युत प्राधिकरण, विद्युत वितरण केन्द्र बुटवलसँग समन्वय गरी विद्युत आपूर्तिलाई नियमित गरिनेछ। बिद्युत क्षेत्रको समग्र समस्याहरुलाई एकीकृत रुपमा समाधान गर्ने गरी विद्युत प्राधिकरणको सहकार्यमा सैनामैना वडा नं. ९ मा शुरु गरिएको बिद्युत सब–स्टेशनको ८० प्रतिशत पूर्वाधार निर्माणको कार्य आ.व २०७७र७८ भित्र सम्पन्न गरिनेछ । आ.व २०७७र७८ भित्र  सम्पूर्ण नगरबासीको विद्युत सम्मको पहुँच सुनिश्चित गरिनेछ। विपन्नताको कारणले विद्युत मिटर जडान गर्न नसक्ने परिवारलाई निशुल्क विद्युत मिटर जडान गरिनेछ।

५३.  आ.व २०७७र७८ भित्र सबै वडा कार्यालयको प्रशासनिक भवन निर्माण गरिनेछ।

५४.  जटिल प्रकृतिका, आधुनिक उपकरण प्रयोग गरिने र दक्ष जनशक्ति आवश्यकता पर्ने खालका पूर्वाधार निर्माणका कार्यहरु ठेक्कामा लगाई समपन्न गरिनेछ। उपभोक्ता समितिको क्षमता अभिबृद्धि गर्नको लागि गठन भएका उपभोक्ता समितिका पदाधिकारीहरुलाई क्षमता विकासको तालिम सञ्चालन गरिनेछ।

नगरसभाका सदस्य ज्यूहरु,

वन,वातावरण तथा विपद व्यवस्थापन

५५.    वन्यजन्तु, चराचुरुङ्गी तथा वनस्पतिलाई मध्यनजर गरी वन क्षेत्रमा आवश्यक मात्रामा पोखरी निर्माण गर्ने कार्यको थालनी गरिनेछ। नगरपालिकाको वस्तुगत क्षेत्रलाई मध्यनजर गरी सामूदायिक वनको कार्ययोजना संशोधन गर्ने नीति लिइनेछ। जलवायु परिवर्तनले विश्वलाई नै चुनौति दिइरहेको वर्तमान परिप्रेक्षमा जलवायु परिवर्तनलाई तल्लो तहबाट नै सामना गर्ने खालका गतिविधिहरुलाई प्रोत्साहित गरिनेछ। जलवायु अनुकुलित विकास कार्यक्रमहरु सञ्चालन गरी हरित अर्थतन्त्रको प्रबर्दन गर्ने नीति लिइनेछ ।

५६.    नगर क्षेत्रभित्र रहेका सार्वजनिक स्थल र नदि किनारहरुमा स्थान अनुकूल वृक्षारोपण गर्ने नीति लिइनेछ। टोल विकास संस्था, स्थानीय समुदायको सहयोगमा सामुदायिक वन संरक्षण गर्न,वृक्षारोपण गरिएका बोट विरुवाहरु कटान हुन नदिन, जगंली जीव जन्तुको अवैध शिकार, चोरी निकासी तथा ओसारपसार रोक्न गस्ती परिचालन गरिनेछ। वन संरक्षणको लागि नगरक्षेत्रका विभिन्न सामुदायिक वनहरुमा तारवार गरिने कार्यलाई निरन्तरता दिइनेछ । जथाभावी वनक्षेत्र प्रवेश गर्न निषेध गरिनेछ। पूर्व( पश्चिम लोकमार्गको उत्तरतर्फ रहेका सबै फर्निचर उद्योगलाई पूर्व( पश्चिम लोकमार्गको दक्षीणतर्फ स्थानान्तरण गर्नुपर्ने नीति लिइएको छ।

५७.    एक घर दुई फलफूलको अवधारणा अनुरुप प्रत्येक घरमा फलफूलका विरुवा रोप्ने कार्यलाई निरन्तरता दिइनेछ। मापदण्ड पूरा गरी नाली सहित कालो पत्रे सम्पन्न भइसकेका सडकको छेउछाउमा मध्यम खालको बहुवर्षिय स्मृति वृक्ष रोप्ने कार्यलाई सुरुवात गरिनेछ ।
५८.  विभिन्न संघ सँस्था तथा टोल विकास सँस्था, सामुदायिक वनहरुको सहभागितामा भू–क्षय तथा विपदलाई मध्यनजर गरी बृक्षारोपण र तारवार गर्ने गरी व्यवस्था मिलाइनेछ। जीविको पार्जनका लागि वनजंगलको अवधारणालाई सार्थक तुल्याउन नगरपालिका भित्र रहेका सामुदायिक वनमा नकारात्मक प्रभाव नपर्ने गरी कार्ययोजना बनाइ सामुदायिक तथा निजी क्षेत्रको लगानीमा फन पार्क, रिसोर्ट र पिकनिक स्थलको स्थापना गरी सञ्चालन गर्ने नीति लिईएको छ।

५९.    नगरपालिका र सामुदायिक वनको सहकार्यमा सघन वृक्षारोपण कार्यक्रम सञ्चालन गरिनेछ। वेरोजगारको सूचिमा रहेका वेरोजगारहरुलाई नगरपालिकाका विभिन्न क्षेत्रमा रोजगारको व्यवस्था मिलाउने गरी सरकारी तथा गैर सरकारी सँस्था र निजी क्षेत्रसँग आवश्यक समन्वय गरिनेछ ।
६०.    बढ्दो जनसंख्याको कारण नगरका सार्वजनिक स्थल र प्राकृतिक सम्पदाहरुको अतिक्रमण बढ्दै गएकोले यसलाई नियमन र नियन्त्रण गर्न प्रत्येक वडाका वडाध्यक्षको संयोजकत्वमा गठित सार्वजनिक जग्गा संरक्षण उपसमितिलाई क्रियाशिल बनाई सम्बन्धित वडामा रहेको सार्वजनिक जग्गा, ताल, पोखरी, गौचरण लगायतका सार्वजनिक महत्वका क्षेत्रको संरक्षण तथा सम्बर्दन गरिनेछ ।

६१.    “विपद् न्यूनिकरणको लागि पूर्व तयारीमा जुटौं” भन्ने अभियानलाई साकार पार्न विपद् व्यवस्थापन समितिलाई अझै प्रभावकारी बनाइनेछ। नगर विपद् प्रतिकार्य योजना बनाई नेपाली सेना, नेपाल प्रहरी, टोल विकास संस्था स्थानीय क्लब र रेडक्रससँग सहकार्य गरी विपद न्यूनिकरण एवम् व्यवस्थापनको क्रियाकलापलाई प्रभावकारी रुपमा सञ्चालन गरिनेछ ।

६२.    सैनामैना नगरपालिका, शुद्धोधन गाँउपालिका, कञ्चन गाँउपालिका र  गैडहवा गाँउपालिकाको सहकार्यमा  वारुणयन्त्र र विपद् जोखिम न्युनिकरणका सामाग्री सहितको अन्तर स्थानीय तह विपद् व्यवस्थापन केन्द्र स्थापना गरी बारुणयन्त्र सञ्चालनमा ल्याइएको छ। चारवटै स्थानिय तहलाई पायक पर्ने गरी सैनामैना नगरपालिका वडा नं. ७ मा सशस्त्र प्रहरी बलको  स्थापना गर्न पहल गरिनेछ। सम्भावित जोखिमको पहिचान गरि अन्तर स्थानीय तह विपद् व्यवस्थापन केन्द्रको सबलिकरण र विस्तार गरिनेछ। जलवायु अनुकूलन, बैकल्पिक उर्जा तथा विपद् प्रतिकार्ययोजनाले अँगालेका विषयलाई प्राथमिकता दिई कार्यान्वयन गरिनेछ ।

राजश्व प्रशासन

६३.    कोरोना भाईरस महामारीको कारण लकडाउनको अवधिभर सञ्चालन हुन नसकेका व्यवसायहरुलाई राहत स्वरुप लकडाउन अवधिभरको घर बहाल कर र व्यवसाय करमा  छुट तथा सहुलियत दिने नीति अवलम्बन गरिएको छ।

६४.    घर जग्गा बहाल कर असुली कार्यको शुरुवातका लागि सम्पत्ति कर, व्यवसाय कर र वडा कार्यालयबाट प्रवाह हुने सेवाहरुसँग एक आपसमा आवद्ध गरी असुली प्रक्रियालाई अनिवार्य, व्यवस्थित र प्रभावकारी रुपमा परिचालन गर्न राजश्वसँग सम्वन्धित राजश्व शाखाका कर्मचारी, वडाका कर्मचारी, वडा समितिका पदाधिकारी र टोल विकास संस्थाका पदाधिकारीहरुलाई तालिमको व्यवस्था मिलाइनेछ।

६५.    नगरपालिका क्षेत्रभित्र कुनै व्याक्ति वा संस्थाले भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, छप्पर, कारखाना, जग्गा वा पोखरी पुरै वा आंशिक तवरले बहालमा दिएको हकमा उक्त कार्यलाई व्यवस्थित तथा प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि घर जग्गा बहाल कर सुधार कार्य योजना तयार गरी लागु गरिनेछ। नगरको हकमा नगर प्रमुख र वडाको हकमा वडा अध्यक्षको संयोजकत्वमा घर जग्गा बहाल कर संकलन सहजीकरण समिति गठन गरिनेछ ।

६६.     राजश्व संकलन तथा आर्थिक कारोबारमा पारदर्शिता तथा सहजता कायम गर्न नगरपालिका भित्रै वाणिज्य बैँकको शाखा विस्तार गरिनेछ। समयमै कर बुझाउने र सबैभन्दा वढी कर बुझाउने करदातालाई सम्मान गरिनेछ। राजश्व प्रणालीलाई व्यवस्थित गर्न व्यवसायकर र वहालकर सम्बन्धी कार्यविधि लागु गरिनेछ।

६७.    नगरपालिकाले हालको संबैधानिक तथा कानूनी ब्यवस्था अनुसार राजश्व संकलनको लागि दरहरु कायम भइसकेको र थप दायरा निर्धारण गरी त्यसको प्रचार प्रसार गर्न आवश्यक देखिएकोले राजश्व प्रक्षेपण गर्नु भन्दा पहिले नै सरोकारवालाहरुसँग पर्याप्त परामर्श गरेर करको दर भन्दा दायरा फराकिलो वनाइनेछ। करदाताले तिर्नुपर्ने कर रकम सम्वन्धि जानकारी उपलब्ध गराउन कर शिक्षा सम्वन्धी सचेतना कार्यक्रम संचालन गर्ने नीति लिइनेछ।

नगरसभाका सदस्य ज्यूहरु,

सुशासन तथा सेवा प्रवाह 

६८.    स्थानीय सरकारको काम कारवाहीलाई प्रभावकारी वनाउँदै निर्माण गरिएका ऐन कानूनहरुलाई कार्यान्वयनमा ल्याइ विषयगत क्षेत्रका अत्यावश्यक कानून तर्जुमा गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।

६९.    न्यायिक समितिका पदाधिकारी तथा नगर कार्यपालिकाबाट सूचिकृत मेलमिलापकर्ता तथा सहजकर्ताहरुलाई समयानुकूल पूनर्ताजगी तथा क्षमता विकास सम्बन्धी तालिम प्रदान गरिनेछ । पदाधिकारी, वडा सचिव, तथा सहायक कर्मचारीको लागि न्यायिक कार्यविधि ऐन तथा सो सँग सम्बन्धित विषयमा तालिम दिई न्यायिक निरुपणको व्यवस्था मिलाइनेछ ।.न्यायिक समितिको क्षेत्राधिकार भित्र पर्ने मुद्धाहरुको निष्पक्ष छानबिन गरी पिडित पक्षलाई न्यायको प्रत्याभुती हुनेगरी समयमै मुद्धा मामिलाको छिनोफानो गरिनेछ।

७०.    जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी तालिम प्रदान गरी नगरवासीलाई सहज रुपमा सेवा प्रवाह गर्न संस्थागत सुदृढिकरण गरिनेछ । नगरपालिकाको सङ्गठन संरचना पुनरावलोकन गरी जनशक्ति पूर्ति गर्ने कार्यलाई प्राथमिकता दिइनेछ । नगरपालिका केन्द्र र वडा कार्यालयहरुमा विद्युतीय हाजिरी तथा नागरिकलाई सूचना दिन मोवाइल एप्लिकेसनहरुको प्रयोगलाई प्रभावकारी बनाइनेछ। पारदर्शिता तथा जवाफदेहिता कायम गरी नागरिकमैत्री सेवा प्रवाहको व्यवस्था गरिनेछ। नगरपालिकाबाट जनतालाई प्रदान गरिने सेवाहरुमा छिटो छरितो, चुस्त, दुरुस्त र प्रभावकारी बनाउन कम्प्युटरकृत सेवा प्रणालीको बिकास गर्दै लगिनेछ।

७१. कर्मचारीलाई कामप्रति उत्प्रेरित गर्न र मनोवल उच्च राख्न कार्य सम्पादनमा आधारित प्रोत्साहन सुविधा उपलव्ध गराइनेछ। साथै कर्मचारी र शिक्षकलाई प्रदान गरिदै आएको पुरस्कारलाई निरन्तरता दिइनेछ। नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिको सावाधिक जिवन वीमा गरिनेछ। कर्मचारीहरुको योगदानमा आधारित निवृतिभरण कार्यक्रमलाई यसै आ.व देखि कानून बनाई कार्यन्वयन गरिनेछ।

७२.    यस सैनामैना नगरपालिका क्षेत्रभित्र बसोवास गर्ने जेष्ठ नागरिक, एकल महिला, विधवा महिला, पूर्णअपाङ्गता, अतिअशक्त अपाङ्गता  भएका व्यक्ति, लोपोन्मुख आदिवासी जनजाति, लगायतका लक्षित वर्गहरुलाई नेपाल सरकारले निर्धारण गरेको नीति भित्र रही बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिनेछ ।

७३.    ८० वर्ष माथिका जेष्ठ नगरिक र पूर्ण अपाङ्गता भएका लाभग्राहीहरुलाई बैंकमार्फत घरमै भत्ता वितरणको व्यवस्थावलाई थप प्रभावकारी बनाईनेछ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको फोटो सहितको विवरण अनलाइन प्रणालीमा अद्यावधिक गरिनेछ।
७४.    सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली पूर्ण रुपमा कार्यान्वयनमा ल्याइनेछ जसको लागि एम आई एस अपरेटर, फिल्ड सहायक, वडा सचिव तथा अन्य कर्मचारी सेवा प्रदायकलाई आवश्यक तालिम प्रदान गरिनेछ। अनलाइन लागु हुनु अघिका सवै घटना दर्ताहरु विवरणलाई डिजिटाइजेशन गरी अनलाइन प्रणालीमा प्रविष्टी गरिनेछ। सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सुदृढीकरण अयोजना कार्यान्वयन गर्न प्रत्येक वडामा दर्ता शिविर सञ्चालन गरिनेछ।

७५.    उपभोक्ताहरुको हितलाई मध्यनजर राखि गुणस्तरीय उपभोग्यवस्तुहरुको उपयोग र बिक्री वितरण गर्ने कार्यलाई मर्यादित र व्यवस्थित गर्न बजार अनुगमनलाई निरन्तरता दिइनेछ।संघीय सरकारको मालपोत तथा नापी कार्यालय स्थानीय तहलाई हस्तान्तरण गर्ने नीति अनुरुप मालपोत तथा नापी कार्यालय नगरपालिकाको मातहतमा ल्याई गुणस्तरिय सेवा प्रवाह गरिनेछ।

७६.    नगरवासीलाई सुरक्षाको अनुभूति दिलाउन सुरक्षा निकायसँगको सहकार्यमा विभिन्न स्थानमा सि.सि.टि.भि. जडान गर्ने कार्य आ.व २०७७र७८ को पहिलो चौमासिकमा सम्पन्न गरिनेछ । समाजमा हुनसक्ने अपराधिक घटना नियन्त्रण गर्न सुरक्षा निकायसँग सहकार्य गरिनेछ।
७७.    नगरपालिका भित्र रहेका टोल विकास संस्थाको क्षमता अभिवृद्धि गरी नगरपालिकाको विकास र जनचेतनामूलक कार्यमा प्रत्यक्ष सहभागी गराईनेछ। उत्कृष्ट कार्य गर्ने टोल विकास संस्थालाई पुरस्कृत गर्ने नीति लिइनेछ । टोल विकास संस्थालाई दिदै आएको अनुदानलाई निरन्तरता दिईनेछ।

७८.    यस नगरपालिकाको विदेशी मुलुक चीनको गान्सु प्रान्तको क्यानन् स्वायत्त  क्षेत्र सँग भगिनी सम्बन्ध कायम भैसकेको छ। आर्थिक, सामाजिक, सास्कृतिक क्षेत्रको अनुभव साटासाट तथा आवश्यक सहयोग आदान प्रदान हुने गरी भगिनी सम्बन्धको मजबुतीकरण गरिनेछ। थप मुलुकसँग अन्तरराष्ट्रिय स्तरको सम्बन्ध कायम गर्ने नीति अवलम्बन गरिनेछ ।

७९.  सुशासन प्रबर्द्धन तथा भ्रष्टचार नियन्त्रणका लागि ʺʺम भ्रष्टचार गर्दिनँ, म भ्रष्टचार हुन दिन्नँ, म देश र जनताका लागि ईमान्दार भएर काम गर्नेछुʺ भन्ने प्रतिज्ञा सहितको कार्य संस्कृतिको  प्रवर्द्धन गरिनेछ।

आदरणीय सैनामैनाबासी जनसमुदायहरु,

“कृषि, पर्यटन, उद्योग र पूर्वाधार, सु–संस्कृत, समृद्ध नगर सैनामैनाको आधार” भन्ने नारालाई साकार पार्नका लागि माथि उल्लेखित नीति तथा कार्यक्रमहरु आधारको रुपमा रहनेछन्। यी नीतिहरुको सफल कार्यान्वयनको लागि नगरपालिकामा कृयाशील राजनीतिक दल, सरकारी तथा गैर सरकारी संघसंस्थाहरु, पत्रकार जगत, नागरिक समाज लगायत सम्पूर्ण सैनामैनाबासी आमा–बुवा, दाजु–भाइ, दिदी–बहिनीहरुको रचनात्मक सल्लाह, सुझाव र सहयोगको अपेक्षा गरेको छु।

कोरोना भाईरसको महामारीको समयमा प्रकोप रोकथाम तथा नियन्त्रण गर्न र नागरिकको जनजिवन सामान्य बनाउन नगरपालिकासंग हातेमालो गर्दै सहयोग गर्नुहुने सम्पूर्ण सरकारी तथा गैर सरकारी संघ संस्था, निजी क्षेत्र, समुदाय, सहयोगी हातहरु र सम्पूर्ण नगरबासीहरुमा हार्दिक धन्यवाद दिन चाहान्छु।  अन्त्यमा, देश भित्र र बाहिर रहनुभएका सम्पूर्ण सैनामैना नगरबासीहरु कोभिड(१९ को महामारीबाट सुरक्षित रहँदै नगर विकासमा योगदान गर्नुहुन हार्दिक अपेक्षा सहित अनुरोध गर्दछु।

धन्यवाद।

Leave a Reply

Your email address will not be published. Required fields are marked *